कुटपिटको आरोपमा गाउँपालिका अध्यक्षका उम्मेदवार पक्राउ



बैतडी  । 

कुटपिटको आरोपमा बैतडीको डिलाशैनी गाउँपालिकामा माओवादी केन्द्रबाट अध्यक्ष पदका उम्मेदवार लोकेन्द्र राना ‘शीतल’लाई प्रहरीले नियन्त्रणमा लिएको छ । स्वतन्त्र उम्मेदवारका पक्षमा प्रचार गरेको भन्दै राना र उनका कार्यकर्ताले सोमबार कुटपिट गरेको आरोप लागेको छ ।

डिलाशैनी गाउँपालिका–५ बिनाबस्ती घर भई पुर्चौंडी बहुमुखी क्याम्पसमा कार्यरत सहप्राध्यापक रामदत्त जोशीमाथि अध्यक्षका उम्मेदवार राना र उनका कार्यकर्ताले कुटपिट गरेको आरोपमा नियन्त्रणमा लिइएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताउनुभयो । कुटपिटबाट जोशीको घुँडामा चोट लागेको र उनको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ ।

कुटपिटमा संलग्न अध्यक्षका उम्मेदवार राना र घाइते पक्षबीच गोकुलेश्वर प्रहरी चौकीमा छलफल भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । राना गठबन्धन दलबाट डिलाशैनीमा साझा उम्मेदवार रहेका हुन् ।

सीमानाका तीन दिन बन्द

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै नेपाल–भारत सीमानाका तीन दिनका लागि बन्द हुने भएको छ । निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै वैशाख २७ गते राति १२ बजेदेखि वैशाख ३० गते राति १२ बजेसम्म सीमा बन्द हुने भएको हो ।जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीका अनुसार भारतसँग सीमा जोडिएको झुलाघाट नाका २७ गतेदेखि बन्द हुने भएको हो । उक्त अवधिमा सीमानाकामा पूर्णरूपमा आवत–जावत बन्द गरिने उहाँले बताउनुभयो । भारतीय अधिकारीहरुसँग समेत समन्वय गरेर नाका बन्द गरिन लागिएको हो । कुनै देशमा चुनाव हुँदा अन्तर्राष्ट्रिय नियमअनुसार नै सीमा बन्द गरिन्छ । यसै बीच, निर्वाचनलाई नै मध्यनजर गरेर सीमाक्षेत्रको सुरक्षा व्यवस्था कडा गरिएको छ ।

साढे २ हजार सुरक्षाकर्मी परिचालन

स्थानीय तहको निर्वाचनका लागि बैतडीमा साढे २ हजार सुरक्षाकर्मी परिचालन गरिएका छन् । निर्वाचनलाई शान्तपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि सुरक्षाकर्मी परिचालन गरिएका जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिनुभयो ।

निर्वाचन सुरक्षा योजनाअनुसार जिल्लाभर १ हजार ४० म्यादी प्रहरी, ६ सय २५ नेपाल प्रहरी र ३ सय ४० सशस्त्र प्रहरी परिचालन गरिएको छ । यसै गरी, बाहिरी घेरामा सुरक्षा दिन नेपाली सेनासमेत परिचालन गरिएको जनाएको छ । म्यादी प्रहरी र नेपाल प्रहरीलाई मतदान केन्द्रसम्मै परिचालन गरिएको छ । प्रत्येक स्थानीय तहमा प्रहरी र सशस्त्र प्रहरीले पेट्रोलिङ गस्तीसमेत गरिरहेको छ ।निर्वाचन सुरक्षाका लागि पहिलो घेरमा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेना परिचालन गरिएको उहााको कथन छ ।

बैतडीमा १ सय २९ वटा मतदानस्थल र २ सय ५ वटा मतदान केन्द्र रहेका छन् । यीमध्ये सुरक्षाको दृष्टिकोणले ३१ वटा मतदानस्थल अति संवेदनशीलको सूचीमा रहेका छन् । यस्तै, जिल्लाका ३४ मतदानस्थल संवेदनशील र ६५ वटा मतदानस्थल कम संवेदनशील सूचीमा रहेका जिल्ला सुरक्षा समितिले जनाएको छ । सबै ठाउँमा निर्वाचन सुरक्षाका लागि भरपर्दो व्यवस्था गरिएकाले ढुक्क भएर मतदान गर्न स्थानीय प्रशासनले आग्रह गरेको छ ।बैतडीका १० स्थानीय तहमा १० पालिका प्रमुख, १० उपप्रमुख, ८४ वडाध्यक्ष, र ३ सय ३६ वडा सदस्य गरि ४ सय ४० पदका लागि निर्वाचन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्