ठोरीको जंगलमा गणेशमान सिंह समातिए

महेन्द्रमान सिंहद्वारा लिखित ‘फरइभर इन्कम्प्लिट– दी स्टोरी अफ नेपाल’ पुस्तकको अनुदित अंश–८



  • शिवलाल श्रेष्ठ (अनुवादक)

नयाँ विकसित राजनीतिक घटनाक्रमले राजा त्रिभुवन पनि सन्तुष्ट भएका थिए । स्रोत–साधन सम्पन्न एउटा राजनीतिक शक्तिको उदय भएको थियो । भारतीय नेताहरुको नैतिक समर्थन, नेपाली कांग्रेसले भारतीय भूमिमा सञ्चालन गर्ने सैन्य अभ्यासमा नेहरु उपस्थित र भारत सरकारले आँखा चिम्लिनु भारतको झुकाव राणा शासनको विरुद्ध रहेको स्पष्ट संकेत थियो । तथापि अहिले पनि महाराज आफ्नै दरबारमा बन्दी नै थिए । जनताले राजाप्रतिको जनभावनालाई आन्दोलनको क्रममा सशक्त ढंगले नारा दिए, जसले गर्दा राणा प्रधानमन्त्री झन् सशंकित भए ।

राजाको गतिविधि एवं क्रियाकलापमाथि गहन तवरमा छानबिन हुन थाल्यो । त्यस बेला राजा त्रिभुवनलाई सञ्चारको माध्यम हेतु एकजना प्रभावशाली, विश्वसनीय र शंकाभन्दा बाहिरको व्यक्ति चाहिएको थियो ।एरिका लुइस्ट्याग स्वीडिस संस्थानबाट फिजियोथेरापीमा तालिमप्राप्त नर्स थिइन् । उनी लन्डनबाट भारतको हिलस्टेसन, सिमला हुँदै काठमाडौं छिरेकी थिइन् । सिमलादेखि नेपालको सीमा रक्सौलसम्मको रेल यात्रा लामो थियो । उनी नेपालको न्यारोगज रेलबाट अमलेखगञ्ज र त्यहाँबाट भीमफेदीसम्म बसमा आएकी थिइन् । शिवालिक शृङ्खलाको रमणीय पालकीको यात्रापछि उनी काठमाडौं आइपुगेकी थिइन् । उनलाई भारतीय राजदूतले राजा त्रिभुवनकी जेठी रानी कान्ति राज्यलक्ष्मीको हेरचाहका लागि सेवामा खटाएका थिए ।

एकदिन दरबारमा उनले अनायास ‘राज्य सञ्चालनमा राजा त्रिभुवनको कुनै भूमिका छैन र ?’ भनी सोधिन् । त्यो एउटा सरल प्रश्न थियो तर राजाको मनमा असाध्यै बिभ्mयो । राजाले उनलाई भद्र तर संतप्तपूर्ण स्वरमा आफ्नो अप्रभावकारी स्थितिबारे र त्यसलाई सच्याएर जनताको सरोकारमा स्वयम् प्रत्यक्ष लाग्ने इच्छा सविस्तार सुनाए । राजाले उनलाई आफ्नो इच्छा बताउँदै भारतीय राजदूतसँग गोप्य सम्बन्ध स्थापित गर्न आवश्यक रहेको बताए । तत्कालै एरिकाले उक्त काम गर्ने जिम्मा लिइन् । राजाले उनी मार्फत भारतीय राजदूत सुरजित सिंह मजिथियासँग परस्पर सञ्चार कायम राख्न सकेका थिए । एरिकाले राजा र राजदूतबीच गोप्य बैठकको व्यवस्था मिलाइदिएकी थिइन् ।

एक साँझ राजा कान्छा छोरा राजकुमार बसुन्धरासँग भेट्ने बहानामा शहरको छेउमा रहेको उनको निवासतर्पm लागे । निगरानीसमेत गर्ने जिम्मासहित राजाको सेवामा प्रधानमन्त्रीले खटाएको एडीसीचाहिँ एउटा सानो कोठामा पर्खी बसे । राजा त्रिभुवन छोराको कोठाभित्र पसे र लगत्तै छिटो लुगा फेरेर बगैँचामा गए अनि पर्खाल नाघी पूर्वनिर्धारित मिलन केन्द्रतर्फ लागे । गोप्य बैठक सकेर राजा पहिलेजस्तै गरी फर्के अनि लुगा फेरेर एडीसीसँग पुनः दरबारमा फर्के ।पहिलाका केही अधीर भेटघाटपश्चात् राजा त्रिभुवनले अन्य रात्रिकालीन भेटहरुलाई निपूणताका साथ परिष्कृत गर्दै लगे । चतु-याइँ महाराजाहरुको चाहिने लक्षण हो । राजा त्रिभुवनमा त्यो गुणको कमी थिएन ।

नेपालका राजाले आफ्नो व्यक्तिगत सुरक्षा हेतु भारत सरकारको तर्फबाट प्रधानमन्त्री जवाहरलाल नेहरुबाट व्यक्तिगतरुपमा टेवा र भरोसाको प्रत्याभूति चाहेका थिए । परिस्थितिवश आवश्यक परेमा भारत सरकारले राजा र राजपरिवारका सदस्यहरुलाई नेपालस्थित भारतीय दूतावासमा शरण दिनु र सुरक्षित दिल्ली अवतरण गराउनुपर्ने राजाको चाहना थियो । त्यो निकै उच्चकोटीको कुरा भएको हुँदा राजदूतले कुनै वचन दिनु पूर्व तत्सम्बन्धी रिपोर्ट दिल्लीमा पु¥याउन समय चाहिन्थ्यो । यसै बीच उनले काठमाडौं–दिल्ली आवतजावत गर्ने सानो हवाई धावन मार्ग डीसी ३ हवाई जहाज उडान भर्न सकिने अवस्थामा राख्न हरसम्भव प्रयत्न जारी राखका थिए ।

राजा त्रिभुवनलाई भारतसँगको संवाद जरुरी थियो भने भर्खरै गठित नेपाली कांग्रेसलाई पनि राजा र नेपाली जनतासँग सम्पर्क राख्नुपरेको थियो । उनीहरुले आफ्नो राजनीतिक लक्ष्य प्राप्तिका लागि तीन विशेष नीति तर्जुमा गरेका थिए । सर्वप्रथम हतियार नउठाई राणाहरुबाट शक्ति छिन्न सकिन्न । अहिंसात्मक गान्धी तरिकाबाट निर्दयी राणा प्रधानमन्त्री र उनको अन्तर्गुटको मन पगाल्न सकिन्न । त्यसैले नेपाली कांग्रेसका लागि प्रचुर समर्थन आवश्यक थियो । त्यसलाई पुट दिन राजा उनीहरुको पक्षमा देखा पर्नुले महत्व राख्थ्यो ।

राणाको सैन्यशक्तिलाई क्षीण पार्नु पनि उत्तिकै आवश्यक थियो । त्यसको लागि सेनाको बफादारिता राणा प्रधानमन्त्रीको बदलामा राजाप्रति हुनु जरुरी थियो । अन्त्यमा, सम्भव भए राणा प्रधानमन्त्री र उनका कमान्डिङ जनरलहरुलाई एक चिहान पार्नुपथ्र्यो । सफलता मिले त्यही नै सबैभन्दा छिटो र छोटो बाटो हुन सक्थ्यो, ‘सर्जिकल स्ट्राइक’ । सेना सम्पूर्ण तवरमा तान्न नसकिए पनि, विभाजन मात्र गर्न सकियो भने सर्जिकल स्ट्राइक सहज हुन सक्थ्यो । तसर्थ नेपाली कांगे्रस पार्टीले सशस्त्र क्रान्ति गर्ने उद्घोष ग-यो ।

गणेशमानको नेतृत्वमा दशजनाको विशेष कार्यदल पूर्वी शिवालिकको उकालो उक्लँदै सिन्धुलीबाट तल ओर्ली बनेपा हुँदै नेपाल पस्यो । सुन्दरराज चालिसे गणेशमानका बालसखा थिए । त्यस अभियानमा दोस्रो पंक्तिका नेता थिए । उनीहरुको उक्त अभियान स्पष्ट थियो– जनसम्पर्क, सैन्यसम्पर्क र राजासितको सम्पर्क । परिस्थिति अनुकूल परे सर्जिकल स्ट्राइक फत्ते गर्नुसमेत रहेको थियो ।

यो योजना इन्द्रजात्राको अवसरमा परम्परानुसार प्रधानमन्त्री र उनका कमान्डिङ जेनरलहरु हनुमानढोकाको प्रांगणमा भेला भएको बेला कार्यान्वयन गर्ने निधो गरिएको थियो । ठीक समयमा ठीक ठाउँमा केही हातगोला र पिस्तोलले काम तमाम गर्न सकिन्थ्यो । टास्क फोर्समा सस्त्रास्त्रका सिद्धहस्त व्यक्तिहरुमा पूर्वसैनिकहरु दिलमान सिंह थापा, पूर्णबहादुर खवाससहित अन्य दुई जवान थिए । उनीहरुले भारतबाट साथमा ल्याएका हातहतियार र गोलाबारुद बनेपाको राजदास श्रेष्ठ स्वयंले ल्याई काठमाडौंको आफ्नो घरमा राखका थिए । यो औधी जोखिमपूर्ण साहस थियो तर जहाँ इच्छाशक्ति र धृष्टता हृदयदेखि हुन्छ त्यहाँ न्यून जोखिमका उपाय पनि भेटिन्छ नै ।

काठमाडौंस्थित सेनामा सुन्दरराज चालिसेको सम्पर्क व्यक्ति बद्रीविक्रम थापा थिए । नोकरीमा नरहे तापनि आपूmसँगै सैन्य तालिम लिई भर्ती भएका सैनिकहरुसँग थापाले सम्पर्क कायम गर्न सक्थे । लप्टन कृष्णविक्रम शाहसहित जम्माजम्मी ४० कनिष्ठ सैनिक क्रान्तिकारीको पक्षतर्फ आए । जनरल सुवर्ण शमशेरको साला कालीबहादुर गणका कर्नेल प्रतापविक्रम शाहले हातहतियार तथा गोलाबारुदको लागि सुरक्षित ठाउँ उपलब्ध गराए । कर्नेलको अधिनस्थ एक गुल्म सैनिक थियो ।

क्रान्तिकारी टास्क फोर्स आफ्नो कार्य प्रगतिप्रति सन्तुष्ट थियो । केवल राजा त्रिभुवन र भारतीय राजदूतसँग सम्पर्क कायम राख्ने जस्तो छुट्टै प्रकृतिको काम गर्न मात्र बाँकी रहेको थियो । जति निपूणताका साथ कार्य गर्नुपर्ने हुन्छ काम गर्न उति नै बढी कठिन हुन्छ । इन्द्रचोकको मिठाई पसले बी.एल. शर्मालाई शर्माजीको नामबाट बढी चिनिन्छ । उनी दूतावास र राजदरबारमा स्वादिष्ट मिष्ठान्न परिकारहरु पु-याउने गर्थे । उनी दूतावास र राजदरबारमा सम्पर्क स्थापना गर्ने उपयुक्त माध्यम हुन सक्थे । नम्र एवं साहसी शर्माले लिखित सन्देशहरु मिष्ठान्नभित्र लुकाई राजा, राजदूत र काठमाडौंमा भएका क्रान्तिकारीहरुबीच आदानप्रदान गर्ने काम गर्थे । दरबार तथा दूतावासमा बरम्बार उनको आउजाउले कुनै शंका उब्जाएको थिएन । राजाको सचिव दयारामभक्त माथेमा उनीहरुको दोस्रो सम्पर्क व्यक्ति थिए । उनी शहीद धर्मभक्त माथेमाका आफन्तसमेत थिए ।

नेपाली कांग्रेसको गुप्त टास्क फोर्स र उनीहरुको प्रहार गर्ने मकसदको खबरले राजा त्रिभुवन उल्लासित बनेका थिए । त्यसै उत्साहमा उनले त्योभन्दा अझ साहसिलो कदम उठाई प्रधानमन्त्रीको निवासमा हवाई आक्रमण र साथासथै शाही सेनासँगको संयुक्त शक्तिले स्थल आक्रमणसमेत गर्न सुझायो । उनले उक्त कार्यमा आफ्नो पूर्ण समर्थन रहेको र सोको सराहनास्वरुप केही नगदी र आवश्यकता अनुरुप पछि पनि थप आर्थिक सहयोग गर्ने बचनबद्धतासहितको पत्र आफ्नो सचिव माथेमामार्पmत चालिसेलाई पठाएका थिए । मजिथियाको बदलामा आएको भारतीय राजदूत सी.पी.एन. सिंहले पनि नेहरुले जस्तोसुकै सहयोग गर्ने प्रतिबद्धता पत्र साथमा ल्याएका थिए । ‘बगैँचामा एउटा चरो आयो र डाक्टरले पठाएको एउटा पूmल मलाई दियो…., तिमीले बीउ रोप्यौ र बिरुवालाई हुर्कायौ ।

म तिमीलाई हृदयदेखि धन्यवाद दिन्छु’, राजाले सांकेतिक भाषमा एरिकालाई पत्र लेखेका थिए । तसर्थ राजा त्रिभुवन र नेपाली कांग्रेसको लागि त्यहाँ भइरहेको प्रगति उत्साहप्रद र सन्तोषजनक थियो ।प्रधानमन्त्री मोहन शमशेरलाई भने गणेशमान र उनको टास्क फोर्स काठमाडौंमा आइपुगेको खबर प्राप्त भइसकेको थियो । निकट भविष्यमा नै उनीहरुलाई गिरफ्तार गरिने विश्वास भारतीय राजदूतलाई सूचित गरिएको थियो । तत्सम्बन्धमा सी.पी.एन. सिंहले चिन्तित हुँदै बी.एल. शर्मामार्फत क्रान्तिकारीलाई सावधान गरेका थिए तर राणाका गुप्तचरहरु बढी सक्षम साबित बने । बद्रीविक्रम थापा, कर्नेल प्रतापविक्रम शाह, तोरण शमशेर राणा र अन्यलाई द्रूतगामी छापा मारी धडपकड गरे । राणा शासनलाई प्रहार गर्न आएको समूह तहसनहस भयो ।

त्यसको केही दिनपछि चालिसे पनि समातिए । गणेशमान र अन्य तीनजना भने जसोतसो पुलिसको फन्दाबाट बच्दै काठमाडौंबाट बाहिरिए ।राँगा व्यापारीको घर बुन्ना भेष गरी व्यापारीको सहयोगमा गणेशमान र उनका साथीहरु पश्चिमको रमणीय पहाडी नगर बन्दीपुरतर्फ लागे । भारतीय सीमा बन्दीपुरको दक्षिणतर्फ भए तापनि जाँच चौकीहरुबाट बच्नको लागि घुमाउरो बाटो रोजिएको थियो । बन्दीपुर गणेशमानको पुरानो साथी एवं प्रभावशाली व्यापारी हरिकृष्ण श्रेष्ठको गृहनगरी पनि थियो । उनीले कुन बाटो हुँदै जानुपर्छ भनी एउटा नक्सा कोरेर दिए । जाँदा सकेसम्म सीमावर्ती नगर ठोरीलाई टार्ने, नभए कमसे कम त्यहाँ अलमल नगर्न बारम्बार सतर्क गराए ।

नक्सा र केही खद्यान्न साथमा लिएर उनीहरु दृढताका साथ त्यहाँबाट हिँडे तर निराश हुने गरी जंगलमा बाटो बिराए । अन्ततः तीन दिनपछि उनीहरु ठोरीको आसपासमा आइपुगे । जंगलमा बाटो बिराएका उनीहरु केही खानेकुरा नभेटेकाले भोक र प्यासले तिर्मिराउँदै ठोरीछेउको एउटा पसलमा छिरेर अघाउँजी खाए, धित मर्ने गरी पानी पिए । मार्च गर्न सेनाले मात्र पेट भर्नुपर्ने नभई क्रान्तिकारीले पनि नियमित तवरमा खाना खानुपर्ने हुन्छ । भोकले सावधानी भुलायो भने प्यासले डर भगायो ।

हवल्दार विष्णु सिंह ठोरीको चेक पोस्ट र ब्यारेकमा खटिएका थिए । रक्सौलनजिक सीमामा उनलाई चनाखो भई गणेशमानलाई त्यहाँबाट उम्कन नदिन राम्ररी निर्देशन दिइएको थियो । उनले गणेशमानलाई ठम्याइहाले । उनले अविलम्ब ब्यारेकबाट हतियारबन्द सिपाहीहरु बोलाउन पठाए र आश्चर्य मानेजस्तो गरी ‘ओहो ! गणेशमानजी, कहाँ जाँदै हुनुहुन्छ ?’ भनी बोलाए । गणेशमान एकछिन् झस्किएर नसुनेजस्तो गरे । फेरि एकछिन्पछि आफू गणेशमान नभई भरिया हुँ भने । हवल्दार हात परेको आफ्नो सिकार फुत्कन दिने मूर्ख थिएनन् । उनले हाँस्दै भने– ‘परिचय लुकाउनुपर्दैन गणेशमानजी, म तपाईंलाई राम्रोसँग चिन्छु । वास्तवमा म तपाईंलाई नै कुरी बसेको थिएँ । तपाईं यहाँबाट आउनुहुन्छ भन्ने लागेको थियो ।’यसपछि सशस्त्र पहराका साथ गणेशमान र उनका साथीहरुलाई ब्यारेकभित्र लगियो ।

(क्रमशः अर्को मंगलबार)

प्रतिक्रिया दिनुहोस्