उमेशलाई १६औं धर्मश्रीको उपाधि



काठमाडौं । 

झापाका उमेश राईले १६औं धर्मश्री शारारिक सुगठन प्रतियोगिताको उपाधि जितेका छन् ।
एनआरके फिटनेसका राईले झापाकै ग्यालेक्सी फिटनेसका ललित धिमाललाई पछि पार्दै उपाधि जितेका हुन् । राईले नगद १० लाख, ट्रफी, मेडल, प्रमाण पत्र र अन्य उपहार प्राप्त गरे । त्यस्तै, धिमालले उपविजेता भएबापत नगद ५ लाख हात पारे । तृतीय स्थानमा मसल्स एन्ड फिटनेस, नयाँबजारका कृष्णबहादुर सूर्यवंशी रहे । उनले नगद दुई लाख प्राप्त गरे ।

नेपालमा व्यायामको क्षेत्रको जननी सस्था नेपाल व्यायाम मन्दिरको आयोजनामा भएको धर्मश्री प्रतियोगितामा उमेश राई ८० केजी तौल समूहमा प्रथम स्थान हात पार्दै धर्मश्री उपाधिको ओभर अल राउन्डमा प्रवेश गरेका थिए । त्यस्तै, धिमाल ८० केजी माथिको तौल समूहमा प्रथम स्थान हात पार्दै ओभर अल राउन्डमा प्रवेश गरेका थिए । सूर्यवंशीले ७५ केजी तौल समूहमा प्रथम स्थान हात पार्दै धर्मश्रीका लागि प्रतिस्पर्धा गरेका थिए ।

शनिबार ढिलो गरी सम्पन्न प्रतियोगितामा सात तौल समूहमा भएको प्रतिस्पर्धाबाट प्रत्येक तौल समूहमा विजेता भएका खेलाडीहरूले अन्तिम चरणमा धर्मश्रीका लागि प्रतिस्पर्धा गरेका थिए । त्यही क्रममा चौथो स्थानमा बिलिजेन्ड शेप फिटनेस, खुसिबुका सन्जम सागर शाक्य रहे । ७० केजी तौल समूहका उनले नगद १ लाख ५० हजार प्राप्त गरे । पाँचौं स्थानमा प्लानेट फिटनेस इटहरीका पुष्प शंकर रहे ।

६५ केजी तौलका उनले नगद १ लाख प्राप्त गरे । छैटौं स्थानमा आयोजक नेपाल व्यायाम मन्दिरका डेभिड बलामी रहे । ६० केजी तौलका उनले नगद ९० हजार प्राप्त गरे । त्यस्तै, अन्तिम तथा सातौं स्थानमा आयोजक संस्थाकै राजु राई रहे । ५५ केजी तौल समूहका उनले नगद ८० हजार प्राप्त गरे ।विजयी खेलाडीहरूलाई सम्माननीय उप–राष्ट्रपति नन्द किशोर पुनले पुरस्कार वितरण गरेका थिए ।

तौल समूहअन्तर्गत भएको प्रतिस्पर्धामा ५५ केजी तौलमा जिम एक्स नयाँबजारका उमेश डङ्गोल दोस्रो र हेल्थ बेनिफिटनेस, नेपालगञ्जका सिद्धान्त जसरोटिया तेस्रो भए । ६० केजीमा युनिभर्सल फिजिकल फिट, भक्तपुरका किशन दास दिवाकर दोश्रो र रत्नश्री, पोखराका सुरेश लामा तेस्रो भए ।

६५ केजीमा आयोजकका आशिष देवाजु दोस्रो र यारो फिटनेस, मोरङ्गका मोनोज सुवेदी तेश्रो भए । ७० केजीमा द वर्कआउट स्टेसन, नयाँबजारका अशोक महर्जन दोश्रो र रुपन्देही फिटनेस टाइमभका कृष्णप्रसाद श्रेष्ठ तेश्रो भए । ७५ केजी तौलमा बिलिजेन्ड शेप फिटनेस, खुसिबुका प्रवेश श्रेष्ठ दोश्रो र आयोजकका आदित्य ठाकुर तेस्रो भए ।

८० केजीमा प्याराडइज फिटनेस सेन्टर, कलंकीका विवेक सिंह धामी दोश्रो र प्लाटिनियम फिजिक फिटनेस, बानेश्वरका हरि थापा तेश्रो भए । ८० केजी माथिको तौलमा आयोजकका ग्रिस महर्जन दोस्रो र गोर्खाली फिटनेस, न्युरोडका अरुण कुमार प्रधान तेस्रो भए । दोस्रो हुने खेलाडीले नगद ४० हजार र तेस्रो हुने खेलाडीले २५ हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस्