बारेकोटबाट दुई पत्रकार चुनावी मैदानमा



जाजरकोट ।

बारेकोट गाउँपालिकाको अध्यक्षमा दुई पत्रकार चुनावी मैदानमा प्रतिस्पर्धा गरेका छन् । स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट महेन्द्रबहादुर शाह, नेकपा एमालेबाट वीरबहादुर गिरी चुनावी मैदानमा उत्रिएका हुन् । उनीहरू दुवैले लामो समय पत्रकारिता गर्दै आएका छन् ।

नेपाली कांग्रेसका उम्मेदवार शाह स्नातकोतरसम्मको अध्ययन गरेका छन् । प्रेस युनियानसँग आबद्ध हुदै विभिन्न गैरसरकारी संस्थामार्फत समाजसेवा गर्दै राजनीतिमा प्रवेश गरेका उनी २०७४ सालको स्थानीय निर्वाचनमा बारेकोट गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

उहाँको पाँचवर्षे कार्यकालमा जाजरकोटका सातवटै पालिकामध्ये बारेकोट गाउँपालिकालाई कार्यसम्पादन मूल्याङ्नमा पहिलो पालिका बनाउन सफल हुनुभएको थियो । बहुमत वडा अध्यक्ष र सदस्य अन्य पार्टीकाले जिते पनि आफूले पक्षसँगसमान व्यवहार गरेकाले कार्यसम्पादन गर्न सफल भएको शाहको कथन छ ।
यति बेला नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसको गठबन्धनबाट चुनावी मैदानमा रहेकाले सहज जिज हासिल गर्नेमा उहाँ ढुक्क हुनुहुन्छ ।

प्रेस चौतारीको केन्द्रीय उपाध्यक्षको जिम्मेवारी सम्हालेका तथा विभिन्न मिडियामा आबद्ध हुँदै भेरी ज्ञानोदय क्याम्पस जाजरकोटमा जागिर गर्दै आएका गिरी भर्खरै सम्पन्न नेकपा एमालेको अधिवेशनबाट जिल्ला कमिटीको सचिव पदमा निर्वाचित हुनुभएको थियो ।

राजनीतिमा अनुभव खासै नभए पनि नेकपा एमालेले पालिकाको अध्यक्षको टिकट दिएको छ । टिकट पाएपछि बारेकोटका बस्ती–बस्ती पुग्ने घरदैलो भेटघाटलाई तीव्रता दिनुभएको छ ।दुवै उमेदवार उस्तै भएकाले अहिले नै कसले बाजी मार्छ भन्न सकिने अवस्था नरहेको स्थानीयको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्