कवि भूपि शेरचनका कविताका पात्र ‘हामी’



‘हामी कहिल्यै आफूखुशी जुट्न नसक्ने
पछाडिबाट कसैले जुटाई दिनुपर्ने,
हामी कहिल्यै आफूखुशी फुट्न पनि नसक्ने
पछाडिबाट कसैले फुटाई दिनुपर्ने,
रङ्गरोगन उडेका, टु्टेका फुटेका
क्याराम बोर्डका पुराना गोटी हौं
हामी मान्छे कम र
बर्ता गोटी हौं,
हामी वीर छौं
र त हामी बुद्धु छौं
हामी बुद्धु छौं
र त हामी वीर छौं
हामी बुद्धु नभई
कहिल्यै वीर हुन सकेनौं ।’
– भूपी शेरचन

आधुनिक नेपाली कविताका सर्वाधिक लोकप्रिय कवि भूपि शेरचनको जमानाको सबैभन्दा चर्चित तथा कालजयी कविताका रुपमा रहेको ‘हामी’ कविताले दिन खोजेको सन्देशझैँ अहिलेको समयमा हामी वास्तवमा क्यारेम बोर्डकै गोटी बढ्ता र मान्छे कम भैरहेका हौं ।

लगभग साढे ३ वर्षको सत्ता सुन्दरीको अकण्टक भोग गर्दैगर्दा सेवा–सुविधाको राप–तापले राँक्किएका पूर्वप्रधानमन्त्री केपी ओली केही प्रतिशत आफ्नै बुद्धि बिग्रिएर र धेरै प्रतिशतचाहिँ सल्लाहकारहरूको मति भ्रष्ट भएर दुई तिहाइ पुगेस् पुगेस् बहुमतको सत्ताबाट हठात् सडकमा पछारिएकै हुन् ।

यसमा केही भाग दोष उनकै पूर्वसगोत्री माधवकुमार नेपाल र झलनाथहरूलाई, केही प्रतिशत दोष अदालतलाई र केही प्रतिशत दोषको भागिदार नेपाली कांग्रेसलाई लगाउन सकिन्छ, नेपाली राजनीतिको स्वतन्त्र विश्लेषण गर्दा ।कमरेड केपी ओलीमा हदभन्दा बढी अमत्याइँ हठात् नचढेको भए आज यो स्थिति देखिने थिएन । अहिलेको स्थानीय चुनाव नेकपाकै बहुमतीय सरकारले गराइरहेको हुन्थ्यो तर अब त्यो कल्पनाको गर्तमा हराएको कुरालाई कोट्याएर मुखमा पानी निकाल्नुसिबाय अरू केही छैन ।

यही अवस्थालाई उखानमा पुर्खाहरूले ठ्याक्कै मिल्ने गरी ‘मनको लड्डु घिउसित खानु’ भनेर भनेका हुन् । अनुभव निश्रित ज्ञान किन झुटा हुन्थ्यो ?गठबन्धनको महारोगले स्थानीय चुनावको नम्र्सलाई मा-यो । वैशाख महिना भएकाले अहिले बिहेका लगनहरू छन् ।बिहे भोजमा जाँदा, खाँदा र रमाउँदा मानिस एउटै मात्र कुरा भनिरहेको छ– कांग्रेस एक्लै चुनाव लडेको भए अहिले गठबन्धनबाट जित्नेजति सिट सजिलै जित्थ्यो ।

बेकारमा सिद्धान्त, त्याग, निष्ठा र आदर्श च्यूत हुने गरी कांग्रेसका काँधमा बन्दुक राखेर माओवादी सुप्रिमो प्रचण्डले बाजी मारे । उनी एक्लै भएका भए जूवाको खालमा च्याँखे हैसियतमा हुन्थे र त्यही च्याँखेमै उनले चित्त बुझाउनुपथ्र्यो । अहिले कांग्रेसको केन्द्रीय सत्ता जोगाइदिने स्वार्थमा साथ दिँदा उनले ‘नानी छोरी रेनु’ लाई सगौरव भरतपुरमा दोस्रोपटक मेयरमा सानदार जिताउने भव्य सुअवसर पाएका छन् ।प्रचण्ड संवत् २०५२ सालदेखिकै सत्ताका त्यो एक्का हुन्, जो एमाले नामक दुक्की–तिर्कीमा मिसिँदै कहिले ल्याङ्डी बन्छन् त कहिलेचाहिँ कांग्रेस नामक मिस्सी र बास्सामा मिसिएर क्वापी बन्छन् ।

जनादेशले एमालेको टाउको बनिलाग्ने यिनै प्रचण्ड हुन् र परमादेशले कांग्रेसको पुच्छर बनिटोपल्ने समेत यिनै प्रचण्ड हुन् । यिनको राजनीतिक पाइन जोडिनुमा छ । कसैको जरो नकाटी कसैको ओखती हुँदैन भनेझैँ यिनी कहिले एमालेको जरो बन्छन्, कहिले कांग्रेसको ओखती । स्थानीय चुनावका अघिल्तिर यिनी कांग्रेसको मृतसञ्जिवनी बुटी बने । नजाने यो मृतसञ्जिवनी बुटी स्थानीय चुनावका सबै परिणाम आइसकेर संघीय चुनाव हुने बेलामा आफ्नो असली हैसियत थाहा पाउँदासम्म हलाहल विषमा परिणत पनि हुन सक्छ । अहिले केही थाहा छैन, किनकि राजनीति सम्भावनाको खेल हो ।

शैक्षिक योग्यता, क्षमता, उमोर, भिजन, कार्यशैली, आईटी र ऊर्जाले गर्दासमेत मेयर उम्मेदवार बालेन शाहको तुलना काठमाडौँका कुनै पनि उम्मेदवारहरूसँग हुनै सक्दैन तर यहाँ यी सब विशेषताहरू केही नहेरी पार्टी मात्रै हेरिन्छ अनि सिस्टम डेलिभरीमा जनताले केही पाउँदैनन् । यो गाँठी कुरो हो तर स्थानीय तहको निर्वाचनमा मतदाताले पार्टी लगामबाट बाहिर आउने कसरत नगरेको देख्दा अचम्म लाग्छ । भन्नलाई चैँ हाम्रोलाई नभएर राम्रोलाई भोट दिनुपर्छ भन्ने अनि निर्वाचनमा चाहिँ सुरक्षा घेराभित्र मतदान कोठामा लुसुक्क पसेर ‘आठ चिन्ह सात छाप’ ड्याङड्याङ लगाउने स्थिति आयो भने दन्त्यकथामा भनिएझैँ बिरालाको घाँटीमा घन्टी बाँध्ने जोखिम कसले उठाउने भन्ने प्रश्न ज्युँका त्युँ रहिरहन्छ ।

अहिले भएको सबैभन्दा खराबी यही हो कि जसरी पनि आफ्नो पार्टी संख्यात्मक रुपले अगाडि आओस् । पार्टीहरूलाई समालोचना गर्ने र स्वट एनालाइसिस गरेर मूर्त रुपले अग्रगामी बाटो देखाउने मानिस चाहिँदै चाहिँदैनन्, मात्रै पार्टीको झोला बोक्ने हनुमानहरूको जत्था भए पुग्छ । तर यी हुनमानहरू त्रेता युगका हनुमानहरूजस्ता भक्तसमेत छैनन् कि छाती चिरेर सीताराम देखाउन सक्ने । सबै रीति, रिवाज, संस्कार, आदर्श र सिद्धान्त पोली खाएर मैमत्त बनेका ‘पोस्ट मोर्डन हनुम्यान’ (नकि हनुमान !) हरूको जत्थाले अहिले नेपालका ठालु पार्टी र खुुजुरे पार्टीहरू सबैमा आफ्ना हङ्कीडङ्की देखाउन थालिसकेका छन् ।

अनि अर्को महारोग यसपटकको स्थानीय तहको चुनावदेखि हरेक साना–ठूला पार्टीमा क्यान्सर रोगझैँ डरलाग्दो गरी स-यो । त्यो के भने, तिघ्रे, मुङ्ग्रे, चुल्ठे र डनहरूबाट पार्टी कब्जा गर्ने रोग । रमाइलो कुरा के छ भने, पहिले–पहिले व्यापारी र डनहरूले सत्तामा जाने वा प्रतिपक्षमा रहने पार्टीहरूलाई चन्दा दिन्थे, किनकि चन्दा दिएपछि पार्टीहरूको प्यारो बन्न सकिन्थ्यो । तर विगत पाँच वर्षयता ती डन र व्यापारीहरूले के बुझे भने, चन्दा मात्र दिएर नहुने रहेछ अब त पार्टी नै पूरै कब्जा गर्नुपर्ने रहेछ । यो थाहा पाएर उनीहरूले अहिले कांग्रेस, एमाले, माओवादी, राप्रपा, जसपा, लोसपा, जनमोर्चा, जनमत पार्टी र विवेकशील साझा सबैतिर आफ्नो राज गर्ने ‘राजदण्ड’ गाडिसकेका छन् ।

यो कुराको छनक टिकट वितरणमा राम्रोसँगै नाटक मञ्चन भएको देखियो । बिहान एउटा दलबाट टिकट पाउने असिम सम्भावना भएको नेता या कार्यकर्ता सो दलबाट टिकट नपाएपछि बेलुका अर्कै दलमा गएर रातभरि नटिकी फेरि भोलिपलट पुरानै दलमा फर्किएको समेत आँखाले देखियो । दल अदलुबदलु प्रवृत्तिलाई राजनीतिमा घातक कार्यका रुपमा लिइन्छ । ‘आयाराम गयाराम’ प्रवृत्ति हेर्दा नेपालमा चुनाव–चुनावका बेलामा मात्र पार्टी परिवर्तन गर्ने यस्ता रोगहरू यदि २–२ वर्षमा स्थानीय, प्रदेश या संघीय चुनावहरू हुने व्यवस्था भएका भए सबै पार्टीका सबै नेता र कार्यकर्ताहरू सबै पार्टीमा घुमिफिरि पसिसक्ने रहेछन् भन्ने कुरा यसपटक गज्जबले देखियो ।

अहिले रमाइलो कुरा के छ भने, एकातिर सत्तासीन दलहरू पाँच दलीय महा गठबन्धनमा होमिएर चुनावमा गएका छन् भने उतातिर प्रतिपक्षी एमाले पनि सुविधाअनुसार कहीँ कमल थापाको राप्रपा र कहीँ राजेन्द्र लिङ्देनवाला राप्रपालाई लिएर चुनावमा होमिएको छ ।

यसरी हेर्दा सबै पार्टीहरूले जो जससँग मिल्दा आफूलाई बढी सिट हासिल हुन्छ सोही शैली अख्तियार गरेका छन् । यो हिसाबले हेर्दा अहिले नेपालमा राजनीतिक सिद्धान्तमा अविचलित भएका पार्टीहरूमा नेपाल मजदुर किसान पार्टी, नेकपा क्रान्तिकारी (वैद्य) र नेकपा क्रान्तिकारी (विप्लव) मात्रै देखिएका छन् । चुनावलाई स्वीकार गर्ने या नगर्ने सवालमा विप्लवको पार्टी पनि अहिले आएर चुनावका मुखमा फुटेको बताइन्छ ।

महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई विरोधी खेमाका नेता भनेर चिनिने हेमन्तप्रकाश ओली समूहले निस्कासन गरेका समाचारहरू यतिखेर तारन्तार सञ्चारमाध्यममा आइरहेका छन् ।नेपाली कम्युनिस्ट पार्टीहरू भनेका झर्काका थालहरूजस्तै रहेछन्, जो फुटेपछि कहिल्यै नजोडिने गरी फड्याङ्गै भएर फुट्ने अनि नेपाली कांग्रेसचाहिँ सिलाबरको थाल रहेछ, जो जति टुक्रा भएर फुटे पनि फेरि रसायन हालेर जोडेपछि जोडिने ।

अहिले देशैभरि पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका बागी उम्मेदवारहरूले आफ्ना उम्मेदवारी फिर्ता नलिए ‘अन द स्पट’ पार्टीको साधारण सदस्यबाटै निस्कासन गरिनेजस्ता निर्णयहरू आइरहेका छन् तर यही माहोलमा भरतपुरमा भने प्रचण्ड पुत्री रेनु दहालका विरुद्धमा उम्मेदवारी दिएका चितवनका पुराना कांग्रेसी नेता जगन्नाथ पौडेललाई फकाउनका लागि पहिलो चरणमा गृहमन्त्री बालकृष्ण खाँड, दोस्रो चरणमा रामचन्द्र पौडेल र तेस्रो तथा अन्तिम चरणमा नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा स्वयम् नै लागिपरेका छन् तर पनि जगन्नाथ पौडेल आफ्नो ठाउँबाट टसको मस भएका छैनन् । उनको भुइँ कटहरले कत्तिलाई चिल्चिल्याउने हो ? केही थाहा छैन !

यसरी एकातिर स्वार्थप्रेरित राजनीति देखिन्छ भने अर्कातिर त्याग, निष्ठा र आदर्शलाई बचाउने राजनीति सतिसालजस्तो दृढ भएर उभिएको छ । कांग्रेस नेता तथा मेयरका बागी प्रत्यासी जगन्नाथ पौडेलका तुलनामा बार्गेनिङ शैलीमा ल्याङ्ल्याङ राजनीति गर्ने रामचन्द्र पौडेल लिलिपुटका मानवझैँ देखिए ।

उनले गरेको बार्गेनिङको राजनीतिको अन्तर्यभित्र आउँदो संघीय चुनावमा माओवादी केन्द्र र नेकपा संघीय समाजवादीको बुई चढेर निर्माण हुने त्रिशंकु संसद्मा नेपाली कांग्रेसको बहुमतको सरकार निर्माण गर्दै आफू आलङ्कारिक राष्ट्रपति हुने धोको लुकेको छ तर यो सम्भावना अहिले जति सजिलो देखिएको छ त्यो प्राप्तिका बेला बगरमा अभ्रख टल्किएर मृगले पानी देखेको भ्रमझैँ मृगतृष्णामा रुपान्तरित हुन बेर छैन । बौद्धिकहरू अहिले यसो भनेर रामचन्द्र पौडेलको भविष्यलाई चित्रण गरिरहेका छन् ।

यही र यस्तै माहोलमा कवि भूपिले भनेका हुन सक्छन् । हामीलाई मिलाउन र फुटाउन कोही निक्कै परिश्रम गरेर लागिपरेको छ । ऊ मिहिनेत गरेर डिजाइन गरिरहेको छ । हामी फुटेकोमा उतुङ्ग खुशी हुँदै नाच्छौं भने जुटेकोमा अनेकानेक बखेडाहरू निकालेर फेरि फुट्न दह्रो स्ट्राइकरका अगाडि परिहाल्छौं । यतिखेर नेपाली राजनीतिको नियति नै यही हो । कवि भूपि शेरचनको ‘हामी’ कविताका पात्र हौं ‘हामी’ । फगत् क्यारेम बोर्डका गोटी !’

बिहीबार भरतपुरमा आयोजित आमसभामा ‘नानीका बा’ भनेर ख्यातानामा भैसकेका प्रचण्डले सोही दिन बोलेका कुराहरूको चिरफार गर्दै चितवनबाट राजनीतिक विश्लेषक तथा लेखक सरिता तिवारी लेख्छिन्– ‘रेनुलाई जिताइएन र देश दुर्घटनामा गयो भने त्यसको जिम्मा चितवनका विद्रोही उम्मेदवार र गठबन्धन विरोधी मतदाताले लिनुपर्छ ।’ यो भनेको धम्कीको भाषा हो । यसले भाष्यमा भन्न घुमाएर खोजेको छ, ‘यदि रेनुले हार्नुप¥यो भने गठबन्धन टुट्छ र कांग्रेस फेरि पाखामा पछारिएको पाहाझैँ बन्छ ।’ यति पनि नबुझ्ने कांग्रेस माओवादीको कमिजको फेर समातेर हिँडिरहेको छ, लखरलखर !

प्रतिक्रिया दिनुहोस्