दलहरू मतदाता शिक्षा लिएर घर–घरमा



पाल्पा  । 

मतदाताहरुले सही ढंगले मत जाहेर गर्न नसकेको अवस्थामा मत परिणाम फरक हुन सक्ने र मत बदर हुने सम्भावना भएकाले मतदाता शिक्षालाई दलहरुले प्रभावकारी पार्ने गरी अघि बढेका छन् ।

नेपाली कांग्रेसले मतदाता शिक्षालाई प्रभावकारी रूपमा अगाडि बढाएको जनाएको छ । निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रम सञ्चालन नगर्ने भएपछि जनताको घरदैलोमा पुगेर मतदाता शिक्षा प्रदान गरिएको बगनाशकाली गाउँपालिका नेपाली कांग्रेसकी उम्मेदवार सुनीता अधिकारीले बताउनुभयो ।

बगनाशकाली गाउँपालिका–९ का कांग्रेसका उम्मेदवार थानेश्वर तिमिल्सिनाले जनतालाई स्पष्ट पार्न घरदैलोमै नमुना मतपत्र पु-याएर अभ्यास गराएको बताउनुभयो । उहाँ भन्नुहुन्छ– ‘मतदाताहरु उम्मेदवार नै प्रत्यक्ष जनता जहाँ छन् त्यहीं पुगी अप्ठ्यारा समेत बुझेर मतदाता शिक्षा प्रदान गरिएको छ ।’ रम्भा गाउँपालिकामा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका बिष्णु थापाले जनतालाई एकमुष्ठ रूपमा टोल–टोलमा पुगेर मतदाता शिक्षाका कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।

‘यसपटक गठबन्धन एकातर्फ र अर्काेतर्फ एमाले चुनावी मैदानमा उत्रिएकाले मत बदर हुने सम्भावना छ’, नेपाली कांग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठ भननुहुन्छ– ‘त्यसैले मतदातालाई सही ढंगले मतदान गर्ने तरिका सिकाउन जरुरी रहेकाले मतपत्र बोकेर घर–घरमा पुगेका छौं ।’

त्यसै गरी, जनताको घरदैलोमा पुगेर मतदाता शिक्षा प्रदान गरिएको बगनाशकाली गाउँपालिका नेकपा एमालेकी उम्मेदवार सरस्वती चिदीले बताउनुभयो । तानसेन नगरपालिका–९ का नेकपा एमालेका उम्मेदवार राजेशकुमार अर्यालले जनतालाई स्पष्ट पार्न घरदैलोमै नमुना मतपत्र पु-याएर अभ्यास गराएको बताउनुभयो । उम्मेदवार नै प्रत्यक्ष जनता जहाँ छन् त्यहाँ पुगेर उहाँका अप्ठ्यारा समेत बुझी मतदाता शिक्षा प्रदान गरिएको उहाँले बताउनुभयो ।

रम्भा गाउँपालिकामा नेकपा एमालेका तर्फबाट उम्मेदवार बन्नुभएका विष्णुप्रसाद भण्डारीले पनि जनतालाई एकमुष्ठ रूपमा मतदाता शिक्षाका कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । गठबन्धनको तर्फबाट रिब्दीकोट गाउँपालिका अध्यक्षका उम्मेदवार नारायणबहादुर कार्कीले निर्वाचन आयोगले मतदाता शिक्षा सञ्चालन नगरेका कारण पनि दलहरुले सञ्चालन गर्नुपरेको बताउनुभयो ।

एमालेका उम्मेदवारले दशवटै पालिकामा जनतालाई भेटेर आफ्नो एजेन्डाबारे मतदातालाई बुझाइरहेको नेकपा एमाले पाल्पाका उपाध्यक्ष देवीलाल लामिछानेले जानकारी दिनुभयो । त्यस्तै, राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष विशाल दर्लामी पनि मतदाता शिक्षा अत्यन्त जरुरी रहेको बताउँदै यसबारे घर–घरमा शिक्षा जरुरी रहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्