पुलिसको अपराजित यात्रा जारी



काठमाडाैं ।

छैटौं आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिगमा नेपाल पुलिस क्लबको अपराजित यात्रा जारी रहेको छ । बिहिबार महिलातर्फ विभागिय टोली पुलिसले जित निकाल्दै अपराजित यात्रालाई कायमै राखेको हो ।

प्रतिभा माली विना खेलेको पुलिसले न्यू डायमन्डलाई २५–११, २५–१७, २५–१५ ले पराजित गरेको हो । पुलिसले खेलेको तीन खेलमा तीनै खेलमा जित हात पारेको छ । यससँगै पुलिसको लिगमा ९ अंक भएको छ ।यस्तै, बिहीबार महिलातर्फ नै भएको अर्को खेलमा विभागीय टोली नेपाल एपीएफ क्लबले एभरेस्ट भलिबल क्लबलाई २५–१३, २५–१०, १९–२५, २५–१९ ले पराजित ग¥यो । यो जितसँगै एपीएफको तीन खेलबाट ६ अंक भएको छ ।

राष्ट्रिय वाणिज्य बैंकको मुख्य प्रायोजन रहेको लिगमा पुरुषतर्फ गलकोट स्पोर्टस् क्लब र हेल्प नेपालले जित निकाले । गलकोटले ढोरपाटन स्पोर्टस् क्लबलाई ३–२ सेटमा पराजित गरेको हो । तर, सेट गुमाएकोले गलकोटले पूरै अंक भने जोड्न सकेन । गलकोटले ढोरपाटनलाई २३–२५, २५–१५, १८–२५, २५–२२, १५–८ ले पराजित गरेको हो ।

गलकोटको यो जित सँगै २ अंक भएको छ भने ढोरपाटनको १ अंक भएको छ ।पुरूषतर्फको अर्को खेलमा टिपटप हेल्प नेपाल स्पोर्टस् क्लबले पुलिसमाथि ३–० को जित निकाल्यो । हेल्प नेपालले २५–२३, २५–२३ र २५–२० को जित निकाल्दै आफ्नो खातामा थप ३ अंक जोड्यो । यस संगै हेल्प नेपालको ११ अंक भएको छ भने नेपाली सेनाको १२ अंक छ । अघिल्लो दिन ढिला गरी भएको प्रतिस्पर्धामा सेनाले ढोरपाटन स्पोर्टस् क्लबलाई पराजित गर्दै थप ३ अंक जोडेको थियो ।

प्रतिक्रिया दिनुहोस्