धुलिखेलमा जनप्रतिनिधिका पाँच वर्षे सफलता

शून्य कार्बन उत्सर्जन र दिगो विकास लक्ष्यमा दक्षिण एसियामै पहिलो



काभ्रे ।

दिगो विकासका लक्ष्य अन्तर्गत धुलिखेलले चार वटा लक्ष्य शिक्षा, स्वास्थ्य, गरिबी निवारण र सुरक्षित खानेपानी सम्बन्धी स्वैच्छिक स्थानीय समीक्षा गरेको छ । स्वैच्छिक स्थानीय समीक्षाको प्रतिवेदन सार्वजनिक भए सँगै धुलिखेललाई दक्षिण एसियामा पहिलो नगरपालिका घोषणा गरिएको छ ।

उक्त घोषणसँगै धुलिखेल नगरपालिकाका निवर्तमान प्रमुख एवं आसन्न स्थानीय तह निर्वाचनमा पुनः प्रमुख पदका उम्मेदवार, नेपाल नगरपालिका संघका अध्यक्ष र अन्तर्राष्ट्रिय फोरमका अध्यक्ष समेत रहनु भएका अशोक ब्याञ्जुलाई नेपालको प्रतिनिधित्व गर्दै युनाईटेड नेशन हेडक्वार्टर न्युओर्कमा प्रस्तुतीकरणका लागि निम्ता दिइएको छ । आगामी जुलाई ६ अथार्त असार २२ गते बुधवारका दिन प्रमुख ब्याञ्जु न्यूओर्क जाने कार्यक्रम तय भएको छ ।

‘यो नेपाल र नेपालीका साथै धुलिखेलवासीहरूका लागि गर्वको विषय हो’–निवर्तमान प्रमुख अशोक ब्याञ्जुले भन्नुभयो–‘हामी सधै धुलिखेलबासीको हितका लागि काम गर्छाै । धुलिखेलका लागि गरिएको कामले नेपालकै शिर उचो हुने गरेको छ ।’ यस अघि धुलिखेल कार्बन उत्सर्जनमा दक्षिण एशियाका १५ सहरमा पर्न सफल भएको थियो । दिगो विकासका लक्ष्यहरू मध्ये चार वटा लक्ष्य पुरा गर्ने धुलिखेल पहिलो भएको छ । पाँच वर्ष धुलिखेलले गरेको महत्त्वपूर्ण विकासका सूचकहरूका कारण यो लक्ष्य पुरा भएको हो ।

 

नगरपालिकाले युनिसेफको सहयोगमा गरिबी निवारण, स्वस्थ सहर, गुणस्तरीय शिक्षा र गुणस्तरीय खानेपानीको लागि भएका प्रयासको स्वैच्छिक स्थानीय समीक्षा गरेको हो । धुलिखेलमा पाँच वर्ष अघि जनप्रतिनिधि निर्वाचित हुँदा १४ प्रतिशत गरिबिको प्रतिशत थियो । अहिले गरिबी चार प्रतिशतमा झरेको छ । केही वर्ष भित्र औसत गरिबिको सङ्ख्या शून्य पु-याउने लक्ष्य नगरपालिकाले लिएको छ ।

नगर प्रमुख अशोक ब्याञ्जुले धुलिखेललाई हरेक क्षेत्रबाट सम्पन्न बनाउने गरी दिगो विकास लक्ष्यका मापदण्डहरू पुरा गर्दै गएको बताउनु भयो । नेपालकै पहिलो धुलिखेल ११ पातलेखेतको धिताल टोल र वडा नम्बर १ को देविटार स्थित छाँगेमा शुद्ध खानेपानी उपलब्ध गराएको थियो । नगरपालिकाले ८४ प्रतिशत घरमा एक घर एक धारा खानेपानी उपलब्ध गराइसकेको छ । केही महिनामा ९९ प्रतिशत घरमा खानेपानी पुग्ने नगर प्रमुख अशोक ब्याञ्जुले बताउनु भयो ।

गुणस्तरीय शिक्षाका लागि नगरपालिकाले स्नातक तहसम्म अध्ययन गर्ने नगरवासीहरूका लागि निःशुल्क शिक्षाको व्यवस्था गरेको छ । अन्य पालिका तथा जिल्लाबाट आउने विद्यार्थीहरूका लागि ५० प्रतिशत निःशुल्क गरेको छ । शिक्षामा गुणस्तरीयता कायम गर्न सामुदायिक विद्यालयहरूमा एमजीएमल विधी, अंग्रेजी माध्यम तथा शिक्षकहरूलाई तालिम, भौतिक पूर्वाधारहरूको निर्माण लगायतका कार्य गरेको छ । नेपालमै पहिलो पटक धुलिखेलले स्वस्थ सहर कार्यक्रम सुरु गरेको छ । स्वैच्छिक स्थानीय समीक्षाको प्रतिवेदन सार्वजनिक कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेल, उपप्रमुख विमला शर्मा, प्रमुख प्रशासनिक अधिकृत तारानाथ शर्मा वडा अध्यक्षहरू, विभिन्न शाखाका कर्मचारीहरू लगायतको सहभागिता रहेको थियो ।

के के ग-यो नगरपालिकाले ? 

धुलिखेल नगरपालिकाले हेल्दी सिटी अवधारणमा रहेर नगरको स्वास्थ्य प्रोफाइल तयार गरेको छ । गुणस्तरीय र विश्वसनीय स्वास्थ्य सेवालाई जनताको पहुँचमा लैजान नगरपालिकाले नीति तथा कार्यक्रममा स्वास्थ्य चौकीहरूमा स्तरोन्नति गर्ने, आधुनिक औजार उपकरण उपलब्ध गराउने कार्य मार्फत सेवा अभिवृद्धि गर्ने तथा गुणस्तर बढाउने कार्य गरेको छ ।

नगरपालिकाको केन्द्रबाट टाढा रहेका वडा नं १ देवीटार स्वास्थ्य चौकी र वडा नं १२ शंखु पाटीचौर स्वास्थ्य चौकीमा २४ सै सेवा प्रदान गरिने गरी सुरक्षित मातृत्व सेवा प्रदान गर्न बर्थिङ सेन्टरका रूपमा सेवा उपलब्ध गराइएको छ । वडा नं १० मा जेष्ठ नागरिकहरूका लागि मासिक क्लिनिक सेवा सुचारु गरिनुका साथै सुत्केरी पोषण कार्यक्रम सञ्चालनमा रहेको छ भने स्वास्थ्यका आर्पुती तथा भण्डारण सम्बन्धी लजेस्टिक म्यानेजमेन्ट इलेक्ट्रोनिक माध्यममा व्यवस्थापन छ ।

नगर पालिकाले महिला स्वास्थ्य स्वयं सेविकाको छुट्टै व्यक्तिगत खाता सञ्चालन गर्न लगाई मासिक रूपमा रु १००० भत्ता दिने गरेको  छ । आयुर्वेदका सेवालाई वडा नं २ र ११ मा समेत बिस्तार गरिएको छ । नगर स्वास्थ्य केन्द्र लगायत सम्पूर्ण स्वास्थ्य संस्थाहरूबाट ब्लड सुगर तथा गर्भ परीक्षण लगायतका प्रयोगशालाका आधारभूत सेवाहरू बिस्तार गरिएका छन् । धुलिखेल प्राथमिक स्वास्थ्य केन्द्रमा नगर भरिका स्वास्थ्य सूचनाहरूका उपलब्ध हुने गरी  हेल्थ लर्निङ सेन्टरको रूपमा विकसित गर्न स्वास्थ्य सूचना केन्द्र स्थापना गरिएको  छ । नगरवासीलाई निःशुल्क एम्बुलेन्स सेवा तथा प्रदान गरिएको छ भने काभ्रे स्वास्थ्य चौकीमा प्रयोगशाला सेवा विस्तार गरिएको छ ।

 वडा नम्बर १ र २मा स्वास्थ्य चौकी भवन निर्माण सुरु भैसकेको छ । त्यसै गरी वडा नम्बर ९ काभ्रे भञ्ज्यागमा १८ करोडको लागतमा १५ शैयाको अस्पताल निर्माण सुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस्