स्वास्थ्य निरपेक्ष एजेण्डा



नेपालको संविधान, २०७२ मा व्यवस्था गरिए अनुसार हरेक नागरिकमा स्वस्थ भएर बाँच्न पाउने अधिकार छ । यस अधिकारको रक्षाका लागि स्थानीय निर्वाचनमा होमिएका नेताहरुले आवाज उठाउन सकेका छैनन् ।

नेपाली नागरिक विभिन्न रोगका शिकार भइरहेका छन्, कुन रोग कसरी आक्रामक बनेर आइरहेको छ निर्वाचनमा होमिएका उम्मेदवारलाई थाहा छैन । सायद यसै कारणले उनीहरुले रोगका सम्बन्धमा एजेण्डा बनाउन सकिरहेका छैनन् ।पछिल्लो समय लुपस नामक रोगका सम्बन्धमा बहस चलेको छ । विशेषगरी महिलामा गम्भीर तथा निको नहुने रोगका रुपमा सिस्टेमिक लुपस इरिदमेटोसस (लुपस) भएको देखिएको छ ।

परस्परमा नसर्ने दीर्घरोगका रुपमा परिचित यस रोगले शरीरका जोर्नी लगायतका भागमा सुजन गराउँछ । यसले छाला, जोर्नी, मृगौला, मुटु, फोक्सो र स्नायुमा असर गर्छ । यो रोग सामान्यदेखि प्राणघातकसम्म हुने विज्ञहरुले उल्लेख गरेका छन् । नेपालमा कुल जनसंख्याको शून्य दशमलभ १ प्रतिशत अर्थात् ३० हजारको हाराहारीमा लुपसका बिरामी छन् भनिन्छ । रोगको पहिचान गर्नै समय लाग्ने, नेपालमा सहज परीक्षण नहुने, परीक्षणका लागि छिमेकी मुलुक भारत नै पुग्नुपर्ने बाध्यताका साथै औषधि पनि नपाउँनाले नेपाली महिलाहरु निकै समस्यामा रहेका छन् ।

नेपालमा स्थानीय चुनावको लहर चलिरहेको बेला लुपसका बिरामीहरु एक ठाउँमा भेला भै विश्व लुपस दिवस मे १० मनाउँदै छन् । लुपसको लक्षणहरु व्यक्ति नै पिच्छे फरक—फरक खालको हुनेहुनाले पहिचान गर्न नै जटिल छ । यसको लक्षण अन्य रोगसँग पनि मिल्दोजुल्दो देखिन्छ । धेरै बिरामी रोग पहिचानका लागि वर्षौसम्म विभिन्न अस्पताल र चिकित्सककोमा धाउँदैमा आर्थिक अवस्था कमजोर हुँदै शारीरिक र मानसिक रुपमा पनि कमजोर बनिसकेका हुन्छन् ।

१५ देखि ४५ वर्ष उमेर समूहका युवा महिलामा बढी देखिने गरेको छ यो रोग विश्वव्यापी रुपमा फैलिएको छ । लुपसले बिरामीलाई चाँडै थकित बनाउँछ र यो एउटा महासागर जस्तै ठूलो समस्या भएको विशेषज्ञहरुले औल्याएका छन् । लुपसको उपचार अत्यन्तै महँगो र जीवनभरि औषधि सेवन गर्नुपर्ने भएकाले आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरुका लागि यो उपचार प्रायः असम्भव छ ।

लुपसका बिरामीलाई भिटामिन डीको कमी र घामको एलर्जी हुन्छ । घामबाट भिटामिन डी लिन मिल्दैन । बिरामीले औषधिकै सहारा लिनुको विकल्प छैन । शारीरिक, मानसिक रुपमा लुपसका बिरामीलाई बढी नै आराम गर्नुपर्ने हुन्छ । चिकित्सकको सल्लाह अनुसार शारीरिक व्यायाम गर्ने, खानपानमा ध्यान दिने, जंकफुड नखाने, परम्परागत कोदो, फापर, मकैको खाना, हरियो सागपात, फलफूल खानाले लुपसका बिरामीलाई आराम मिल्छ ।

नेपालमा लुपसका बिरामी पहिचान हुनै बाँकी छन् र कतिले त लुपसलाई बाथ अर्थात् अन्य समस्या भन्दै दुःख पाएको अवस्था छ । लुपसबारे यतिसम्म जानकारी भएपछि सरकारले यसको पहिचान, सामाजिक अभिमुखीकरण र उपचारका लागि व्यवस्था मिलाउनेबारे तयारी थाल्नुपर्छ । कम्तिमा परिचय पर्चा बनाएर हरेक स्वास्थ्य चौकीमार्फत देशव्यापी रुपमा प्रचार गर्न त सकिन्छ । यसो भएमा आगामी निर्वाचनहरुमा उम्मेदवारहरुले लुपसलाई चुनावी एजेण्डामा स्थान दिने वातावरण तयार हुनसक्छ ।

प्रतिक्रिया दिनुहोस्