हेटौंडा उपमहानगरको मेयर जित्ने पौडेलको दाबी



हेटौंडा । 

मकवानपुरको ठूलो राजनीतिक शक्तिका रूपमा रहेको नेकपा एमालेबाट हेटौंडाको मेयर उम्मेदवार अनन्त पौडेल हुनुहुन्छ । २०७० सालको संविधानसभा निर्वाचनमा मकवानपुरको निर्वाचन क्षेत्र नम्बर–३ बाट निर्वाचित सदस्य पौडेल एमालेभित्र वौद्धिक नेताका रूपमा चिनिनुहुन्छ ।
जिल्लाकै ठूलो शक्तिका रूपमा रहेको एमालेकै कारण पनि आफ्नो पल्लाभारि हुने उहाँको दाबी छ ।

हेटौंडाको मेयरमा आफ्नो उम्मेदवारी यहाँको पूर्वाधार, स्वास्थ्य, शिक्षा, खानेपानी, मानव विकास, सामाजिक विकास रउपमहानगरपालिकाको आर्थिक विकासका निम्ति भएको पौडेलको भनाइ छ । २०४९ सालदेखि नेकपा एमालेले हेटौंडामा विजय हासिल गर्दै आएको बताउँदै अघिल्ला समयमा जनतासामु हात हालिएका योजना पूरा गर्नका लागि आफ्नो उम्मेदवारी भएको उहाँ बताउनुहुन्छ ।पौडेलले हेटौंडा विकासको रफ्तार बढाउन एमाले नेतृत्व आवश्यक भएको बताउनुभएको छ । एमालेलाई नेतृत्वबाट हटाइएपछि ठप्प भएकाले विकासमा गति दिन आफ्नो उम्मेदवारी रहेको उहाँको दाबी छ ।

विगतमा एमालेले गरेको विकासमा इँटा थप्ने योजना बोकेर स्थानीयस्तरमा एमाले समस्या बुझ्न र समाधानका लागि सल्लाह लिन टोल–टोल आएको भन्दै उहाँले आसन्न स्थानीय तह निर्वाचनमा एमाले आफैं दौडेर पहिलो हुने पार्टीका रूपमा अघि बढेको दाबी गर्नुभयो । एमालेले जिताएर पठाएका व्यक्ति हाल एमालेकै विपक्ष रहेको अवस्थाको प्रसंगमा उहाँले प्रश्न गर्नुभयोे– ‘जसको नुन खायो, उसैको विरुद्ध लाग्ने, साँघुरा मन भएकाहरुले फराकिलो हेटौंडाको विकास कसरी गर्छन् ?’‘घरदैलोको क्रममा जहाँ पुग्दा पनि हामीले धेरै माया पाएका छौं, हामी चुनाबी दौडमा मात्र घरदैलोमा हैन, सधैं तपाईंहरुका साथ हुनेछौं,’ उहाँले सभाहरुमा भन्ने गर्नुभएको छ– ‘जनताको आँगन र चुलोसँग जोडिएका योजना बोकेर आएका छाैं । कार्यक्रममा एमाले सरकारले हेटौंडालाई प्रदेशको राजधानी बनाएको हो ।

शहरीया गरिबीको तथ्यांक संकलन गरेर उनीहरुको जीवनस्तर उकास्ने योजना रहेको तथा वडाका अधुरा विकास पूरा गर्न एमाले सरकारले पहिलो प्राथमिकता दिने उहाँको कथन छ ।चार दशकभन्दा बढी कम्युनिस्ट राजनीतिमा सक्रिय रहनुभएका अनन्तको जीवन संघर्षमय छ । २०३५ सालदेखि तत्कालीन नेकपा मालेबाट राजनीतिक जीवनलाई अघि बढाउनुभएका उहाँले २०७९ सम्म आइपुग्दा थुप्रै चुनौती सामना गर्नुभएको छ । विद्यार्थी आन्दोलनको क्रममा पटक–पटक गिरफ्तार हुनुभएका पौडेलले कष्टपूर्ण जेलजीवनसमेत भोग्नुभएको छ ।
उतिबेलाको सत्ताले आफ्नोविरुद्ध भएकाहरुलाई झूटा मुद्दा लगाउँथ्यो ।

पञ्चायती व्यवस्थामा तत्कालीन शासकहरुबाट जनतामाथि शोषण र दमन व्यापक थियो । त्यस्तो निरंकुश शासन व्यवस्थाका कारण समाजका सबै क्षेत्र आक्रान्त थियो । कम्युनिस्ट पार्टीनिकट विद्यार्थी संगठनले २०३७ सालताका तत्कालीन निरंकुश शासन व्यवस्थाविरुद्ध आन्दोलन गरिरहेको थियो । सोही आन्दोलनका क्रममा अनन्तलाई गिरफ्तार गरियो । र, उहाँ करिब डेढ वर्ष कष्टपूर्ण जेलजीवन बिताउन बाध्य हुनुभएको थियो ।२०६२-०६३ को जनआन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका अनन्त २०६४ सालको संविधानसभाको निर्वाचनमा पराजित हुनुभयो । २०७० मा मकवानपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट विजयी हुनुभएका उहाँले संविधान निर्माण प्रक्रियामा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ ।२०१९ सालमा मकवानपुरको भीमफेदी गाउँपालिकामा डिल्लीनाथ पौडेल र आमा हरिप्रिया (देवी) पौडेलको कान्छा सन्तानका रूपमा जन्मिनुभएका अनन्तको बाल्यकाल सामान्य रह्यो ।

उहाँ २०३५ सालमा तत्कालीन नेकपा मालेमा आबद्ध हुनुभएको थियो । २०३६ को विद्यार्थी आन्दोलनमा उहाँले देखाएको सक्रियताकै कारण २०३८ मा पार्टीले उहाँलाई अखिलको जिल्ला कोषाध्यक्षको जिम्मेवारी दियो । २०३९ मा अखिल सचिव हुँदै २०४० मा उहाँले जिल्ला अध्यक्षको जिम्मेवारी पाउनुभएको थियो ।२०४१ मा विद्यार्थी आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरेकै कारण जेलजीवन बिताउनुभएका पौडेल २०४३ मा मालेको तत्कालीन हेटौंडा नगर कमिटी सचिव हुनुभयो । २०४४ मा जिल्ला कमिटीमा रहेर काम गर्नुभएका उहाँले २०४७ मा नेकपा एमालेको जिल्ला कमिटीमा रहेर कार्यकुशलता प्रदर्शन गर्नुभयो । २०४७ देखि २०५१ सम्म एमालेको जिल्ला संयोजक भई काम गरेका पौडेलले २०५१ मा सुकुम्बासी आयोग मकवानपुरको अध्यक्षको जिम्मेवारी पाउनुभएको थियो ।

२०५० सालमा आएको बाढीबाट प्रभावित भएकाहरुलाई व्यवस्थित बसोबासको व्यवस्था मिलाएकै कारण उहाँले मकवानपुरमा लोकप्रियता बटुल्दै जानुभयो । दामन, पालुङ, आमभञ्ज्याङ, फापरबारी, राईगाउँलगायत क्षेत्रहरुमा बाढीका कारण धेरै घरबारविहीन भएका थिए । उहाँकै पहलमा मन्त्रिपरिषद्बाट निर्णय गराई हेटौंडा–१३, पदमपोखरीमा ४ सय परिवारलाई उनीहरुकै नाममा लालपुर्जा बर्नार जग्गा वितरण गरिएको थियो ।२०५४ बाट नेकपा एमालेका तत्कालीन नारायणी अञ्चल कमिटी सचिवको जिम्मेवारी सम्हाल्नुभएका उहाँले २०६९ सम्म २ पटक अञ्चल कमिटी सचिवका रुपमा काम गर्नुभयो ।

उहाँ जिल्ला विकास समितिको सदस्यसमेत हुनुभएको थियो ।अनन्त हाल नेकपा एमालेको केन्द्रीय निर्वाचन विभागका सदस्य हुनुहुन्छ । उहाँ शहीद स्मारक विकास समिति सदस्य, मकवानपुर बहुमुखी क्याम्पस अध्यक्ष, भुटनदेवी माध्यमिक विद्यालय र प्रगति माध्यमिक विद्यालयका सल्लाहकार, मध्यनेपाल पर्यटन विकास समिति संयोजकलगायत दर्जनौं संघ–संस्थाहरुमा आवद्ध हुनुहुन्छ । उहाँ वाणिज्य संकायमा स्नातक हुनुहुन्छ ।२०७४ को स्थानीय तह निर्वाचनमा हेटौंडाको मेयर÷उपमेयरसहित १९ वटा वडामध्ये १२ वटामा एमालेले जितेको थियो । अन्य ७ वटामध्ये ५ वटामा कांग्रेस र २ वटामा माओवादी केन्द्रले जितेका थिए । माओवादी केन्द्रले जितेका २ वटा वडामध्ये एउटा वडाको वडाध्यक्ष एमालेमा प्रवेश गर्नुभएको छ भने एमालेका एक वडाध्यक्ष नेकपा (एकीकृत समाजवादी) मा आबद्ध हुनुभएको छ । २०७० सालको स्थानीय तह निर्वाचनमा हेटौंडाको मेयर र उपमेयरमा एमालेविरुद्ध कांग्रेस र माओवादी केन्द्रबीच तालमेल भएको थियो । उक्त निर्वाचनमा कांग्रेसले मेयर र माओवादी केन्द्रले उपमेयर लिएर चुनावी तालमेल गरेका थिए ।

निर्वाचनमा गठवन्धनका उम्मेदवारलाई पराजित गर्दै एमालेले जित हात पारेको थियो । हेटौंडाको मेयरमा एमालेका हरिबहादुर महतले जित्नुभएको थियो । महतले २३ हजार १ सय २४ मत ल्याउँदा उहाँका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका आनन्दराम पराजुलीले २२ हजार ५ सय ९ मत ल्याउनुभएको थियो ।

हेटौंडाको उपमेयरमा एमालेकी मीनाकुमार लामाले माओवादी केन्द्रका बलराम बललाई हराउनुभएको थियो । लामाले २३ हजार ४ सय ३७ मत ल्याउँदा बलले १७ हजार ११ मत ल्याउनुभएको थियो ।यससँगै हेटौंडामा एमाले विभाजनपछि बनेको एकीकृत समाजवादीमा एमाले पृष्ठभूमिका नेता तथा कार्यकर्ताको उपस्थिति राम्रो छ । आसन्न निर्वाचनमा हेटौंडा उपमहानगरमा एमालेका पौडेल, गठबन्धनबाट मेयर उम्मेदवार लामा र राप्रपाका उम्मेदवार दीपक सिंहबीच प्रतिस्पर्धा हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्