युवाका लागि ‘आइडिया बैंक’ कि टुरिस्ट नारा ?



देश बनाउन भिजन चाहिन्छ । भिजन राजनीतिज्ञहरूसँग हुनुपर्छ । नेताले भिजन निर्माणका लागि प्रचुर अध्ययन गर्नुपर्छ । विनाअध्ययन, मनन, चिन्तन र भ्रमण भिजन निर्माण हुँदैन ।

विश्वका चर्चित देश बन्नुमा ती देशका महान् व्यक्तित्वको हात छ तर अहिले नेपालमा जनताको खाँचो र बास्तविकताभन्दा भए÷गरेको राजनीति निकै टाढिएको छ । किन टाढिएको छ भनेर सूक्ष्म अध्ययन गर्ने हो भने हामी के थाहा पाउँछौँ भने, नेताले आफ्ना लागि, आसेपासे, नरनाताका लागि र बढी से बढी आफ्ना पार्टी तथा सीमित घेरामा बाँच्ने कार्यकर्ताका लागि मात्र राजनीति गर्ने शैली अख्तियारी गरे । त्यसैले नेपालमा अहिले ठूला र पुराना भनिएका कांग्रेस, एमाले, माओवादी, जसपा र राप्रपाहरूबाट आम मतदाता उतर्सिएर परपर भाग्दै गरेको अवस्था देखिएको छ भने नयाँ वैकल्पिक भनिएका पार्टीहरू नजन्मिदै विवादमा आएका छन् ।

यसो किन हुन्छ त भन्दा राजनीति गर्नेहरूले ‘जमिनी’ राजनीति गर्नै जानेनन् । यी जति पनि दृश्यमा रहेर अहिले राजनीति गरिरहेका छन् तिनीहरूसँग एउटै बुद्धि के छ भने, विरोधीलाई सत्तोसराप गरेर या आफ्नो महिमामण्डन गाएर माथि पुगिन्छ र जनताले सधैँभरि चुनावमा जिताएरै भगवान् बनाइरहन्छन् भन्ने सङ्कुचित सोच हाबी छ ।

संसारमा सबैथोक किन्न÷फेर्न सकिन्छ तर घर–छिमेकी, देश–छिमेकी तथा क्रियाशील विभिन्न हाँचका नेताहरू फेर्न सकिन्न । किन सकिन्न भन्दा देश, काल र परिस्थिति अनुसारका नेताहरू देशले आफैँ उत्पादन गरिरहेको हुन्छ । जनताले समय र परिस्थितिभन्दा अघि नै आफ्ना चाहना अनुसारका नेता जन्मियून् भनेर हुँदैन । नेता अप्ठ्यारा परिस्थितिमा जन्मन्छन्, कि त देशमा क्रान्ति र युद्ध हुँदा, या त देशमा राजनीतिक तरलता अधिक हुँदा । दुवै परिस्थितिमा जन्मिने नेताले अघिल्लो पुस्ताले दिएका विचार, कार्यक्रम, सिस्टम डेलिभरी र दर्शनभन्दा पछिल्लो पुस्ताले दिएका ती कुराहरू विधि, प्रविधि र सामयिक रूपमा नयाँ र पाइनदार हुन्छन् ।

‘जति डोरी बाटे पनि गाँठो एउटै’ भनेझैँ अहिले नेपालमा चाहिएको र हुनै पर्ने कुरा भनेको भरी सामान लिएर गाउँ गएको एउटा ट्रकलाई गाउँबाट शहर फर्किंदा उत्पादनका जुनसुकै सामानहरू भरेर पठाउने व्यावहारिक बुद्धि भएको योजनाविद्, प्राविधिक, प्रशासक र नेता चाहिएको छ । अहिले नेपाललाई सिङ्गापुर, स्वीट्जरल्यान्ड, टोकियो अथवा बेइजिङ बनाउँछु भन्नु सबै आफ्ना ठाउँमा उडन्ते, बकम्फुसे र पूरा नहुने कुराहरू मात्रै हुन् । नेपाललाई त अहिले चाहिएको ‘जमिनी’ यथार्थ भनेको ऊर्जाशील युवाहरू विदेश जाँदा उनीहरूका अनुपस्थितिमा उनीहरूकै हकभोग लाग्ने बाँझिएका खेतबारी, पाखा र भीरहरूलाई के, कसरी र कहिले उत्पादनमुखी माटोमा परिणत गर्न सकिन्छ, हो त्यही गर्ने हो ।

एकजना ४० वर्ष हाराहारीका उत्साही युवा छन् । तिनी हिजो ब्याचलर गरेर चारैतिर काम गर्दागर्दै अहिले कुनै मध्यपहाडी जिल्लाको सदरमुकाममा प्रेस व्यवसायी भएर बसेका छन् । हिजो रगत अलि तातो हुँदा तिनले कहिले अनलाइन पत्रकारिता र कहिले कागजी पत्रकारिता गरे तर जब उनले गाउँमा बसेर पत्रकारिता गर्दा गाउँठाउँ र जिल्लामा हुने गरेको भ्रष्टहरूको ‘नेक्सस’ र ‘कमाउ प्रवित्ति’ लाई एक्लैले तोड्न नसक्ने भन्ने ‘गीताज्ञान’ पाए अनि लागेका हुन् छपाइ व्यवसायमा । अहिले तिनी वर्षको करिब ६०–७० लाखको त काम नै गर्छन् । सीपलाई तिखारेका छन् ।

कम्प्युटरका चल्तीका प्रोग्रामहरू इन्डिजाइन, पेजमेकर, वर्ड, फोटोसप, एनीडेक्स र छपाइका सबै काम गर्दछन्, त्यो पनि कसैलाई चाकरी, चुक्ली र चाप्लुसी (चाचुचा) नगरीकन । उनी कोटेसनमा बिलो टेन्डरमा काम गर्ने र चुस्त गुणस्तरलाई ध्यान दिने भएकाले उनका कामहरू बर्सेनि क्रमशः बढेर गएका छन् ।हो, अहिलेका युवाहरूलाई चाहिएको यही हो । युवाहरूलाई रामायण, महाभारत, गीता, वेद र बेताल पच्चिसीका लामा–लामा कुराहरूभन्दा यस्तै विधि र प्रविधिका कार्यहरूमा पोख्त बनाउँदै स्वरोगजार दिन सकियो भने देशलाई तिनैले क्रमशः गति दिने हुन् ।

यो लेखकले तिनीसँग केही अघि भलाकुसारी गरेको थियो । तिनीहरू दुई भाइ रहेछन् । जेठा केही वर्ष विदेश बसी फर्केर भक्तपुरमा पसल चलाएर बसेका छन् । उनी कान्छा हुन् । दुवैको मिलाएर गाउँमा करिब एक–डेढ सय रोपनी खेतबारी छ । अहिले ती सबै बाँझिएका छन् । पितापुर्खाको थातथलो भएकाले बेचेर चटक्क छाडिहाल्न मन छैन । बढ्दै गरेका सन्तानलाई लिई गाउँ गएर बस्न झन् मनले मान्दैन । यो अहिले नेपालको करिब–करिब मेची–कालीकै यथार्थ हो ।

केही समयअघि उनले भनेथे– ‘अब म गाउँको जग्गामा बेसार र अकबरे खुसार्नी खेती गर्छु ।’ बेसार खेतीमा त्यस्तो झन्झट र समस्या केही रहेनछ तर अबकरे खुर्सानीचाहिँ पाकेपछि चराले खाने र नष्ट गर्ने भएकाले जति बारीमा अकबरे खुर्सानी लगाइन्छ त्यी सबैमा नेट (झुल) ले ढाक्नुपर्दो रहेछ । या टनेल बनाएर खेती गर्दा पनि भयो । कृषि विज्ञले उनलाई बेसार र अकबरे दुवै खेती गर्दा समूह बनाएर खेती गर्ने सल्लाह दिए । उनी यही बर्खा सिजनमा दुवै खेती गर्ने मिसन, भिजन र प्लानमा रहेका छन् । हो, यो भनेको निर्यातमुखी कृषिको बीज हो ।
दोलखा जिल्लामा रहेर विविध विकासे कामहरू गर्ने÷गराउने काउन्सिलर÷प्रमोटर बिर्ख क्रान्ति पानी मात्र बगेर खेर गैरहेका नदीहरूलाई व्यङ्ग्यमा ‘बेरोजगार नदी’ भन्छन् ।

उनको आशय नदीलाई नेपालीले सिँचाइ, जलविद्युत्, जल यातायात र सुन्दरताका लागि बहुउपयोग गर्नै जानेनन् । भएका अलि–अलि खोलालाई राजनीतिक पार्टीका मध्यमस्तरे कार्यकर्ताहरूले झोलामा लाइसेन्स बोकेर दोस्रो व्यक्तिलाई बेची मुर्गा बनाउने काम गरेका पाइन्छन् । तर त्यसको साटो नदीमा ससाना बाँध बाँधेर होस् या विभिन्न प्रकारका यन्त्र, उपकरण लगाएर होस्, पाखामा पानी तान्न सकिएमा नेपाली मेहनती कृषकका हातहरूले कृृषिका पचासौं थरी ठाउँ अनुसारका कृषि उत्पादनहरू गर्न सक्छन् ।बिमा प्रमोटर विपीन भट्टराईले हालसालै रामेछाप जिल्लाको ओख्रेनी भेगमा जुनारका बोटहरूको बिमा गरेर नेपालमै पहिलोपटक जुनारका बोटको बिमा गर्ने नौलो चलन चलाए । उनी नयाँ–नयाँ काम गर्न मन पराउँछन् ।

एक भेटमा उनले खुशी हुँदै भने– ‘नेपालमा जे काम गरे पनि नयाँ र पहिलो हुँदो रहेछ तर यहाँ स्थानीय तहमा रहेर नेतृत्व गर्ने मेयर, उपमेयर, अध्यक्ष र उपाध्यक्षहरूचाहिँ सम्भावनाका अपार चाङमा उपरखुट्टी लगाएर कि त आफ्नो गीत गाउन, कि त विरोधीलाई सत्तोसराप गर्नमै व्यस्त भएका रहेछन् ।’कमसे कम यो ५ वर्षमा देशैभरि ‘टप फाइभ’ भएका गाउँपालिका या नगरपालिकाहरूको भौतिक, भिजनरी र व्यवस्थापकीय विकासको स्तर अध्ययन अरू बाँकी नगरपालिका या गाउँपालिकाहरूले सर्सरी गरेका थिए भने मात्र पनि प्रतिस्पर्धाको भावले गर्दा जनताले चाँडो सिस्टम डेलिभरी पाउने रहेछन् ।

यसो हुन सक्यो भने कुनै पार्टी वा स्वतन्त्र व्यक्तिले अरूलाई गाली गर्नै पर्दैन । मात्रै आफ्ना कुराहरू जापनिजहरूले भनेझैँ ‘लिटिल थिङ वि डु’ शैलीमा खु्रूखुरू गर्दा हुन्छ । यसका लागि चाहिन्छ– अब स्थायीय तहमा आइडिया बैंक । के हो त आइडिया बैंक ?नेपालको हकमा आइडिया बैंकका बारेमा जान्नका लागि गुगल गर्ने या कुनै पीएचडीवालाको रिसर्च हेर्र्र्नै पर्दैन, मात्र भूगोलका आधारमा, हावापानीका आधारमा, बिउपलबिउका आधारमा, जनशक्तिका आधारमा, बजारका आधारमा, मुनाफाका आधारमा, स्टोरका आधारमा र निर्यातका आधारमा कुनै पनि उत्पादनशील वस्तु, सेवा, उद्योग, कला, सिर्जना, दृश्य या बुद्धिको स्थानीयकरणलाई उत्प्रेरित गर्दै विश्वव्यापीकरणलाई एक–अर्कामा जोडेर लैजाने हो भने नेपालमा गर्न नसकिने कुनै काम रहेनछ ।

बितेर गएको पहिलो ५ वर्षमा जानेर या नजानेर गाउँ, नगर, उप र महानगरपालिकाहरूले विविध आकारका भ्यु–टावर बनाई भौतिक वस्तुमा पैसाको जुन रिटर्न नहुने लगानी गरे, हो ती ठाउँमा पहिलो ५ वर्षमै गाउँपालिका र नगरपालिकाका कर्मचारी, विज्ञ, प्राविधिक र जनप्रतिनिधिहरूलाई एकै ठाउँमा भेला पारेर ७५३ वटै पालिकामा आइडिया बैंक अनुसार काम गर्न सकिएको भए अहिलेको दोस्रो पटकको निर्वाचनमा आइपुग्दा कुनै पनि विकासका लागि ‘समस्याको वस्तुगत वर्गीकरण र योजनाबद्ध समाधान’ गर्न नसक्ने टिकटाकाङ्क्षीहरू सरक्क बाहिर निस्किएर टाप कस्थे । अहिलेजस्तो जगत् हँसाएर, बागीहरूलाई डर, त्रास र आश देखाएर उम्मेदवारी फिर्ता लगाउनै पर्थेन ।
अधिकांश नेपाली उखानले भनेजस्तै हामी ‘हगी सक्यो अनि दैलो देख्यो’ भनेझैँ गर्छौं ।

अहिले एमाले र कांग्रेसले स्थानीय चुनावका लागि धूम धक्कडका साथ राष्ट्रिय स्तरबाट विशेषज्ञका दिमाग घोटेर जुन चुनावी घोषणापत्रहरू ल्याउने कामहरू गरे, तिनीहरूलाई ठन्डा दिमागले संश्लेषण गरी हेर्दा ‘ढाँटको निम्तो खाई पत्याउनु’ शैलीमा जनतालाई गुमराहमा राख्न खोजेझैँ लाग्छ । एमालेका घोषणापत्रभन्दा फरक शैलीमा कांग्रेसले ल्याएको घोषणापत्रलाई एमाले अध्यक्ष केपी ओलीले माझै मुखले ‘पागलहरूको प्रलाप’सम्म भन्न भ्याएछन् । चुनावको माहौल थियो र कांग्रेस महामन्त्री गगन थापाले छुद्र शैलीमै ‘ओलीलाई ट्युसन पढाउन बालकोट जाने’ भनेछन् । दुवै कुरालाई पर रहेर सुनिरहेको प्रबुद्ध नागरिकले ननिको मान्यो ।

अहिलेका समयमा ओली र गगन दुवै गलत हुन् । किन गलत हुन् भने, चुनावमा विपक्षीलाई गाली गरेर आफ्नो कद बढाउने होइन बरू नयाँ–नयाँ सिर्जनात्मक कामहरू सोचेर विपक्षीलाई टप्ने हो । भारतमा कांग्रेस, बीजेपीभन्दा आम आदमी पार्टी किन अघि गयो, उसले राजनीतिक नारा र गालीगलौजको भाषण किन कहिल्यै गरेन भनेर खोजी पस्दा यसका उत्तर भेटिन्छन् । उसले विकासे कामहरू खुरूखुरू गरिरह्यो । भारत होस् या नेपाल, अहिलेका आधुनिक मतदातालाई भविष्यमा प्लेन दिन्छु भनेर विश्वास मान्दैनन्, बरू हाताहाती वर्तमानमा स्कुटर दिन्छु भन्दा विश्वास मान्छन् ।

‘अहिले मतदाताका आवश्यकताहरू स्वास्थ्य, शिक्षा, सार्वजनिक यातायात, कृषिको विविधीकरण, पर्यटन, कुटिर उद्योग र निर्यातमुखी उद्योगहरू बढाउँदै देशलाई आफ्नै खुट्टामा उभ्याई अघि बढाउनुमा छ । यसो गर्न सबै खाले रैथाने प्रविधिको संरक्षण गर्दै आधुनिक वैज्ञानिक विधिसँग युवालाई जोड्नुका विकल्प रहेनन् । हो, यसैका लागि ‘आइडिया बैंक’ अब खाँचो हो ।’ –त्रिविबाट विद्यावारिधिरत समाजशास्त्री दीपेश घिमिरे सटिक शैलीमा भन्छन् ।

प्रतिक्रिया दिनुहोस्