मत माग्दै उम्मेदवार मतदाताका घरदैलोमा



दमौली ।

आसन्न निर्वाचनका लागि उम्मेदवारले घरदैलो अभियान शुरुआत गरेका छन् । उम्मेदवारी दर्ता, उम्मेदवारी फिर्ता र अन्तिम नामावली प्रकाशित भएपछि उम्मेदवारले घरदैलो अभियान शुरू गरेका हुन् ।

उम्मेदवार आफ्ना प्रतिबद्धतापत्र, प्रचार सामग्रीसहित मत माग्न मतदाताको घरदैलोमा पुग्न थालेका हुन् । जिल्लाको सबैभन्दा धेरै मतदाता रहेको व्यास नगरपालिकासहित अन्य पालिकामा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायत दलका उम्मेदवारले घरदैलो अभियान सुरू गरेका छन् ।कांग्रेसले पहिलो चुनावीसभा व्यास–१३ बेलवासमा गरेको छ । व्यासमा कांग्रेसका तर्फबाट प्रमुखमा वैकुण्ठनाथ न्यौपाने र उपप्रमुखमा इन्दिरा दरैले उम्मेदवारी दिनुभएको छ । व्यासलाई उपमहानगरपालिका बनाउन संरचना निर्माणतर्फ मुख्य ध्यान रहने प्रमुखका उम्मेदवार न्यौपानेले बताउनुभयो ।

एमालेबाट व्यास नगरको प्रमुख उम्मेदवार दीपकराज जोशी र उपप्रमुख उम्मेदवार वसुन्धरा घर्ती उम्मेदवारको घरमा पुगी मत माग्न व्यस्त हुनुहुन्छ । व्यासलाई सुव्यवस्थित, समुन्नत र सुन्दर नगरपालिका बनाउने योजनासहित चुनावी मैदानमा होमिएको प्रमुखका उम्मेदवार जोशीले बताउनुभयो ।यसैगरी, सत्ता गठबन्धनबाट शुक्लागण्डकी नगरपालिकाका प्रमुखका उम्मेदवार कृष्णराज पण्डित र उपप्रमुखका उम्मेदवार राजु विक मतदाताको घरमा पुग्न थाल्नुभएको छ ।

शुक्लागण्डकीमा कांग्रेसबाट प्रमुख र माओवादी केन्द्रबाट उपप्रमुखमा गठबन्धन भएको छ । शुक्लागण्डकी नगरपालिकालाई समृद्ध बनाउने योजनासहित आफूहरू चुनावी मैदानमा उत्रिएको नगरप्रमुखका उम्मेदवार पण्डितले बताउनुभयो ।नेकपा एकीकृत समाजवादीले पनि घरदैलो अभियान शुरू गरेको छ । भानु नगरपालिकामा एकीकृत समाजवादीका उपप्रमुख उम्मेदवार श्रीराम पौडेल मतदाताको घरदैलोमा पुगेर मत माग्न थाल्नुभएको छ ।उहाँले हरेक वडामा सीप केन्द्र सञ्चालन गरिने जनाउँदै नगरवासीलाई आत्मनिर्भर बनाउन एक वडाः एक सीप केन्द्र सञ्चालन गर्ने योजना रहेको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्