६ महानगरसहित १० स्थानीय तहको मतपत्र छपाइ शुरू



ईश्वरराज ढकाल, काठमाडौं ।

आज आइतबारबाट ६ महानगर र ४ नगरपालिकाको मतपत्र छपाइ शुरू हुने भएको छ । निर्वाचन आयोगले त्योबाहेक स्वतन्त्र उम्मेदवार बढी भएका केही जिल्लाका पुनः मतपत्र छपाइ गर्ने भएको छ । उम्मेदवारको संख्याको आधारमा ६ महानगर र ४ नगरपालिकाको मतपत्र छपाइ हुन लागेको हो ।

निर्वाचन आयोगले हिजो शनिबार ६ महानगर र भक्तपुरका ४ नगरपालिकाका स्वतन्त्र उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरेलगत्तै मतपत्र छपाइ प्रक्रिया शुरू गर्न लागेको हो । आयोगले जनक शिक्षा सामाग्री केन्द्रका उच्च अधिकारीलाई ६ महानगरपालिका र भक्तपुरका ४ नगरपालिकाको मतपत्र छाप्नका लागि तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।
अब बाँकी रहेका स्थानीय तहका करिब १३ लाख मतपत्र छपाइ हुनेछ । केन्द्रले हालसम्म १ करोड ८१ लाख थान मतपत्र छपाइ सम्पन्न गरिरहेको आयोगले १ करोड ९४ लाख मतपत्र छपाइ गर्ने जनाइसकेको छ । जनक शिक्षाले गएको चैत १६ गतेबाट मतपत्र छपाइ शुरू गरेको थियो ।

केन्द्रले आजबाट काठमाडौं, ललितपुर, विराटनगर, भरतपुर, पोखरा र वीरगन्ज महानगरपालिकाको मतपत्र छपाइ शुरू गर्न लागेको छ । त्यस्तै भक्तपुर जिल्लाको भक्तपुर, मध्यपुरथिमी, चाँगुनारायण र सूर्यविनायक नगरपालिकाको मतपत्र पनि आजबाटै छपाइ शुरू गर्न लागेको हो । जनक शिक्षाले २० गतेभित्र बाँकी स्थानीय तहको मतपत्र छपाइ सम्पन्न गर्ने जनाएको छ ।आयोगले स्वतन्त्र उम्मेदवारको संख्या बढी भएपछि ती स्थानीय तहको मतपत्र आजबाट छाप्न लागेको हो । आयोगले चिह्नसहितको डिजाइन तयार गरेपछि जनक शिक्षालाई पठाउने र जनकले मतपत्र छपाइ शुरू गर्नेछ । जनक शिक्षाका प्रवक्ता चित्रकुमार आचार्यले आजबाट ६ महानगर र ४ नगरपालिकाको मतपत्र छपाइ शुरू गर्ने बताउनुभयो । कति स्थानीय तहको मतपत्र पुनः छपाइ गर्नुपर्छ भन्ने विषय आयोगले खुलाएको छैन ।

यसअघि ती जिल्लामा आयोगले चुनावचिह्नसहित मतपत्र छपाइ सम्पन्न गरिसकेको थियो । केही स्थानीय तहका स्वतन्त्र उम्मेदवारको संख्या बढी भएका कारण पुनः मतपत्र छपाइ गर्न लागेको हो ।यसैबीच, आयोगले मतपत्र ढुवानीलाई तीव्रता दिएको छ । आयोगले पहिलो चरणमा कर्णाली प्रदेशको मतपत्र ढुवानी सम्पन्न गरेपछि सुदूरपश्चिम, कर्णाली, गण्डकी र प्रदेश १ का अधिकांश जिल्लामा मतपत्र ढुवानी सम्पन्न गरिसकेको छ ।

नेपाली सेनाको विशेष सुरक्षा घेराभित्र भण्डारण गरिएको मतपत्र धमाधम ढुवानी भइरहेको छ । आयोगले यातायात नपुग्ने र विकट स्थानीय तहमा नेपाली सेनाको सुरक्षा घेरामा जिल्लास्थित निर्वाचन केन्द्रमा पुग्ने गरी मतपत्र ढुवानी गरिरहेको छ । आयोगले एकसाता अघिबाट मतपत्र ढुवानी शुरू गरेको हो । आयोगका अनुसार अबको एक साताभित्र सबै निर्वाचन कार्यालयमा मतपत्र ढुवानी सम्पन्न गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्