बोर्डिङ पढाउन छोराछोरी बोकेर सहर पस्ने परम्परा अन्त्य गर्छु : बोहरा (प्रतिबद्धता पत्रसहित)



बझाङ ।

नेकपा एमालेबाट बझाङको बित्थडचिर गाउँपालिका अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका लोकेन्द्र बोहराले आफ्नो चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । उनले यही ३० वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचन लक्षित प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् ।

बोहराले प्रतिबद्धता पत्रमा आफू गाउँपालिकामा निर्वाचित भएमा जनजीविकाको विषयलाई प्राथमिकतामा राख्ने दाबी गरेका छन् । ‘बित्थडचिर गाउँपालिकामा सबै नागरिकमा आम सवालहरू सम्बोधन हुने गरी काम गर्नु छ, मैले बित्थडचिरको विकासका लागि तनमन र वचनले काम गर्नु छ ।’ उनले भने  शिक्षा, स्वास्थ्य, कृषि लगायत स्वरोजगारका सवालहरू पहिलो प्राथमिकतामा राखेर काम गर्ने छु, त्यो संगै भौतिक विकासका कुराहरू अगाडी बढाउनुछ ।’

उनले आफू गाउँपालिका अध्यक्षमा विजयी भएमा शिक्षा, स्वास्थ्य, यातायात, विद्युत्, खानेपानी सरसफाइ, सिँचाइ, वन तथा वातावरण, पर्यटन, रोजगारी, कृषि, सामाजिक सुरक्षा, सुशासनको क्षेत्रमा विशेष काम गर्ने दाबी पनि गरेका छन् ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा विभिन्न क्षेत्रमा काम गरी सकेका युवा नेता बोहराले निर्वाचित भएपछि आफ्ना प्राथमिकता क्षेत्रहरू यसरी उल्लेख गरेका छन् ।

स्थानीय तह निर्वाचन विजयपछि मेरो प्राथमिकताका विषयहरू  
शिक्षा क्षेत्र 
१) बित्थडचिर गाउँपालिकामा गणित, विज्ञान र अङ्ग्रेजी लगायतका विषयहरूमा विद्यार्थीहरु कमजोर नतिजा आइरहेको यथार्थ हामीले देखिरहेकै छौँ । यसलाई समाधानका लागि एक गाउँ एक कोचिङ सेन्टर स्थापना गरिनेछ । स्कुलहरू टाढा भएकाले गाउँमै बिहान बेलुका विद्यार्थीहरुलाई सहज हुने गरी यसको व्यवस्था गरिनेछ । उक्त सेन्टर स्थानीय सरकारको पूर्ण लगानीमा सञ्चालन गरिनेछ । साथै उक्त कार्यका लागि सम्बन्धित गाउँकै उच्च शिक्षा अध्ययन पुरा गरेका सक्षम युवाहरूलाई अवसर प्रदान गरिने छ ।
२) हरेक माध्यमिक विद्यालयहरूमा दुई वर्ष भित्र वाई फाइ सहितको कम्प्युटर प्रयोगशाला स्थापना गरिनेछ । साथै आधारभूत विद्यालयहरूमा शैक्षिक खेलौना सहितको आधुनिक सिकाई विधि तत्काल लागू गरिनेछ । यसका लागि आवश्यक श्रोत सम्बन्धित वडाबाटै पूर्ति गर्ने ।
३) आवश्यक माध्यमिक विद्यालयहरूमा अर्को शैक्षिक सत्र बाट कृषि विषय (जेटीए) को पढाइ सञ्चालन गरिनेछ र उक्त विद्यालयबाट उत्पादित सक्षम युवालाई सोही वडामा कृर्षीग्रामहरुमा रोजगारीको ग्यारेन्टी गरिनेछ ।
४) दलित समुदायका विद्यार्थीहरुलाई पढाइमा हौसला र प्रोत्साहनका लागि जागरण अभियान सञ्चालन गरिनेछ।
५) हरेक विद्यालयहरूमा शिक्षण प्रणालीमा सुधार गरी प्रयोगात्मक प्रणाली र व्यवहारिक शिक्षामा जोड दिने ।
६) बोर्डिङ स्कुल पढाउन छोराछोरी बोकेर सहर पस्ने परम्परा अन्य गर्न ३ वर्ष भित्रै गाउँकै हरेक आधारभूत विद्यालयहरूमा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पढाइ सुरु गर्ने । यो कार्यलाई पछि बिस्तार गर्दै माध्यमिक तह सम्म पुर्‍याउने ।

स्वास्थ्य क्षेत्र
१) ‘एक वडा एक नर्स’ र ‘एक गाउँ एक स्वास्थ्य स्वयंसेविका’ कार्यक्रम लागु गर्ने ।
२) हरेक जेष्ठ नागरिकहरूको प्रत्येक ३/३ महिनामा घरमै निशुल्क स्वास्थ्य परीक्षण गर्ने र आवश्यक औषधि निःशुल्क प्रदान गर्ने ।
३) स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी बनाउन हरेक गर्भवती र सुत्केरी महिलाहरूको स्थानीय सरकारले नै १ वर्ष भित्र बिमा गरिदिने ।
४) हरेक गर्भवती र सुत्केरी महिलाहरूको स्वास्थ्य ध्यानमा राखी पौष्टिक खानाका लागि हरेक महिना एक हजार रुपैयाँ भत्ता दिने । (यो सरकारी कर्मचारी भएका र आर्थिक अवस्था ठिक भएका परिवारको हकमा नलाग्ने)
५) एक वर्ष भित्रै गाउँपालिकाको कम्तीमा एउटा आफ्नै एम्बुलेन्स हुनेछ । हरेक स्वास्थ्य चौकी सम्म राम्रो सडक सञ्जाल पुर्याईनेछ ।
६) एक वडा एक एक्सरे मसिन र गाउँपालिका अस्पतालमा भिडियो एक्सरे र अन्य अति आवश्यक मसिनहरु यथाशिघ्र उपल्ब्ध गराई सेवा सञ्चालन गर्ने ।
७) हरेक ६ महिनामा बिशेषज्ञ डाक्टर सहितको स्वास्थ्य शिविर सञ्चालन गरी गाउँमा उपचार हुन नसकेका बिरामीहरूको उपचार गराउने ।
८) बालबालिकाहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै बाल स्वास्थ्य अभियान सञ्चालन गर्ने ।

कृषि क्षेत्र 
१) “कृषि कर्म, पुर्खाको धर्म” अभियान सञ्चालन गरिनेछ । यसका लागि एक गाउँ एक कृषि ग्राम स्थापना गरिनेछ । एक गाउँ एक व्यवसाय सुरु गर्ने । यो अभियानमा युवालाई जोड्न कृषि रिण दिने र कृषि उत्पादनहरू बिक्रीका लागि गाउँपालिकाले समन्वय गरिदिने ।
२) उत्पादित बस्तुहरू ताजा राख्न एक वडा एक कोल्ड हाउस स्थापना गर्ने ।
३) हरेक १५ दिनमा हरेक वडामा र हरेक महिना गाउँपालिका स्तरीय कृषि हाट बजार सञ्चालन गर्ने । जसले गाउँमै उत्पादित बस्तुहरू किनबेचमा सहयोग पुगेछ ।
४) उत्कृष्ट कृषक र व्यवसायी किसानलाई सम्मान कार्यक्रम हरेक वर्ष आयोजना गर्ने ।

प्रतिक्रिया दिनुहोस्