मनकारी मीनबहादुरको माछापुच्छ्रे हाँक्ने हुटहुटी



कास्की ।

कास्कीस्थित माछापुच्छ्रे गाउँपालिकामा नेपाली काँग्रेसले मीनबहादुर गुरुङलाई अध्यक्षको उम्मेदवार बनाएको छ । मनकारी छविका मीनबहादुरलाई पालिकावासीले समाजसेवीको रूपमा पनि चित्रित गर्छन् । असल सामाजिक व्यक्तित्व, विभेदरहित व्यवहार र शालीन प्रस्तुति भएकै कारण उहाँलाई गाउँपालिका अध्यक्षका लागि टिकट दिइएको पार्टी वृत्तमा चर्चा हुने गरेको छ ।

कास्की क्षेत्र नं ३ तरुण दलको सभापति भएर युवाको सफल नेतृत्व गरिसकेका मीनबहादुरलाई गाउँपालिकामा भूगोल अनुरूपको विकास र समृद्धि ल्याउने हुटहुटी छ । उहाँ भन्नुहुन्छ ,‘महत्त्वाकाङ्क्षी योजनाहरूमा समय खेर फाल्ने मनसाय मेरो छैन । पालिकावासीले प्रत्यक्ष अनुभूत गर्ने र कार्यकालमा सक्ने योजनाहरू छन् ।’

विशेषतः शिक्षा, स्वास्थ्य,कृषि र पर्यटनमा गाउँपालिकालाई अब्बल बनाउने उहाँले बताउनुभयो । शिक्षा नै सर्वोपरि भएको भनाइ छ । ‘हामीले हालसम्म सञ्चालनमा रहेका सरकारी विद्यालयलाई थप स्तरोन्नति गर्ने योजना बनाएका छौँ । अहिले १० कक्षासम्म सञ्चालन भइरहेका हरेक विद्यालयलाई थप व्यवस्थित गर्दै प्लस टु तहसम्म सञ्चालनमा ल्याउनेछौँ ।’ माध्यमिक तह सम्मका हरेक विद्यालयमा स्टाफ नर्सको व्यवस्था गर्दै विद्यार्थीको स्वास्थ्य प्रोफाइलको काम अघि बढाउने उहाँको भनाई छ ।

गाउँपालिकामा ६० वर्ष माथिका वृद्ध वृद्धाको स्वास्थ्यलाई मध्यनजर गर्दै स्वास्थ्य सेवा निःशुल्क गर्ने उनको योजना छ । ४० वर्ष माथिका लाई प्रत्येक ६ महिनामा निःशुल्क मधुमेह परीक्षणसँगै प्रत्येक वडामा ‘गाउँपालिका अध्यक्ष̸उपाध्यक्षसँग ज्येष्ठ नागरिक’ कार्यक्रम सञ्चालन गरिने बताउनुभयो । ‘स्वास्थ्य नै धन हो भनिन्छ नि । हो, हामी यो कुरामा पनि संवेदनशील छौँ । पालिकाका प्रत्येक स्वास्थ्य संस्थामा बेसिक इमर्जेन्सी अब्सट्रेटिक केयर सुरु गराइहाल्छौँ । महिलाहरूको हकमा पाठेघरको क्यान्सरको खोजड्ताल गरी उपचारको व्यवस्था गर्छौँ’, उहाँले भन्नुभयो ।

माछापुच्छ्रे गाउँपालिका कृषिका लागि उर्वर भूमि हो । उहाँका अनुसार पालिकावासीलाई कृषिमा आकर्षण गर्ने गरी पकेट क्षेत्र बनाएर विशेष प्याकेज ल्याउने उम्मेदवार मीनबहादुरको योजना छ ।कृषिलाई थप आधुनिकीकरण गर्दै एग्रो टुरिजमको अवधारणा अघि बढाइने छ ।

माछापुच्छ्रे नमुना पैदल मार्ग र मार्दी हिमाल पदयात्रालाई जोडेर पर्यटकको बसाई लम्ब्याउँदै स्थानीय जनजीविकासँग प्रत्यक्ष सरोकार राख्ने गरी विकास गर्ने । क्यानोइङ, रक क्लाइम्बिङ, प्याराग्लाइडिङ लगायतका साहसिक पर्यटकीय गतिविधिलाई पनि थप चलायमान बनाउने लगायतका योजनामा काम गर्ने उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्