७० वर्ष नाघेका नगरवासीलाई निःशुल्क स्वास्थ्य सेवा दिइनेछ : व्यञ्जनकार



ललितपुर ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले) ललितपुर महानगरपालिका मेयर पदका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले ७० वर्ष उमेर पुगेका महानगरवासीलाई निःशुल्क स्वास्थ्य सुविधा प्रदान गरिने घोषणा गर्नुभएको छ । नेकपा एमाले ललितपुर महानगर कमिटीले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले आसन्न निर्वाचनमा आफूहरू निर्वाचित भएसँगै ज्येष्ठ नागरिकका हितमा थुप्रै काम गर्ने धारणा राख्नुभयो ।

उहाँले भन्नुभयो, ‘ज्येष्ठ नागरिक राष्ट्रका ढुकढुकी भएकाले हामीले उहाँहरूको स्वास्थ्यलाई ध्यानमा राखी बिना शुल्क औषधी उपचारको व्यवस्था गर्ने निर्णय गरिसकेका छौँ ।’ सो उमेरका नागरिकले केबल सन्तानको भर पर्नु पर्ने जानकारी गराउँदै उहाँले आवश्यक समस्यामा परिवारका सदस्यले आफ्ना कामकाजका बाबजुद आवश्यक समय सो उमेरका व्यक्तिलाई ध्यान दिन नसक्ने कुरालाई मध्यनजर गरी स्थानीय सरकारले सो जिम्मेवारी बहन गर्ने योजना बनाएको व्यञ्जनकारको भनाइ छ ।

यसै गरी सो महानगरपालिका उपमेयर पदका उम्मेदवार मञ्जली शाक्य (आस्था) ले प्रत्येक नगरवासीको समस्या समाधान गर्ने दायित्व नगर प्रमुखका साथै उपप्रमुखको समेत रहेको धारणा राख्दै महानगरमा स्वच्छ तथा सन्तुलित वातावरण कायम गराउने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्