पाल्पामा एमाले र गठबन्धनबीच प्रतिस्पर्धा हुने



कविराज नेपाल, पाल्पा  ।

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनअन्तर्गत पाल्पामा मुख्यरूपमा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले एकातर्फ र नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा समाजवादी, राष्ट्रिय जनमोर्चा सम्मिलित गठबन्धन अर्काेतर्फ भई चुनावी प्रतिस्पर्धा हुने भएको छ ।

केही दिनअघि नै पाल्पामा सत्ता गठबन्धन दलले चुनावमा गठबन्धन गरी जाने सहमति गरेअनुसार जिल्लाका १० वटै स्थानीय तहमा आपसमा मिलेर उम्मेदवारी मनोनयन गराएका छन् भने नेकपा एमालेले एक्लै जिल्लाका सबै तहमा आफ्ना उम्मेदवार छनोट गरी मनोनयन दर्ता गरेको छ ।सत्तामा रहेका दलले जिल्लाको १० स्थानीय तहमध्ये ६ कांग्रेस, २ माओवादी केन्द्र र २ पालिका नेकपा एकीकृत समाजवादीले भागवण्डा गरेका थिए ।

यस अघि २०७४ सालको स्थानीय निर्वाचनमा जिल्लाका १० वटा स्थानीय तहमध्ये ६ तहमा नेकपा एमाललेले विजय हासिल गरेको थियो भने ४ वटामा नेपाली काग्रेसले प्रमुख जितेको थियो । यसपालि अलि भिन्न तरिकाले प्रतिस्पर्धा हुने भएकाले दलहरु मतदातालाई आ–आफ्नो पक्षमा ल्याउनका तँछाडमछाड गरिरहेका छन् ।

दुई जना निर्विरोध

पूर्वखोला गाउँपालिकामा नेकपा एमालेबाट उम्मेदवारी दिएका २ जना वडा सदस्य निर्विरोध चयन भएका छन् । वडामा एकल उम्मेदवारी परेपछि निर्विरोध चयन हुने भएका हुन् ।वैशाख ११ र १२ मा भएको मनोनयन दर्तामा वडा नं. २ को महिला सदस्यमा भिमिसरा आले र वडा नं. ५ को दलित महिला सदस्यमा पार्वती हिताङ्ग सार्कीको एकल उम्मेदवारी परेपछि निर्विरोध चयन हुने भएको निर्वाचन अधिकृत मधु अर्याल खनालले जानकारी दिनुभयो ।

तानसेन नगरपालिका

जिल्ला सदरमुकामसमेत रहेको पाल्पाको तानसेन नगरपालिकामा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका सन्तोषलाल श्रेष्ठ मेयर र उपमेयरमा नेकपा माओवादी केन्द्रकी प्रतीक्षा सिङ्जालीले मनोनयन दर्ता गरेका छन् ।वडा अध्यक्षहरूमा वडा न १ मा सुनीलकुमार बस्याल, वडा नम्बर २ मा महेश्वर श्रेष्ठ, वडा नं ३ मा बाबुरत्न शाक्य, वडा नं ४ मा हेमन्त राज शाक्य, वडा न ५ मा रामबहादुर रावल, वडा नं ६ मा सागरमान महर्जन, वडा नं ७ मा प्रदीप खनाल, वडा नं ८ मा मोहन कार्की, वडा न ९ मा मीनप्रसाद बन्जाडे, वडा नं १० मा सुरेश बोहोरा, वडा नं ११ मा यादवसिं कार्की, वडा नं १२ मा मेजरसिं केसी, वडा नं १३ मा टुकप्रसाद भट्टराई र वडा नं १४ मा दधिराम न्यौपानेले मनोनयन दर्ता गरेका छन् ।

१४ वटा वडामध्येमा ११ वटा वडा नेपाली कांग्रेसको भागमा परेको छ भने बाँकी तीन वडामध्ये वडा नं ५ मा नेकपा माओवादी केन्द्र र वडा नं ८ र ९ नेकपा एकीकृत समाजवादीको भागमा छ । वडा सदस्यमा गठबन्धनले भागवण्डाकै आधारमा उम्मेदवारी दिएको छ ।
यता, नेकपा एमाले पाल्पाका उम्मेदवारहरूले पनि मनोनयन दर्ता गराएका छन् । एमाले जिल्ला अध्यक्ष धनेन्द्रराज घिमिरे स्वयं तानसेन नगरपालिकाको नगरप्रमुखको उम्मेदवार बन्नुभएको छ भने उपप्रमुखमा यसअघिकी कार्यपालिका सदस्य शशि श्रेष्ठलाई उम्मेदवार बनाइएको छ । त्यस्तै, सबै वडामा वडाध्यक्ष र सदस्यमा नेकपा एमालेले उम्मेदवारी दिएको छ ।

रामपुर नगरपालिका

पूर्वी पाल्पाको प्रमुख व्यापारिक केन्द्र रामपुर नगरपालिकामा कांग्रेसको तर्फबाट नगर प्रमुख रमणबहादुर थापा र उपप्रमुखमा बालकुमारी थापाको मनोनयन दर्ता भउको छ । नगरपालिकामा यसअघि पनि नेपाली कांग्रेसले प्रमुख र उपप्रमुख जितेको थियो ।
वडाध्यक्षमा कांग्रेसबाट वडा नं. १ को वडामा कपिलबहादुर खाँण, वडा नं २ मा कृष्णबहादुर दर्जी, वडा नं ३ मा उमनाथ अर्याल, वडा नं २ मा रामबहादुर राना, वडा नं ५ मा दुर्गाप्रसाद पोखरेल, वडा नं ६ मा दिवाकर देवकोटा, वडा नं ७ मा दोवराज तिवारी, वडा नं ८ मा मोहन श्रेष्ठ, वडा नं ९ मा डिलबहादुर राना र वडा नं १० मा विजय रानाले मनोनयन दर्ता गराएका छन् ।
रामपुर नगरपालिकामा नेकपा एमालेले अधिवक्ता शिव अर्याललाई प्रमुखको उम्मेदवार बनाइएको छ भने उपप्रमुखमा २०७४ कै उम्मेदवार दुर्गा रानालाई अगाडि सारिएको छ ।

माथागढी गाउँपालिका

गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका सन्तोषकुमार थापाले अध्यक्ष र उपाध्यक्षमा विजया भट्टराईले मनोनयन दर्ता गराएका छन् ।
त्यसै गरी, वडा नं १ को वडाध्यक्षमा महेन्द्र जीसी, वडा नं २ को अध्यक्षमा जनक रिजेल, वडा नं ३ को अध्यक्षमा दीपक थापा, वडा नंं ४ को अध्यक्षमा मधु पराजुली, वडा नं ५ को अध्यक्षमा गणेशजङ गाहा, वडा नं ६ को अध्यक्षमा युवबहादुर ठाडा, वडा नं ७ को अध्यक्षमा जगबहादुर दर्लामी र वडा नं ८ को अध्यक्षमा दिलबहादुर ढेगाले मनोनयन दर्ता गराएका छन् ।
नेकपा एमाललेले भने माथागढीमा अध्यक्षमा यम चिदी र उपाध्यक्षमा विष्णु लुङ्चेलाई उम्मेदवार बनाएकोे छ । यी दुवै जना स्वास्थ्यकर्मीको पृष्ठभूमिबाट राजनीतिमा प्रवेश गरेका हुन् ।

रैनादेवी छहरा गाउँपालिका

कांग्रेसको भागमा परेको रैनादेवी छहरा गाउँपालिका अध्यक्षमा रुक्मागत भट्टराईले मनोनयन दर्ता गराउनुभएको छ । उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका युवराज थापाको उम्मेदवारी परेको छ । वडा नं १ को अध्यक्षमा सोमबहादुर दर्लामी, २ नं को अध्यक्षमा दानबहादुर पौडेल, ३ नंको अध्यक्षमा प्रदीप पौडेल ४ को अध्यक्षमा लक्ष्मण रायमाझी, ५ को अध्यक्षमा हुमानसिंह कार्की ६ को अध्यक्षमा डोमबहादुर घर्ती, ७ को अध्यक्षमा देवेन्द्र पुन र वडा नं. ८ को अध्यक्षमा थमनबहादुर रानाले उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ता गराएकामध्ये वडा नम्बर १ र ३ मा माओवादी केन्द्रका उम्मेदवार हुन् ।
नेकपा एमाललेले भने यस पालिकाको प्रमुखमा रामबहादुर राउत र उपप्रमुखमा गीता भट्टराई घिमिरेलाई उम्मेदवार बनाएको छ । राउत यसअघि उम्मेदवार भई पराजित भएका थिए भने भट्टराई नयाँ अनुहार हो ।

रम्भा गाउँपालिका

गठबन्धनको भागवण्डामा रम्भा गाउँपालिकाको अध्यक्ष नेकपा समाजवादीलाई परेको थियो । सोहीअनुसार गठबन्धनमा आबद्ध दलका तर्फबाट गाउँपालिका अध्यक्षमा नेकपा समाजवादीका उम्मेदवार दुर्गाप्रसाद अधिकारीले मनोनयन दर्ता गर्नुभएको छ भने नेपाली कांग्रेसका तर्फबाट उपाध्यक्ष पदमा विष्णु थापाले उम्मेदवारी दर्ता गराएका छन् ।
यहाँको वडा नं. १ को वडाध्यक्षमा ईश्वर काफ्ले, वडा नं. २ को वडाध्यक्षमा रमेश पछाई, वडा नं. ३ को वडाध्यक्षमा थम्मनबहादुर गाहा, वडा नं. ४ को वडाध्यक्षमा चेतनारायण श्रेष्ठ र वडा नं. ५ को वडाध्यक्षमा विष्णुबहादुर काम्मु थापाले उम्मेदवारी दर्ता गरेका छन् ।
नेकपा एमालेले भने यहाँ यसअघि अध्यक्ष र उपाध्यक्ष भएका विष्णुप्रसाद भण्डारी र राधादेवी श्रेष्ठलाई उम्मेदवार बनाएको छ ।

बगनासकाली गाउँपालिका

आसन्न स्थानीय तह निर्वाचनका लागि सत्ता गठबन्धनबाट बगनासकाली गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसबाट सुनीता अधिकारीले उम्मेदवारी दर्ता गराएका छन् । त्यसै गरी, उपाध्यक्षमा एकीकृत समाजवादीबाट कमल पाण्डेले उमेदवारी दर्ता गराउनुभएको छ ।वडा नं १ चिर्तुङधाराका लागि वडाध्यक्षमा नेपाली कांग्रेसबाट शेरबहादुर चिदी वडा नं. २ पोखराथोकमा अध्यक्ष खुमबहादुर कुमाल, वडा नं ३ नायरनमतलेको अध्यक्षमा उदयराज घिमिरे, वडा नं ४ खानीछापमा हुतमानसिं दर्लामी वडा नं ५ दर्लमडाडामा धिरज गाहा, वडा नं ६ यम्घामा लक्ष्मीप्रसाद अधिकारी, वडा नं ७ खानीगाउँमा रामबहादुर साठीघरे, वडा नं ८ बराङ्दीमा मीनप्रसाद न्यौपाने, वडा नं ९ चापपानीमा ठानेश्वर तिमिल्सेना गठवन्धनका उम्मेदवार भउका छन् ।नेकपा एमालेका तर्फबाट अध्यक्षमा सरस्वती दर्लामी चिदी र उपाध्यक्षमा हरि पाठकलाई उम्मेदवार हुनुहुन्छ । चिदी यसअघिकी उपाध्यक्ष हुनुहुन्छ भने पाठक पुराना जनप्रतिनिधि हुनुहुन्छ ।

रिब्दीकोट गाउँपालिका

रिब्दिकोट गाउँपालिकामा नेकपा एमालेको तर्फबाट पुरानै गाउँपालिका अध्यक्ष नारायणबहादुर जिसी र उपाध्यक्ष लक्ष्मी खनालको उम्मेदवारी परेको छ । गठबन्धनबाट भने अध्यक्षमा नारायणबहादुर कार्की माओवादी केन्द्रबाट र कान्ता अधिकारी नेपाली कांग्रेसबाट उम्मेदवार बनेका छन् ।
नेकपा एमालेबाट वडा नं १ अध्यक्षमा चिरञ्जीवी पोखेरल २ को अध्यक्षमा शेरबहादुर राना वार्ड न ३ को अध्यक्ष नारायणबहादुर भाट वडा नं ४ को अध्यक्षमा तेजबहादुर पोख्रेल, ५ को अध्यक्षमा कृष्णबहादुर थापा, ६ को अध्यक्षमा तुलबहादुर जिसी, ७ को अध्यक्षमा चन्द्रबहादुर कुँवर र ८ नम्बर वडाको अध्यक्षमा चक्रबहादुर कुँवरको उम्मेदवारी परेको छ ।
त्यस्तै, गठबन्धनको तर्फबाट वार्ड न १ मा नेपाली कांस्रेसका रामचन्द्र पाण्डे, २ र ३ मा क्रमशः नेपाली कांस्रेसका ओमप्रसाद पोखरेल, नारायणबहादुर केसी, ४ मा जनमोर्चाका सोमकुमार कार्की, ५ मा कांग्रेसका मनबहादुर अस्लामी, ६ मा माओवादी केन्द्रका प्रकाश रायमाझी, ७ मा माओवादी केन्द्रका नारायणबहादुर कँुवरले उम्मेदवारी दिएका छन् । वडा नं ८ मा माओवादी केन्द्रका नारायण लाम्टागे र कांग्रेसका चुराबहादुर छहरीले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।

पूर्वखोला गाउँपालिका

निर्वाचनका लागि पूर्वखोला गाउँपालिकामा गठबन्धनको तर्फबाट अध्यक्षमा नेकपा (एकीकृत समाजवादी)का मीनप्रसाद गिरी र उपाध्यक्षमा कांग्रेसका तर्फबाट विष्णुकुमारी आचार्यले मनोनयन दर्ता गराएका छन् ।पूर्वखोलाको ६ वडामध्ये ५ वटामा नेपाली कांग्रेसका र एउटा वडामा नेकपा माओवादी केन्द्रले वडाध्यक्षमा मनोनयन दर्ता गरेको छन् । पूर्वखोला–१ मा कांग्रेसका चुनबहादुर थापा, २ मा कांग्रेसका गोपाल राना, ३ मा उमानसिं सुनारी, ४ मा नवराज श्रेष्ठ, ६ मा झमबहादुर सारुले वडाध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गरेको छन् । वडा नं ५ मा नेकपा माओवादी केन्द्रले वडाध्यक्षमा मनोनयन दर्ता गराएको छ । यहाँ नेकपा एमालेले पुरानै जनप्रतिनिधि नुनबहादुर थापा र भागिरथी भट्टराईलाई उम्मेदवार बनाइएको छ ।

निस्दी गाउँपालिका

निस्दी गाउँपालिकामा गठबन्धनको तर्फबाट अध्यक्षमा कांग्रेसका गोपाल अर्याल र उपप्रमुखमा माओवादी केन्द्रका रामप्रसाद खत्रीले उपाध्यक्षमा मनोनयन दर्ता गराएका छन् ।
कांग्रेसले वडा नं. १ को वडाध्यक्षमा पूर्णबहादुर खाँण, २ को वडाध्यक्षमा यमबहादुर मश्राङ्गी, ३ मा धनबहादुर खण्डलुक, ४ मा माओवादीका भूपिन्द्र सुनारी, ५ मा माओवादीका कालुराम सारु, ६ मा गगन खन्गाहा, ७ मा मोहन राक्सेलाई उम्मेदवार बनाइको छ । नेकपा एमालेको तर्फबाट निस्दी गाउँपालिकामा पुरानै अनुहार मुक्तबहादुर सारु अध्यक्षमा र उपाध्यक्षमा नयाँ अनुहार तिरण श्रेष्ठ उम्मेदवार हुनुहुन्छ ।
तिनाउ गाउँपालिका

तिनाउ गाउँपालिकामा गठबन्धनका तर्फबाट अध्यक्षमा नेकपा माओवादीका राजेश श्रेष्ठ र उपाध्यक्षमा नेपाली कांग्रेसका लालबहादुर थापाले उम्मेदवारी दर्ता गर्नुभएको छ ।नेपाली कांग्रेसबाट वडाध्यक्ष पदका लागि वडा नम्बर १ मा हस्तबहादुर रास्कोटी, ३ मा चित्रबहादुर थापा, ४ मा कांग्रेसबाट देवसिं दर्लामी, वडा नं ६ मा टोमबहादुर पुन उम्मेदवार छन् । माओवादी केन्द्रबाट वडा नं. २ मा दिनेश घर्ती क्षेत्री, ५ मा गणेशबहादुर रास्कोटीले उम्मेदवारी दिएका छन् ।नेकपा एमालेले भने तिनाउ गाउँपालिकामा अध्यक्षमा प्रेम श्रेष्ठ र उपाध्यक्षमा सावित्रा रानालाई उम्मेदवार बनाएको छ । दुवै नयाँ अनुहार हुन् ।

प्रतिक्रिया दिनुहोस्