बोर्ड उपाध्यक्ष नहटाउन अन्तरिम आदेश



हेटौंडा ।

बागमती प्रदेशमा दुग्ध विकास बोर्ड उपाध्यक्ष टीकाबल्लभ सापकोटालाई साबिकबमोजिम काम गर्न दिनू भन्दै उच्च अदालत पाटनको हेटौंडा इजलासले बागमती प्रदेश सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ ।

यसअघिको अल्पकालीन आदेशलाई निरन्तरता दिँदै उच्च अदालतले सापकोटालाई पदमै रहेर काम गर्न आदेश गरेको हो । उच्च अदालत पाटन हेटौंडा इजलासका न्यायाधीश मोहम्मद साबिर हुसेन र राजेश्वर तिवारीको संयुक्त इजलासले निवेदकलाई आधार/कारण उल्लेख नगरी सरकारले पदबाट हटाएको निष्कर्षसहित अन्तरिम आदेश जारी गरेको हो ।

निवेदकका तर्फबाट अधिवक्ताहरू ध्रुवप्रसाद चौलागाईं, मदन दाहाल, मनप्रसाद भट्टराई र बालकृष्ण अधिकारीले बहस गर्नुभएको थियो । प्रदेश सरकारका तर्फबाट मुख्य न्यायाधिवक्ता श्यामनारायण श्रेष्ठ र बोर्डका तर्फबाट कृष्णप्रसाद भट्टराईले बहस गर्नुभएको थियो । बागमती प्रदेशका तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले ४ वर्षका लागि काभ्रेका सापकोटालाई उपाध्यक्षमा नियुक्त गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्