मनाङमा २ सय ९ जना उम्मेदवार



मनाङ । 

आगामी ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मनाङमा विभिन्न पदका २ सय ९ जना जनप्रतिनिधिको उम्मेदवारी परेको छ ।चार गाउँपालिका रहेको मनाङमा अध्यक्षका लागि मात्रै ९ जनाको उम्मेदवारी परेको छ भने उपाध्यक्षमा ८ जनाको उम्मेदवारी परेको छ । जिल्लाको अति विकट क्षेत्रमा रहेको नार्पाभूमि गाउँपालिकाको उपाध्यक्षमा एकजनाको मात्र मनोनयन दर्ता भएको हो ।

२८ वडा रहेको मनाङमा वडाध्यक्षका लागि ४८ जनाको उम्मेदवारी परेको छ । महिला सदस्यका लागि ४९, दलित महिला सदस्यका लागि २२ र खुला सदस्यका लागि ८२ जनाको उम्मेदवारी परेको निर्वाचन कार्यालय मनाङले जनाएको छ ।निर्वाचन कार्यालयका अनुसार नार्पाभूमि गाउँपालिकामा २६, चामे गाउँपालिकामा ४२ जनाको उम्मेदवारी परेको छ । नासों गाउँपालिकामा ६८ जनाको उम्मेदवारी परेको छ भने ङिस्याङ गाउँपालिकामा ७३ जनाको उम्मेदवारी परेको छ ।नासों गाउँपालिकामा नेपाली कांग्रेसबाट वडा नं. ५ को वडाध्यक्षमा थुतेन लामा, वडा नं. ६ को अध्यक्षमा पुष्पबहादुर गुरुङ र वडा नं. ७ को वडाध्यक्षमा ओमबहादुर गुरुङको एकल उम्मेदारी परेको छ । नासोंमा वडा नं. ५ को कांग्रेसको दुई जना वडा सदस्य, एक एमाले र एक स्वतन्त्र सदस्यसमेतको एकल उम्मेदारी परेको छ । नासोंको वडा न. ६ र ७ मा पूरै सेट नेपाली कांग्रेसबाट निर्विरोध भएका हुन् । वडा नं. ६ मा दलित महिला सदस्य नहुँदा वडा कार्यसमितिका लागि चार जनाको मात्रै उम्मेदारी परेको थियो ।

त्यसै गरी मनाङको नार्पाभूमि गाउँपालिकाको उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार मिङमर फुन्चो लामाको एकल उम्मेदवारी परेको छ । लामा यसअघि वडा नं. २ को अध्यक्ष थिए । एमालेले अध्यक्षमा उठाउने निर्णय गरे पनि पछि लामाले उपाध्यक्षमा मनोनयन दर्ता गराएका हुन् । अध्यक्षमा कांग्रेसबाट हालका अध्यक्ष कोन्जो तेन्जिन लामा र एमाले समर्थक मिङमर सोनाम लामा र स्वतन्त्र उम्मेदार कृष्ण लामाले पनि उम्मेदवारी दिएका छन् ।

नार्पाभूमिको वडा नं. १ मा कांग्रेसका फुर्वा ठेले लामाको एकल उम्मेदारी परेको छ । नेकपा एमाले समर्थित तर, स्वतन्त्रबाट वडा नं. ४ को अध्यक्षमा कर्मा ग्याल्जेन लामा र ५ को अध्यक्षमा सोनम तेजे लामाको मात्र मनोनयन दर्ता भएको छ ।सो बाहेक मनाङको चामे गाउँपालिकाको वडा नं. १ मा नेकपा एमालेका खड्कजंग गुरुङसहित एमालेबाटै महिला सदस्यमा राजकासी गुरुङ र दलित महिला सदस्यमा अनिता विकको एकल उम्मेदारी परेको छ ।

यस्तै वडा नं. २ को अध्यक्षमा नेपाली कांग्रेसका मंगलदेव गुरुङ सोही वडामा महिला सदस्यमा गममाया गुरुङ र दलित महिला सदस्यमा नवीना परियार कांग्रेसबाट एकल उम्मेदारी परेको छ ।त्यसै गरी निस्याङ गाउँपालिकाको वडा नं. ३ को वडा अध्यक्षमा स्वतन्त्रबाट कृष्ण लामा र वडा नं. ९ मा नेकपा माओवादी केन्द्रबाट च्योल्पा गुरुङ वडा अध्यक्षमा एकल उम्मेदारी परेको छ । सोही वडामा अनिल गुरुङ, धनबहादुर गुरुङ, महिला सदस्यमा रिया गुरुङ र दलित महिला सदस्यमा सुष्मिता सेन्चुरी स्वतन्त्रबाट निर्विरोध भएका छन् ।

प्रतिक्रिया दिनुहोस्