सूर्यनाथलाई हेमबहादुर मल्ल सम्मान



काठमाडौं, (नेस)

वि.सं. २०७६ सालको हेम बहादुर मल्ल सम्मान अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त सूर्यनाथ उपाध्यायलाई प्रदान गरिएको छ ।

साल्ट ट्रेडिङ कर्पोरेसन र नेपाल जन–प्रशासन संघले संयुक्त रूपमा राष्ट्रपति भवनमा आयोजना गरेको समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले उपाध्यायलाई उक्त सम्मानबाट सम्मानित गर्नुभएको हो ।

समारोहमा उपाध्यायले राज्यको उच्च ओहदामा रही सार्वजनिक सेवा प्रवाह र व्यवस्थापनका क्षेत्रमा राष्ट्रको छवि उच्च राख्न सफल भएको, नेतृत्व क्षमता प्रदर्शन गरेको र अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालीको पहिचान निर्माण गरेको जस्ता उल्लेखनीय योगदान पु¥याएकोमा कदरस्वरूप यो सम्मान प्रदान गरिएको बताइयो ।

दुई लाख रुपियाँ राशिको यो सम्मान छनौटका लागि पूर्वमन्त्री माधव पौडेलको संयोजकत्वमा नेपाल जनप्रशासन संघका अध्यक्ष कृष्णहरि बाँस्कोटा, साल्ट ट्रेडिङ कर्पाेरेसन लिमिटेडका तत्कालीन अध्यक्ष लक्ष्मीदास मानन्धर, पूर्व सचिव पुण्य प्रसाद न्यौपाने र पूर्व सचिव जीवन प्रभा लामा सदस्य रहनुभएको थियो ।

हेम बहादुर मल्ल सम्मानबाट यसअघि प्रा. केदारभक्त माथेमा, डा. भगवान कोइराला, डा. विमल कोइराला, महावीर पुनलगायत सम्मानित भइसक्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्