आजबाट मत्रपत्र ढुवानी शुरू 

पहिलो चरणमा कर्णाली प्रदेश



काठमाडौं । 

निर्वाचन आयोगले आज मंगलबारबाट मतपत्र ढुवानी शुरू गर्ने जनाएको छ । आयोगले पहिलो चरणमा कर्णाली प्रदेशका लागि मतपत्र ढुवानी गर्न लागेको हो । नेपाली सेनाको सुरक्षा घेरामा जिल्लास्थित निर्वाचन केन्द्रमा पुग्ने गरी मतपत्र ढुवानी गर्न लागेको हो । गएको चैत १६ गतेबाट मतपत्र छपाइ शुरू भएको थियो ।

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको सुरक्षण मद्रणालयमा छपाइ भइरहेको मतपत्र त्यहींबाट ढुवानी हुन लागेको हो । आयोगले कर्णाली प्रदेशमा हेलिकोप्टरबाट ढुवानी गर्नेछ । उपत्यकासहित १० जिल्लाको मतपत्र छपाइ गर्न बाँकी रहेको अवस्थामा आयोगले छपाइ सकिएका जिल्लामा मत्रपत्र ढुवानी शुरू गरेको हो ।

आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरेपछि मात्र भक्तपुर महानगर ४ र ६ को मतपत्र छपाइ शुरू गर्ने जनाएको छ । ती स्थानीय निकायको मतदाता धेरै भएका कारण मतपत्र छपाइ गर्न केही समय लाग्ने भएको छ । आयोगले १७ गतेबाट ती स्थानीय तहको मतपत्र छपाइ गर्ने व्यवस्था गर्न लागेको हो ।

जनक शिक्षाले २० गतेभित्र भक्तपुर ४ र ६ महानगरपालिकाको मतपत्र छपाइ सम्पन्न गर्ने जनाएको छ । सो विषयमा हिजो सोमबार आयोगका अधिकारी र केन्द्रका कर्मचारीबीच छलफल भएको थियो ।यसैबीच, स्थानीय तह निर्वाचनका लागि आवश्यक पर्ने मतपत्रको ८० प्रतिशत छपाइ सकिएको छ । निर्वाचन आयोगले सोमबार पत्रकार सम्मेलन आयोजना गरी ८० प्रतिशत मतपत्र छपाइ सकिएको जानकारी दिएको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सोमबारसम्म ६३ जिल्लाका लागि १ करोड ५४ लाख ८३ हजार (करिब ८० प्रतिशत) मतपत्रको छपाइ सकिएको र बाँकी जिल्लाको मतपत्र छाप्ने क्रम जारी रहेको बताउनुभयो । स्थानीय तह निर्वाचनका लागि १ करोड ९४ लाख मतपत्र आवश्यक पर्ने आयोगको अनुमान छ ।

आयोगले मंगलबारबाट मतपत्र ढुवानी शुरू गर्ने तयारी भइरहेको जानकारी पनि दिएको छ । आयोगले ७७ वटै जिल्लामा निर्वाचन सामग्री पठाउने क्रम पूरा गरेको छ । दुर्गमका जिल्लाका लागि शुरूमा मतपत्र छापिएको थियो । त्यसपछि क्रमशः सुगमका जिल्लाका लागि मतपत्र छपाइ भइरहेको आयोगले जनाएको छ । मतपत्र ढुवानीका लागि आवश्यक परेमा हेलिकोप्टर पनि प्रयोग गर्ने आयोगको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्