१० औँ कृषि मेलाको तयारी पुरा



बुटवल ।

बुटवल उद्योग वाणिज्य संघको आयोजनामा हुन लागेको कृषि मेला–२०७८ को तयारी पुरा भएको छ । संघ र लुम्बिनी प्रदेशको कृषि खाद्य, प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयको संयुक्त आयोजनामा यही चैतको १० देखि १४ गतेसम्म बुटवलमा सञ्चालन गर्न लागिएको मेलाको तयारी पुरा भएको मंगलबार बुटवलमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो ।

‘बजारमुखि कृषिको आधार, समुन्नत नेपालको पूर्वाधार’ भन्ने नारासहित सञ्चालन गर्न लागिएको मेलाको बिहीबार लुम्बिनी प्रदेशका प्रदेशका प्रमुख अमिक शेरचनले उद्घाटन गर्नुहुनेछ । संघले सञ्चालन गर्न लागेको यो दसौँ संस्करणको कृषि मेला हो । २०१० सालमा स्थापना भएको बुटवल उद्योग वाणिज्य संघले २०४१ सालमा काठमाडौं उपत्यका बाहिर पहिलो पटक बुटवलमा औद्योगिक व्यापार मेला गरेको थियो भने २०६२ सालदेखि विशिष्टीकृत कृषि मेलाको सुरुवात गरेको थियो ।

नेपालको कुल जनसङ्ख्याको ६६ प्रतिशत कृषि पेसामा आश्रित भएपनि कुल ग्राहस्थ उत्पादनमा कृषिको योगदान ३६ प्रतिशत मात्रै रहेको बताउँदै पत्रकार सम्मेलनमा संघका अध्यक्ष तथा कृषि मेला कार्यसम्पादन समितिका संयोजक उज्ज्वलप्रसाद कसजूले कृषिमा व्यावसायिक विकास गरी कुल ग्राहस्थ उत्पादनमा कृषिको योगदान बढाउन विशिष्टीकृत कृषि मेला आयोजना गरिएको बताउनु भयो । रोजगारीमा समेत कृषि क्षेत्रको उल्लेखनीय योगदान भएपनि उत्पादन एवं उत्पादकत्व ज्यादै न्यून रहेको उहाँको भनाई छ ।

पछिल्लो समयमा कृषिजन्य उत्पादनको आयातमा समेत अबौं बाहिरिरहेको छ । कृषि क्षेत्रमा रहेको सम्भावनाहरूलाई उजागर गर्न, थप लगानी भित्र्याउन तथा कृषिमा आधुनिकीकरण र प्रतिस्पर्धात्मक क्षमता बढाउनको लागि पनि कृषि मेला फलदायी हुने विश्वास गरिएको छ ।

पत्रकार सम्मेलनमा लुम्बिनी प्रदेश कृषि खाद्य, प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयका उपसचिव घनश्याम चौधरीले कृषिको व्यावसायिक विकास र प्रवर्द्धनको लागि बुटवल उद्योग वाणिज्य संघले गरेको कार्य स्रहानीय रहेको बताउनु भयो । उहाँले कृषिको व्यावसायिक विकास गरी कृषिजन्य आयात प्रतिस्थापन गर्न सकियो भने मात्रै देश समृद्धिको यात्रामा अगाडि बढ्ने भनाई राख्नुभयो ।

प्रतिक्रिया दिनुहोस्