पत्रकारलाई स्वास्थ्य उपचार कार्ड



न्युज अफ नेपाल, हेटौंडा ।

प्रेस सेन्टर मकवानपुरले जिल्लाका ज्येष्ठ पत्रकार र पत्रकार महिलालाई शनिबार हेटौंडामा स्वास्थ्य उपचार सुबिधा कार्ड वितरण गरेको छ ।
प्रेस सेन्टर नेपाल केन्द्रीय अध्यक्ष जुगल सापकोटा, न्यूनतम् पारिश्रमिक निर्धारण समिति अध्यक्ष संगीता खड्काले नेपाल पत्रकार महासंघ वागमती प्रदेश संस्थापक अध्यक्ष प्रताप बिष्टलाई कार्ड वितरण गरेर शुभारम्भ गर्नुभयो ।

कार्यक्रमका प्रमुख अतिथि प्रेस सेन्टर नेपाल केन्द्रीय अध्यक्ष सापकोटाले प्रेस सेन्टर मकवानपुरले उदाहरणीय काम गरेको भन्दै देशभरका पत्रकार संघ-संगठनले यसको सिको गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रमअघि वागमती पोलिक्निक प्रालि हेटौंडा र प्रेस सेन्टर मकवानपुरबीचको स्वास्थ्य उपचार सम्बन्धि सम्झौतापत्र हस्तान्तरण गरिएको थियो ।

प्रेस सेन्टर मकवानपुर अध्यक्ष अञ्जली थापाको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य सुनिल खड्का, समाजवादी प्रेस संगठन केन्द्रीय उपमहासचिव रामकुमार एलन, अग्रज पत्रकार कमलचन्द्र सुमन, प्रेस युनियन मकवानपुरकी सृजना नेपाल, सञ्चारिका समूह मकवानपुर अध्यक्ष सम्झना रिजाललगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ वागमती प्रदेश उपाध्यक्ष सम्झना कार्की, महासचिव कृष्ण सारुमगर, मकवानपुर सचिव शुभलक्ष्मी बिश्वकर्मा, प्रेस सेन्टर प्रदेश वरिष्ठ उपाध्यक्ष नानीमैया बिष्ट, प्रदेश सदस्य राजु शाश्वत, मीना श्रेष्ठ, प्रेस युनियन मकवानपुर अध्यक्ष कुमार अधिकारी, अग्रज पत्रकार सुवर्णलाल श्रेष्ठ, दीपक अधिकारीलगायतको आतिथ्यता थियो ।

प्रतिक्रिया दिनुहोस्