विराटनगरमा उम्मेदवारी दर्ता सुरु



मोरङ ।

विराटनगरमा महानगरपालिकाका विभिन्न वडाका अध्यक्ष तथा सदस्यमा उम्मेदवारी मनोनयन दर्ता सुरु भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय विराटनगरमा महानगरपालिका–१० को वडाध्यक्ष पदका लागि माधवराज वाग्लेले स्वतन्त्र उम्मेदवारका रुपमा पहिलो उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको हो । उहाँ विसं २०७४ को स्थानीय तहको निर्वाचनमा पनि स्वतन्त्रबाट सो वडाका अध्यक्षमा विजयी हुनुभएको थियो ।

यसैगरी विराटनगर महानगरपालिका–१० को सदस्य पदका लागि स्वतन्त्र रुपमा दुई जनाले उम्मेदवार मनोनयन दर्ता गराउनुभएको कार्यालयले जनाएको छ ।

यसैगरी विभिन्न वडामा उम्मेदवारी मनोनयन गराउने क्रम जारी छ । उम्मेदवारी दर्ताका लागि धरौटीबापत महानगरपालिकाका प्रमुख र उपप्रमुख पदका लागि रु एक हजार ५००, वडाध्यक्षका लागि रु एक हजार र वडा सदस्यका लागि रु ५०० कायम गरिएको छ । दलित र महिलाका लागि भने ५० प्रतिशत छुट गरिएको कार्यालयले जनाएको छ । उम्मेदवारी दर्ताको क्रममा कुनै अप्रिय घटना हुन नदिनका लागि सुरक्षाको विशेष व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्