नेपालगन्जमा शाखा खोलेर सडक आश्रित मानवको उद्धार गर्दै मानव सेवा आश्रम



नेपालगन्ज ।

मानव सेवा आश्रम (मानवता प्रवर्द्धन महाअभियान) ले नेपालगन्ज शाखा विस्तार गरेर बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन, मानसिक तथा शारीरिक रूपमा कमजोर रहेका सडक आश्रित मानवहरूको उद्धार शुरु गरेको छ ।

मानव सेवा आश्रमको १९ औँ जिल्ला शाखाको रूपमा बाँके जिल्लाको नेपालगन्जमा शाखा विस्तार गरिएको केन्द्रीय सदस्य सृजना ओलीले बताइन् । संस्थाले कर्णाली प्रदेशको सुर्खेत, लुम्बिनी प्रदेशको दाङ र सुदूरपश्चिम प्रदेशको कैलालीमा शाखा विस्तार गरिरहेको भएपनि यी तिनै प्रदेशका शाखासँग समन्वय गर्ने र नेपालगन्ज आफैमा ठुलो सहर भएकोले यहाँका सडक मानवको व्यवस्थापनका लागि नेपालगन्जमा शाखाको महसुस भएपछि नयाँ वर्षको अवसर पारेर शाखा विस्तार भएको हो ।

बर्दिया जिल्लाको गुलरिया नगरपालिकाको सडकमा बेवारिसे जीवनयापन गरिरहनुभएको एक ६९ वर्षीय महिलाको उद्धार गरी शाखाको सुरुवात भयो । हेटौंडा उपमहानगरपालिकाबाट सुरुवात भएको संस्थाको हाल १८ जिल्ला शाखा सञ्चालनमा छन् जसमा करिब १५०० जना विभिन्न उमेर समूहका सडक पेटी एवं सार्वजनिक स्थलहरूमा रहन बाध्य भएका व्यक्तिहरुको उद्धार गरेर संरक्षण गरेको छ । संस्थाले वि.स २०८२ सालसम्म देशलाई सहयोगापेक्षी सडक आश्रित मानवमुक्त बनाउने लक्ष्य लिएको छ ।

प्रतिक्रिया दिनुहोस्