निर्वाचनमा आचारसंहिता पालना गर्ने प्रतिबद्धता



बैतडी  । 

वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा बैतडीका राजनीतिक दलहरूले आचारसंहिताको पूर्ण पालना गर्ने प्रतिबद्धता जनाएका छन् । जिल्ला प्रशासन कार्यालयको आयोजनामा बुधबार सम्पन्न निर्वाचन आचारसंहिता कार्यान्वयन विषयको अन्तक्र्रिया कार्यक्रममा सहभागी राजनीतिक दलहरूले आचारसंहिता पूर्णरूपमा पालना गर्ने प्रतिबद्धता जनाएका हुन् ।

छलफलमा नेपाली कांग्रेसका जिल्ला सचिव देवराज जोशीले आचारसंहिता पालना गरिने बताउनुभयो । उहाँले भन्नुभयो– ‘आचारसंहिता पूर्णरूपमा पालना गर्न नेपाली कांग्रेस तयार छ, पालना भए÷नभएकाबारे अनुगमन हुन आवश्यक छ ।’ त्यस्तै, नेकपा एमालेका जिल्ला उपसचिव लोकेन्द्र भण्डारीले निर्वाचन ‘आचारसंहिता पालना गर्नका लागि निर्माण गरिएको हो’ भन्ने मनन गरी यसलाई कार्यान्वयन गर्ने बताउनुभएको थियो ।

नेकपा (एकीकृत समाजवादी) का जिल्ला अध्यक्ष महादेव भट्टले निर्वाचनलाई निष्पक्ष, स्वच्छ र धाँधलीरहित बनाउन निर्वाचन कार्यालय, प्रहरी प्रशासन र निर्वाचनमा खटिने कर्मचारीले पनि निष्पक्ष भएर काम गर्नुपर्नेमा जोड दिनुभएको थियो ।कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले निर्वाचन स्वच्छ, धाँधलीरहित र शान्तिपूर्ण हुनेमा शंका नगर्न आग्रह गर्नुभएको थियो । ‘राजनीतिक दल स्वयंले निर्वाचन आचारसंहिता निर्माण गरेका हुन् । स्थानीय निर्वाचनलाई स्वच्छ, निष्पक्ष, धाँधलीरहित बनाउन दलकै मुख्य भूमिका हुन्छ ।’ –उहाँले भन्नुभयो ।

आचारसंहिता धेरै लामो छलफलपछि कार्यान्वयनमा आएको जनाउँदै यसमा भएका व्यवस्था सबैले पालना गर्नुपर्नेमा जिल्ला न्यायाधीश तिलकबहादुर कार्कीले जोड दिनुभएको थियो । उहाँ भन्नुहुन्छ– आचरसंहिता सबै पालना गर्नुपर्ने नै छ, यसमा सबैले सहयोग गर्नुपर्छ ।’
स्थानीय तहको निर्वाचनको लागि बैतडीमा १५ दलहरू दर्ता भएका छन् ।

प्रतिक्रिया दिनुहोस्