महिला गोल्डकपमा आर्मी सेमिफाइनलमा



धनगढी ।

कैलालीको धनगढीमा जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री बीवाईसी महिला गोल्डकप फुटबल प्रतियोगितामा विभागीय टोली नेपाल आर्मी क्लब सेमिफाईनल प्रवेश गरेको छ । धनगढी रंगशालामा आईतबार भएको खेलमा वागमती युवा क्लबलाई ७–० ले हराउँदै आर्मी अन्तिम चारमा पुगेको हो ।

अधिकांश समय बल आफ्नो कब्जामा राखेको आर्मीले पहिलो हाफमा चार गोल गर्यो भने दोस्रो हाफमा तीन गोल थप्यो । आर्मीका लागि पहिलो हाफको १७औं मिनेटमा इन्दिरा राई, २९औं मिनेटमा अमिषा कार्की र ३९ औं मिनेटमा दीपा शाहीले गोल गरिन् । पहिलो हाफको २८औं मिनेटमा आर्मी आत्मघाती गोल उपहार पायो । वागमतीकी सुस्मिता तामाङले आत्मघाती गोल गरिन् ।

दोस्रो हाफमा आर्मीले तीन गोल थप्दा कुसुम खतिवडाले दुई गोल गरिन् । उनले खेलको ४९औं र ६०औं मिनेटमा गोल गरिन्। दोस्रो गोल पेनाल्टी मार्फत भएको हो । त्यस्तै, व्यक्तिगत दोस्रो गोल गर्ने क्रममा आर्मीकी अमिषा कार्कीले खेलको ९०औं मिनेटमा गोल थपिन् । नेपाल आर्मी क्लबले सेमिफाइनलमा नेपाल एपीएफ क्लब र विराटनगर महानगरपालिका बीचको विजेतासँग खेल्नेछ ।

वनदेवी युवा क्लबको आयोजनमा भइरहेको प्रतियोगिताअन्तर्गत शनिबार भएको उद्घाटन खेलमा जित हात पार्दै विभागीय टिम नेपाल पुलिस क्लब सेमिफाइनल पुगिसकेको छ । समँह ‘ए’ मा रहेको पुलिसले सेमिफाइनलमा आयोजक वनदेवी युवा क्लब र कालिका स्पोर्टस् एकेडेमी चितवनको विजेतासँग खेल्नेछ ।सोमबार विभागीय टिम नेपाल एपीएफ क्लब र विराटनगर महानगरपालिका प्रतिस्पर्धा गर्नेछन् । खेल निःशुल्क रूपमा हेर्न पाइनेछ ।

वैशाख १० गतेसम्म सञ्चालन हुने गोल्डकपमा ३ विभागीयसहित ८ टिमको सहभागिता रहेको छ । गोल्डकपको विजयी टिमले ट्रफीसहित नगद ५ लाख र उपविजेताले ट्रफीसहित २ लाख ५० हजार रुपैयाँ पुरस्कार राशि प्राप्त गर्नेछ ।

प्रतियोगितामा ओम्यान अफ दी म्याचलाई ५ हजार, त्यस्तै, विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई १० हजार र प्रतियोगिता भरी उत्कृष्ट हुने खेलाडीले नगद ५० हजार रुपैयाँ प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष सुशन जोशीले बताए । धनगढीमा दिउँसो अत्यधिक गर्मी हुने भएकोले पहिलोपटक रात्रिकालीन प्रतियोगिता आयोजना गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्