६ महानगरपालिकाको मतपत्र अन्तिममा छापिने

झण्डै ५० जिल्लाका ९० लाख मतपत्र छपाइ सकियो



काठमाडौं ।

निर्वाचन आयोगले ६ वटा महानगरपालिकाको मतपत्र अन्तिममा छपाइ गर्ने भएको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको सुरक्षण मुद्रणालयमा छपाइ भइरहेका मतपत्रमध्ये धेरै उम्मेदवार भएको ६ महानगरमा वैशाखको दोस्रो साताबाट मतपत्र छपाइ हुने भएको हो ।

काठमाडौं, पोखराको लेखनाथ, ललितपुर, भरतपुर, वीरजंग र विराटनगर महानगरपालिकाको मतपत्र छपाइ शुरू भएको छैन । जनसंख्या बढी भएका ती महानगरपालिकाहरूको उम्मेदवार मनोनयनपछि मात्र मतपत्र छपाइ गर्ने तयारी निर्वाचन आयोगको छ । आयोगले मतपत्रको डिजाइन गरेपछि मात्रै जनक शिक्षालाई छपाइ अनुमति दिने गरेको छ । सोही आधारमा पछिल्लो समय मधेश प्रदेशको मतपत्र छपाइ शुरु भइरहेको छ ।

आयोगको प्रक्षेपणअनुसार वैशाख २० गते अघि नै मतपत्र छपाइ सकेर महानगरपालिकाहरूको लागि ढुवानी शुरू हुनेछ । पहाडी तथा हिमाली जिल्ला समेटिएको सबै प्रदेशको मतपत्र छपाइ भइसकेको छ । स्रोतका अनुसार सुदूरपश्चिम, मध्यपश्चिम, गण्डकी, लुम्बिनी, प्रदेश १ र वागमती प्रदेशका अधिकांश जिल्लाको मतपत्र छपाइ भइसकेको छ ।

हाल मधेश प्रदेशको केही जिल्लाको मतपत्र छपाइ भइरहेको स्रोतले जनाएको छ । पहिलो चरणमा कर्णाली प्रदेशका १० जिल्लाको मतपत्र छपाइ सकेको थियो । तथ्याङकअनुसार हालसम्म करिब ५० जिल्लाको मतपत्र छपाइ पूरा भइसकेको छ । आयोगले १५ गतेसम्म सबै जिल्लाको मतपत्र छपाइ पूरा गरी ६ महानगरपालिकाको मतपत्र छपाइ शुरू गर्ने छ ।

सरकारआबद्ध पाँच दलीय गठबन्धनले स्थानीय तहको चुनाव रोक्नसक्ने आशंका बढिरहेका बेला आयोगले भने मतपत्र छपाइलाई तीव्रता दिएको छ । आयोगका अधिकारी दैनिकजसो जनक शिक्षाको प्रेस अवलोकन गर्ने र तोकिएको संख्या छपाइ गर्न दबाब दिने गरेका छन् ।आइतबार जनकपुरमा आयोजित कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन सरे मुलुक ठूलो दुर्घटनामा पर्ने बताउनुभएको थियो ।

केन्द्रका ७ वटा मेसिनले दैनिक ७ लाख थानका दरले मतपत्र छपाइ गरिसकेको जनाइएको छ । सबै प्रेस २४ घण्टासम्म सञ्चालन गर्नुपर्ने भइरहेको छ । जनक शिक्षाले मतपत्र छपाइसँगै परर्फेटिङ, नम्बरिङसहित प्याकिङलगायत मुख्य काम सम्पन्न गरी स्टोरमा राख्ने व्यवस्था गरेको छ । आयोगले वैशाख १५ बाट मतपत्र ढुवानी शुरू गर्नेछ । मतपत्र छपाइको सुरक्षा व्यवस्थादेखि प्याकिङसम्मको जिम्मेवारी नेपाली सेनालाई दिएको छ ।

वैशाख ३० गते हुने निर्वाचनका लागि आयोगले अवस्था विश्लेषण गरी वैशाखको दोस्रो साताबाट कम मतदाता भएका जिल्लामा मतपत्र पठाउने तयारी गरेको छ ।छपाइमा खटिने कर्मचारीलाई १२ घण्टासम्म बाहिर निस्कनसमेत दिइने छैन । केन्द्रका १ सय ७५ कर्मचारी मतपत्र छपाइमा संलग्न छन् । आयोगले २३ लहरका ७७ प्रकारका मतपत्र छपाइ गर्नेछ । डोल्पाको सबैभन्दा कम १६ लहरको मतपत्र हुनेछ भने काठमाडौंको सबैभन्दा बढी ५६ लहरको हुनेछ ।

आयोगले जनक शिक्षालाई वैशाख २० गतेभित्र १ करोड ९४ लाख मतपत्र छपाइ र प्याकिङ गर्न स्वीकृति दिएको थियो । जनक शिक्षाले मतदान केन्द्रअनुसार फरकफरक प्याकिङ गरी प्लास्टिकको झोलामा राख्ने व्यवस्था गरेको छ । आयोगले सबै मतदान केन्द्रका लागि मतपत्र जनकशिक्षा सामाग्रीबाटै ढुवानी गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्