सिन्धुपाल्चोक नगरपालिका–८ र ९का स्कुले बालबालिकालाई लत्ताकपडा तथा खाद्यान्न वितरण



काठमाडाैं ।

नेपाल भाषाको माध्यमबाट पढाई हुने काठमाडौंको पहिलो विद्यालय जगतसुन्दर ब्वनेकुथी माध्यामिक विद्यालय र जापानको हिराकाता खातोनो ईन्टरनेसनल भोलिन्टियर्स एसोसियसन (हिकेबा नेपाल)ले शनिबार बाढी पीडित सिन्धुपाल्चोक, बाह्रबिसेका बालबालिका र उनीहरुका अभिभावकहरुलाई लत्ताकपडा सहयोगस्वरुप वितरण गरेको छ ।

राजुमान महर्जनको संयोजकत्वमा सिन्धुपाल्चोक नगरपालिका–८, जम्बुस्थित सेतीदेवी पञ्चकन्या आधारभूत विद्यालयमा पढ्ने बालबालिका र उनीहरुका अभिभावकहरुलाई सहयोग सामग्री वितरण गरिएको हो । दुई वर्षअघि २०७७ सालको असारमा अरनिको राजमार्गअन्तर्गतको जम्बु बजार क्षेत्रमा भिषण वर्षाको कारण आएको बाढी र पहिरोमा ठूलो जनधनको क्षति भएको थियो । जसको कारण अहिले पनि उक्त क्षेत्रका बासिन्दाहरु कष्टकर जीवन विताउन बाध्य छन् ।

सहयोग सामग्री वितरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्षले सहयोगका लागि आभार प्रकट गर्दै हेर्दा सानो देखिने सहयोगले पनि पीडितहरुका लागि ठूलो राहत पुग्ने बताउनुभयो । कार्यक्रममा जगतसुन्दर ब्वनेकुथीका प्रधानअध्यापिका सुनिता मानन्धरले भन्नुभयोर्–सहयोग काठमाडौंबासीलाई बढी भएर दिएको नभई आपत्तको बेलामा बाँडीचुँडी सकेको सहयोग गरौं भन्ने भावनाले गरिएको हो ।’ हिकिबाका अध्यक्ष निराज महर्जनले यो नै अन्तिम सहयोग नभएको जिकिर गर्दै पछिपछि पनि सहयोग जारी राखिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उक्त विद्यालयमा २ सय ५० घरधुरीका ६५ बालबालिका अध्ययनरत् छन् । शनिबार उक्त विद्यालयमा पुगेको टोलीले लत्ताकपडाका साथै बालबालिकालाई बिस्कुट, चाउचाउलगायतका खाद्य सामग्री पनि वितरण गरेको थियो । जगत सुन्दर ब्वनेकुथीका प्रधानअध्यापिका सुनिता मानन्धरको संयोजकत्वमा विद्यालयले विद्यालयमा अध्ययनरत् विद्यार्थीहरुका अभिभावकका साथै काठमाडौंका बासिन्दाहरुबाट उनीहरुको खेर गइरहेको तर पुनः प्रयोग गर्न मिल्ने लत्ताकपडाहरु संकलन गरेको थियो भने हिकिबा नेपालले बालबालिकाका लागि बिस्कुट, चकलेट, चाउचाउ, फलफूललगायतको व्यवस्था गरेको थियो ।

सोही दिन उक्त टोलीले बाह्रबिसे नगरपालिका–९ स्थित सिन्धु बहिरा आधारभूत विद्यालयका विद्यार्थीहरुलाई पनि बिस्कुट, चकलेट, चाउचाउ, फलफूल वितरण गरेको थियो । उक्त विद्यालयमा नेपालगञ्ज, काठमाडौं, सिन्धुपाल्चोक र सोलुखुम्बुका गरी २८ बहिरा विद्यार्थीहरु अध्ययनरत् छन् ।

प्रतिक्रिया दिनुहोस्