काभ्रेः हल्ला बढी उपलब्धि न्यून



काभ्रेपलाञ्चोक जिल्लामा २०७८ सालमा विविध घटनाहरू भए । विश्वभर फैलिएको कोभिड महामारीका कारण जिल्लामा अक्सिजनको अभाव, समुदाय स्तरमा संक्रमण, अस्पतालमा श्ययाको अभाव हुन पुग्यो । शुरूमा कोभिड विरुद्धको खोप नागरिकलाई उपलब्ध गराउन हम्मेहम्मे भयो । वर्षको अन्त्यतिर खोप लगाउने मान्छे खोजेर पनि पाउन सकिएन ।

‘बालिका बलात्कार तथा हत्या, लागुऔषध प्रयोग तथा ओसार पसार, व्यक्ति हत्या, चोरी, लुटपाटजस्ता अपराध भएका छन्’– प्रहरी प्रमुख एसपी चक्रराज जोशीले भन्नुभयो–‘जबर्जस्ती करणीका घटनाको संख्या थपिएका छन् । त्योभन्दा धेरै आत्महत्याका घटना भएका छन् ।’ ८ वर्षिया बालिकादेखि ७६ वर्षीय जेष्ठ नागरिकले समेत आत्महत्या गरेका छन् । आत्महत्या न्यूनीकरणका प्रयास भए पनि शिक्षित वर्गबाटै आत्महत्या भएका छन् । महिला हिंसाका घटनामा पनि बढोत्तरी भएका छन् । हिंसाकै कारण महिलाहरू आत्महत्यामा उन्मुख भएका घटना दर्ता भएका छन् । आत्महत्या दुरुत्साहनमा दर्ता भएका केही मुद्दामा अभियुक्तले सफाइ पाएका छन् भने केहीमा पुर्पक्ष गएका छन् । श्रीमानले श्रीमती र बच्चालाई घरभित्रै मारेर तीन दिनपछि पक्राउ परेका घटना पनि दर्ता भएका छन् ।

जिल्ला अदालत काभ्रेपलाञ्चोकका श्रेस्तेदार गोविन्द घिमिरेले अदालतमा मुद्दा दर्ताको संख्या बढेको बताउनुभयो । एक वर्षको अवधिमा काभ्रेपलाञ्चोक जिल्लामा झण्डै १ हजार ५ सय थान मुद्दा दर्ता भएका छन् । धेरै मुद्दा सम्बन्ध विच्छेदका छन् । सम्बन्ध विच्छेदका मुद्दा वर्षमा ४ सय वटाभन्दा धेरै छन् । यो वर्ष उक्त संख्या बढेर ६ सय पुगेको छ । दोश्रोमा जबर्जस्ती करणीका मुद्दा दर्ता भएका छन् । करणी र उद्योगमा दर्ता भएका मुद्दाहरूको संख्या धेरै छ । तेश्रोमा अंशबण्डासम्बन्धी मुद्दाका कारण अदालतमा चाप बढेको छ । अदालतले लक्ष्य अनुसार काम गर्न प्रयास गरे पनि कोभिड महामारी तथा जनशक्ति अभावले सम्भव नभएको श्रेस्तेदार घिमिरेले बताउनुभयो ।

कोभिडका कारण दोश्रो चरणको संक्रमणमा जस्तो तेस्रो चरणमा कसैले पनि ज्यान गुमाउनु परेन । खोपको प्रभावका कारण नागरिकहरूमा आएको सचेतना र सुरक्षित उपायका कारण संक्रमण भए पनि संकट नपरेको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख वरिष्ठ स्वास्थ्य प्रशासक डा. पुरुषोतम सेढाइँले बताउनुभयो । कोभिडपछि करिब एक लाख बालबालिकाहरूलाई टाइफाइडविरुद्धको खोप शुरू गरिएको छ । कोभिडविरुद्धको अभियानमा सफलता मिल्दै गएको सेढाइँले बताउनुभयो । स्वास्थ्यप्रति नागरिकको सचेतनाका कारण धेरै रोगबाट जिल्लालाई बचाउन सक्ने उहाँको अनुभव छ ।यो वर्ष झुक्याएर नागरिकता लिनेहरूलाई प्रशासनले कडाइ गरेको छ । ‘विगतका वर्षहरूमा पनि नागरिकताका समस्या थिए होलान् तर योपटक कडाइ गरिएकाले धेरै कुरा खुलेको छ’– सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवारले बताउनुभयो– ‘नक्कली विवरण पेस गरी नागरिकता लिनेहरू धमाधम पक्राउ परेका छन् ।’

प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जिल्लाको शान्ति सुरक्षा कायम राख्दै नागरिकहरूलाई सहज सेवा प्रदान गर्न हरेक कार्यलयमा सूचना अधिकारीलाई अझै व्यवस्थित गराउने अभियानका साथ जिल्ला सुधारका लागि रोडम्याप सार्वजनिक गर्नुभएको छ । उहाँ जिल्लामा पहिलो महिला प्रमुख जिल्ला अधिकारीका रूपमा कार्यरत हुनुहुन्छ । तालिका बनाएर शुरू गरिएका धेरै योजनाहरू पूरा भएको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताउनुभयो । नागरिकता वितरणमा सहज तथा सही व्यक्तिलाई उपलब्ध गराउने अभियान त्यही सुधारको पहिलो एजेन्डा थियो ।स्थानीय तहको निर्वाचन घोषणा भएकाले राजनीति दलहरूले शक्ति प्रर्दशन गरिरहेका छन् । उम्मेदवार छनोट तथा दल अदल भएका छन् । जनप्रतिनिधिहरूले नै पार्टी परिवर्तन गर्ने क्रम २०७८ मा भयो । नेकपा एमाले फुटेर नेकपा एस भएकाले सांसदहरू अलग भए । नगर प्रमुख अलग भए । केही वडाध्यक्षहरू पनि अलग भए । तर, एमालेले माओवादी र राप्रपाबाट निर्वाचित जनप्रतिनिधि प्रवेश गरायो ।

कांग्रेसले पनि एमालेबाट निर्वाचित वडा अध्यक्षलाई पार्टी प्रवेश गरायो । स्थानीय तहको निर्वाचनमा ३० दल र ३ लाख ३ हजार ५ सय ६० मतदाताले भाग लिँदै छन् । यही वर्ष जनगणनासमेत भएकाले जनगणनामा बसाईं सराइ धेरै भएको, व्यक्ति शहरमा बस्ने गरेको तथ्याङ्क सार्वजनिक भएको छ । जन्म दर घटेकाले जिल्लाको जनसंख्या १५ हजार ८ सय ५८ ले घटेको छ । जिल्लाको कुल जनसंख्या ३ लाख ६६ हजार ८ सय ७९ रहेको छ ।

स्थानीय तहहरूले पाँच वर्षमा केही उपलब्धि हासिल गरेका छन् । केही बदनाम भएका छन् । धुलिखेल अन्र्तराष्ट्रियस्तरमा गरिबी न्यूनीकरण, कार्वन उत्र्सजन तथा दिगो विकास लक्ष्यका चारवटा मुख्य आधारभूत आवश्यकता पूरा गर्ने नगरका रूपमा घोषणा भएको छ भने बालमैत्री नगरका रूपमा समेत चिनिएको छ । अन्य केही पालिकाहरूमा सुधार देखिएको भए पनि उल्लेख्य काम देखिन सकेन । व्यापारिक नगरी बनेपामा १६ सय सिँढीले आन्तरिक र बाह्य धार्मिक पर्यटकहरूका लागि सहज बनायो । जिल्लामा संघ र प्रदेशसँगै स्थानीय सरकारले गौरवका आयोजना शुरू गरेका छन् । जिल्लालाई स्थल, सुरुङ्ग र जलमार्ग हुँदै विकासको यात्रालाई अघि बढाउन बजेट विनियोजन भएको छ ।

भूकम्पले थिलथिलो भएका घरहरूको पुनर्निर्माणका लागि विनियोजन भएको रकम अझै प्राप्त गर्न भूकम्प पीडितहरूले सकेका छैनन् । दुर्घटनामा केहीले ज्यान गुमाएका छन् । हत्या, आत्महत्या र दुर्घटनाका कारण ज्यान गुमाउनेहरूको संख्या पनि उल्लेख्य रह्यो ।

प्रतिक्रिया दिनुहोस्