शिक्षामा उपलब्धि



बिदा लिँदै गरेको २०७८ सालले शिक्षा क्षेत्रमा केही महत्वपूर्ण उपलब्धि हासिल गरेको छ । यस अवधिमा विद्यालय र विश्वविद्यालय तहका अधिकांश विद्यार्थीलाई कोभिडविरुद्धको खोप लगाइयो । महामारीको बेला जीवन रक्षाको यो कार्य उपलब्धिको शिखरमा आउँछ ।

भर्खरै १५ महिनाका बालबालिकादेखि १५ वर्षसम्मका विद्यार्थीलाई टाइफाइडको खोप लगाउन शुरू गरिएको छ । यस्ता करिब दुई दर्जन काम मन्त्रालयका उपलब्धि हुन् । शिक्षा मन्त्रालयअन्तर्गतको शिक्षा, तथा मानव स्रोत विकास केन्द्र, शिक्षक सेवा आयोग, पाठ्यक्रम विकास केन्द्र, चिकित्सा शिक्षा आयोग, राष्ट्रिय परीक्षा बोर्ड, विश्वविद्यालय अनुदान आयोगलगायतका निकायले विभिन्न काम गरेका छन् । एक  वर्षमा शिक्षा क्षेत्रमा भएका कामहरू फर्केर हेर्दा यसरी सूचीकृत गर्न सकिन्छः

·    राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयन गर्न चालु आर्थिक वर्ष २०७७-०७८ मा ६ हजार ३६ विद्यालयमा परियोजनाहरू सञ्चालन हुनेगरी ५ अर्ब ७ करोड ४१ लाख ५० हजार वित्तीय हस्तान्तरण गरिएको छ ।

·    राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को निर्णयबाट लामा समयदेखि कायम रहेको कक्षा ११ को पाठ्यक्रमको विवाद निराकरण भएको छ ।

·    चिकित्सा शिक्षालाई थप व्यवस्थित, प्रभावकारी एवं पहुँचयुक्त बनाउन चिकित्सा शिक्षा आयोगद्वारा चिकित्सा शिक्षाअन्तर्गत अध्ययन गर्न शुल्कनिर्धारण गरिएको छ । यसै गरी आयोगद्वारा पहिलोपटक चिकित्सा शिक्षामा स्नातकोत्तर अध्ययन गर्न चाहने नयाँ विद्यार्थी भर्नाका लागि प्रवेश परीक्षा सञ्चालन भई परिणाम प्रकाशन गरिएको छ ।

·     प्रारम्भिक बाल विकास शिक्षकको तलब १५ हजार गरिएको छ ।

·    संघीयस्वरूप अनुसार शैक्षिक संरचनाको परिवर्तित नाम तथा कोभिड–१९ र यस्तै प्रकृतिका महामारीको अवस्थालाई समेत सम्बोधन हुनेगरी शिक्षा नियमावली, २०५९ को नवौं संशोधन गरिएको छ । यसै संशोधनबमोजिम चालु शैक्षिक सत्रलाई २०७८ जेठ मसान्तसम्म कायम गरी नयाँ शैक्षिक सत्र २०७८ असार १ गतेबाट शुरू गरिएको छ ।

·    विदुषी योगमाया आयुर्वेद विश्वविद्यालय पूर्वाधार निर्माण विकास समिति गठन गरी कार्य अघि बढाइएको छ

·    खुद पुलमा रहेका दरबन्दीमध्ये ४ सय ५५ शिक्षक दरबन्दीलाई एक स्थानीय तहबाट अर्को स्थानीय तह र एक जिल्लाबाट अर्को जिल्लामा मिलान गरिएको छ ।

·    दिवाखाजाको परिकार (मेनु) सार्वजनिक गरिएको छ ।

·     कक्षा १० सम्मको पाठ्यपुस्तक रंगिन भएको छ ।

·  नेपाल विश्व विद्यालय पूर्वाधार विकास समिति गठन गरिएको छ ।

·   चितवनको भरतपुरमा शिक्षक अस्पताल निर्माण कार्य सुरुआत भएको छ ।

·  राष्ट्रिय पुस्तकालय र केन्द्रीय पुस्तकालय भवन निर्माण सुरुआत भएको । राष्ट्रिय पुस्तकालयको टेन्डर प्रक्रियामा सेटिङ भएको भन्दै सो टेन्डर रद्द गरिएको छ ।

·   मापदण्ड पूरा गरेका अस्पतालले नर्सिङ कार्यक्रममा भर्ना शुरू गरेका छन् ।

·    विदेशी विश्वविद्यालयमा चिकित्सा शास्त्र अध्ययन गरेका तर कोभिडको कारण फर्किन नपाएका विद्यार्थीको गुनासो सम्बोधन गरिएको छ । पीडित विद्यार्थीको तथ्याङ्क संकलन शुरू गरिएको छ ।

·  राष्ट्रिय परीक्षा बोर्डको अध्यक्ष र नेपाल खुला विश्वविद्यालयको कुल सचिव र सीटीइभीटीको सदस्य सचिवको पदपूर्ति गरिएको छ ।

·    शिक्षकका पेशागत मागका सम्बन्धमा शिक्षक महासंघसँग ५१ बुँदे सम्झौता भएको छ । यद्यपि, सम्झौता विवादित बनेको छ । संविधानसँग बाझिने विषयमा सम्झौता भएको भन्दै विवाद भएको हो ।

·   विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिई सञ्चालित शिक्षण संस्थाहरूको अनुगमन गर्ने कार्य शुरू भएको छ ।

· प्राविधिक शिक्षा तथा व्यावसायिक सीप विकास ऐन, संंघीय शिक्षा ऐन, स्वास्थ्य प्रतिष्ठान सञ्चालनसम्बन्धी एकीकृत ऐन, उच्च शिक्षा ऐन, राष्ट्रिय योग्यता ढाँचाको मस्यौदा तयार गरी स्वीकृतिको प्रक्रियामा अघि बढाइएको छ ।

·  राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत विद्यालय निर्माण र सिक्दै कमाउँदै कर्यक्रमको कार्यविधि स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको ।

·  दशवर्षे विद्यालय शिक्षा क्षेत्र (एसडीपी) योजना स्वीकृत गरिएको ।

·    शिक्षक सेवा आयोगमार्फत् १७ हजार शिक्षकको  स्थायी पदपूर्ति शुरू भएको ।

·     प्याब्सनको अध्यक्षमा डिके ढुंगाना, एन प्याब्सनको अध्यक्षमा पाण्डव हमाल ठकुरी र हिसानको अध्यक्षमा रमेश सिलवाल निर्वाचित भएका छन् ।

·    एसईईको परीक्षाफल प्रदेश स्तरमै गर्ने ।

· निजी मेडिकल कलेजले मनोमानी रूपमा शुल्क बढाएको विषयमा लामो समयसम्म विवाद भएकोमा  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले समस्या समाधान गर्न पहल गर्दासमेत समस्या समाधान हुन नसकेका घटना पनि छन्, जसलाई यस वर्षको असफलता भन्नुपर्छ ।

 

प्रतिक्रिया दिनुहोस्