उम्मेदवार छान्न दललाई सकस, नेताहरु दौडधूपमा



स्याङ्जा । 

२०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा स्याङ्जाका ११ पालिकामध्ये एमालेले ७ र कांग्रेसले ४ पालिकामा प्रमुख जितेका थिए ।
एमालेले फेदीखोला, आँधिखोला, बिरुवा, हरिनाश, पुतलीबजार, गल्याङ र कालीगण्डकी तथा कांग्रेसले अर्जुनचौपारी, भीरकोट, वालिङ र चापाकोटमा प्रमुख जितेको थियो ।

त्यति बेलाको परिस्थितिमा केही फेरबदल आएको छ । जस्तो कि, नेकपा एमाले नै विभाजित भएको छ । आगामी निर्वाचनमा कुन खालको गठबन्धन बन्छ वा बन्दैन र त्यसलाई मतदाताले कसरी लिन्छन्, नतिजा मूलतः त्यसैमा निर्भर गर्छ । स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा जिल्लामा क्रियाशील दलहरुले आफ्नो संगठन विस्तार र चुनावी गतिविधिलाई तीव्रता दिएका छन् । दलहरुले चुनाव केन्द्रित कार्यकर्ता भेला, प्रशिक्षण र भेटघाटलाई तीव्रता दिएसँगै जिल्लामा चुनावी सरगर्मी बढ्दै गएको छ ।

दलहरुका जिल्ला समिति, क्षेत्रीय समिति र पालिकास्तरीय समितिले चुनावी कार्यक्रमलाई केन्द्रित गर्न थालेपछि ठूला दलका स्थानीय नेताहरु पनि पालिकाप्रमुख र उपप्रमुख आफ्नो पक्षमा पार्न दौडधूपमा लागेका छन् । ठूला दलका स्थानीय नेताहरु ठूला नेतालाई आफ्नो पक्षमा पार्दै टिकट हात पर्ने दाउमा व्यस्त छन् । चुनावी वातावरण चर्केसँगै दलका कार्यकर्ताहरु चोकचोकमा र चियापसलमा समेत पालिकास्तरीय नेतृत्व गर्न सक्ने पात्रको अनुमान गर्न तल्लीन छन् । दल सम्बद्ध कार्यकर्ताहरु आफू पक्षीय दलको नेतृत्व हाबी हुने दाबी गर्छन् भने स्वतन्त्र अनुमान गर्नेहरु जनपक्षीय नेता नेतृत्वमा आउने अनुमान लगाउन पछि पर्दैनन् ।

जिल्लाका ११ पालिकामध्ये जिल्ला सदरमुकामको पुतलीबजार र सबैभन्दा बढी मतदाता संख्या रहेको वालिङ नगरपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेले उच्च महत्वका साथ उम्मेदवार छनोट प्रक्रियालाई मतसंख्याको जोड–घटाउसँगै बलियो उम्मेदवारको खोजीमा केन्द्रित भएको दल सम्बद्ध स्रोतले जनाएका छन् ।पुतलीबजारमा नेपाली कांग्रेसबाट बरिष्ठ कानुन व्यवसायी तथा कांग्रेस महासमिति सदस्य तुलसी गिरी, पूर्वकार्यवाहक सभापति बुद्धिबहादुर राना ‘कुमार’, पार्टी प्रवक्ता भरतप्रसाद लम्साल, इन्द्रबहादुर गोदार, तुलसीराम रेग्मीले प्रमुखमा दाबी गरेका छन् । त्यस्तै, उपप्रमुखमा महासमिति सदस्य देवी अर्याल, शक्तिचन्द्र अधिकारी, हीरादेवी शर्मा र तारा मल्लले नछोड्ने तयारीमा छन् ।

नेकपा एमालेबाट पुतलीबजार नगरपालिकामा वर्तमान नगरप्रमुख सीमा क्षत्री, महेश पुरी, दीपक लम्साल र भरत गोदारले आफ्नो दाबेदारी प्रस्तुत गरेका छन् भने उपप्रमुखमा तारा शर्मा, निर्मला लम्सालले आ–आफ्नो दाबीलाई जोडबल लगाएका छन् ।उता वालिङमा कांग्रेसबाट वर्तमान नगरप्रमुख दिलीपप्रताप खाँण, पूर्वनगर प्रमुख भोजराज अर्याल, कल्पना तिवारी, केदार काफ्ले र लक्ष्मीप्रसाद रेग्मीले आफ्नो दाबेदारीलाई बलियो बनाउँदै लगेका छन् भने वालिङकै नगर उपप्रमुखमा कविता तिवारी, पदम गुरुङ र वसन्त मल्ल कम्मर कसेर लागेका छन् । नेकपा एमालेबाट वालिङ नगर प्रमुखमा संविधानसभा सदस्यमा पराजित कृष्ण खाँण, गत निर्वाचनमा नगरप्रमुखमा पराजित पुण्यप्रसाद अर्याल, राजेन्द्र डुम्रे र शोभाकान्त पौडेल अगाडि सर्दा उपप्रमुखमा खगिसरा थापा एकलजस्तै हुँदा नेतृ मञ्जु केसी र अनुपमा ढुङ्गानाले हानथाप गरेका छन् ।

जिल्लाका ५ नगरपालिकामामध्ये गल्याङ्मा नेकपा एमालेबाट जिल्ला अध्यक्ष सूर्यप्रसाद गैह्रे ‘पारश’ र वर्तमान नगरप्रमुख भूपराज अधिकारीमध्ये एकले टिकट प्राप्त गर्ने सम्भावना देखिन्छ । कांग्रेसबाट नगरसभापति श्यामप्रसाद वश्याल, महाधिवेशन प्रतिनिधि श्रीप्रसाद श्रेष्ठ ‘महेन्द्र’, महेश भट्टराई र जिल्ला सचिव गुरुप्रसाद भट्टराई टिकट प्राप्त गर्ने दौडमा छन् । गल्याङ नगरपालिकाको नगर उपप्रमुखमा भने कांग्रेस पार्टीबाट महाधिबेशन प्रतिनिधि खगिसरा भण्डारी र नेतृ हेमा न्यौपाने अगाडि बढेका छन् भने एमालेबाट देवीसरा थापा, विष्णु भण्डारी र धनमाया विक अगाडि बढेको एमाले स्रोतले जनाएको छ ।

भीरकोट नगरपालिकामा नेपाली काँग्रेसबाट जिल्ला सदस्य तोयनाथ अर्याल, वर्तमान नगरप्रमुख छायाँराम खनाल, नगर उपप्रमुख सीमा कर्माचार्य केसी, नगर सभापति यामप्रसाद अधिकारी ‘लक्ष्मण’, गोविन्द कर्माचार्य, भक्तबहादुर केसी र दीपेन्द्र केसीले नगर प्रमुखमा आफ्नो उम्मेदवारी प्रस्तुत गर्दा एमालेबाट विश्वनाथ अर्याल, हर्क गुरुङ र सन्तोष केसी टिकट प्राप्त गर्ने दौडमा सामेल छन् ।त्यस्तै, भीरकोटको नगर उपप्रमुखमा कांग्रेसबाट इन्दिरा केसी, भगवती अर्याल, विष्णुमाया काफ्ले, चण्डिका अर्याल र सुनीता उच्चैको नाम चर्चामा रहे पनि सीमा कर्माचार्य उपप्रमुखमा दोहोरिने सम्भावना पनि उत्तिकै रहेको कांग्रेस वृत्तमा चर्चा छ भने एमालेबाट सरस्वती अधिकारी एकल रूपमा अघि सरेकी छन् । अधिकारी गत निर्वाचनमा उपप्रमुखमा पराजित उम्मेदवार समेत हुन् ।

कांग्रेसको संगठन बलियो मानिएको चापाकोट नगरपालिकामा कानुनव्यवसायी तथा बौद्धिक नेताका रूपमा परिचित रामबहादुर श्रेष्ठ, शिव गिरी, ईश्वर खाँण, महाधिवेशन प्रतिनिधि रामचन्द्र पंगेनी अगाडि बढ्दा गत निर्वाचनमा नेकपा एमालेबाट नगरप्रमुखमा पराजित डा. बुद्धिमान श्रेष्ठ, किशोरविक्रम मल्ल र राजु कोइराला अगाडि देखिन्छन् ।चापाकोट नगरपालिकाको प्रमुखमा कांग्रेसभित्र अन्तरघात हुने दाबी गर्दै स्रोतले रामबहादुर श्रेष्ठलाई प्रमुखमा टिकट दिँदा सन्तुलन मिल्ने दाबी गरेको छ । कांग्रेसका युवा नेता श्रेष्ठ स्थानीय युवाबीच लोकप्रिय मानिन्छन् । चापाकोटको नगर उपप्रमुखमा कांग्रेसबाट वर्तमान नगर उपप्रमुख विमला श्रेष्ठ, गायत्री आचार्य, ईशा राना, सिर्जना वस्ती, हिताचन्द र विमला काफ्ले आन्तरिक प्रतिस्पर्धामा सामेल हुँदा नेकपा एमालेबाट सरस्वती भट्टराई एकल उम्मेदवार जस्तै भए पनि उनलाई शान्ति आचार्यले असहज बनाउन तल्लीन छन् ।

जिल्लाका ६ गाउँपालिकामध्ये फेदीखोला गाउँपालिकामा भर्खर एमाले छोडेर कांग्रेस प्रवेश गरेका लक्ष्मी बराल कांग्रेसबाट अध्यक्षको उम्मेदवार बन्ने करिब पक्का छ । एमालेबाट भने वर्तमान गाउँपालिका अध्यक्ष घनश्याम सुवेदी बढ्ने निश्चित भएको एमाले स्रोतले जनाएको छ । फेदीखोलामा एमालेभित्र अन्तरघात हुने कांग्रेसले अनुमान लगाएको छ ।आँधीखोला गाउँपालिकामा एमालेबाट वर्तमान अध्यक्ष सुधिर पौडेल र विश्व पौडेलबीच प्रतिस्पर्धा बढ्दै जाँदा कांग्रेसबाट प्रेमराज पौडेल देखिएका छन् । गाउँपालिकाका उपाध्यक्ष शर्मिला पौडेल एमाले छाडेर समाजवादी पार्टी प्रवेश गरेपछि आँधीखोलामा एमालेलाई राजनीतिक क्षति हुने अनुमान गर्ने धेरै छन् ।

गाउँपालिकामध्येकै हरिनासमा एमालेबाट वर्तमान अध्यक्ष खिमबहादुर मानन्धर अगाडि देखिन्छन् भने कांग्रेसबाट टोपबहादुर भुजेल ‘टोपा’ र कृष्णबहादुर चन्द टिकट प्राप्त गर्ने दौडमा लागेका छन् । हरिनासमा गत निर्वाचनमा एमालेले कांग्रेसलाई झीनो मतान्तरले हराएको थियो ।कालीगण्डकी गाउँपालिकामा कांग्रेस र एमालेबीच कडा टक्कर हुँदै आएकोमा कांग्रेसबाट हुमनाथ पाण्डे ‘किसान’ र शेरबहादुर राना टिकट हत्याउने दाउमा छन् । एमालेबाट गाउँपालिकाका वर्तमान अध्यक्ष खिमबहादुर थापा र कृष्ण लामिछाने पनि आन्तरिक प्रतिस्पर्धामा छन् ।अघिल्लो निर्वाचनमा कांग्रेस र माओवादी मिल्दा समेत एमालेले चुनावी नतिजा चट्काएको बिरुवा गाउँपालिकामा कांग्रेसबाट सभापति डोलराज पोखरेल र युवराज केसी अगाडि बढ्दा एमालेबाट प्रकाश थापा र वर्तमान अध्यक्ष चुनप्रसाद शर्मामध्ये एक चुनावी प्रतिस्पर्धामा उत्रने स्रोतले जनाएको छ ।

उता, गत निर्वाचनमा अध्यक्षमात्रै कांग्रेसले जितेको गाउँपालिका अर्जुनचौपारीमा एमालेबाट मोहन अधिकारी, चीनमाया गुरुङ र चक्रबहादुर गुरुङ तथा कांग्रेसबाट गण्डकी प्रदेश सदस्य रामचन्द्र पौडेल, प्रकाश तिवारी, जनकराज खनाल, खेमराज खनाल र गाउँपालिका सभापति विष्णुप्रसाद काफ्ले प्रतिस्पर्धामा उत्रने निश्चित छ ।११ पालिका रहेको स्याङ्जामा कांग्रेस नेतृत्व गठबन्धनले अधिक स्थानको चुनावी नतिजा आफ्नो पोल्टामा पार्ने सम्बद्ध स्रोतले दाबी गरेको छ । गठबन्धनलाई लिएर जिल्लामा एमालेभित्र उम्मेदवार छनोटको विषय पेचिलो बन्दै गएको छ । अधिकांश पालिकामा गत निर्वाचनमा एमालेसँग कांग्रेस झीनो मतले पराजित भएको थियो ।एमाले विभाजित भएपछि हरेक स्थानीय तहमा सांगठनिक रूपमा कमजोर बनेको राजनीतिक विज्ञहरुको ठम्याइ छ ।

प्रतिक्रिया दिनुहोस्