पाँच दलीय गठबन्धन गर्न सत्ता साझेदार दल सहमत



पाल्पा ।

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पाल्पामा पाँच दलीय गठबन्धन हुने भएको छ । केन्दीय सरकारमा सहभागी रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा तथा जनता समाजवादी पार्टीले गठबन्धन गरी निर्वाचनमा सहभागी हुने भएका हुन् ।

बुधबार गठबन्धन दलहरुको संयन्त्रको बैठकले आगामी निर्वाचनमा जिल्लाका सबै स्थानीय तहमा चुनावी तालमेल गर्ने निर्णय भएको हो । बैठकले चुनावी तालमेलका सम्बन्धमा कांग्रेस सभापति हिमालदत्त श्रेष्ठको सयोजकत्वमा संयन्त्र निर्माण गरेको छ । जसको सदस्यमा नेकपा माओवादी केन्द्रका संयोजक नेत्रप्रसाद पाण्डे, एकीकृत समाजवादीका अध्यक्ष खिमानन्द पाण्डे, राष्ट्रिय जनमोर्चाका अध्यक्ष विशाल दर्लामी र जनता समाजवादीका मेयरमान राना रहेको संयन्त्रका संयोजक हिमालदत्त श्रेष्ठले बताउनुभयो ।

संयन्त्रले गठबन्धन दलहरुबीच आवश्यक छलफल, परामर्श गर्न हरेक दलबाट ३÷३ जना सहभागी हुने गरी एक कार्यदल गठन गर्ने निर्णय पनि गरेको जनाएको छ । निर्वाचनमा के–कसरी अघि बढ्ने भन्ने सम्बन्धमा आवश्यकताअनुसार नीति बनाई अघि बढ्ने कांग्रेस सभापति श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्