इलाममा केचना–कञ्चनजंघा पर्यटन महोत्सव शुरू



इलाम ।

मेची करिडोर क्षेत्र (इलाम, पाँचथर, ताप्लेजुङ र झापा) को पर्यटन प्रवर्धन गर्नेगरी इलाममा शुक्रबारबाट वैशाख २ गतेसम्म केचना–कञ्चनजंघा पर्यटन तथा चलचित्र महोत्सव सुरू भएको छ ।

आठ दिनसम्म चल्ने महोत्सवमा एक लाख पर्यटक भित्रयाउने लक्ष्यसहित केचना–कञ्चनजंघा पर्यटन विकास समितिले महोत्सवको आयोजना गरेको हो । लामो समयको कोरोना महामारीले देशको पर्यटन क्षेत्र निकै धराशायी भयो ।अर्थतन्त्रको खम्बा मानिएको पर्यटन क्षेत्र खस्केपछि अर्थतन्त्रमा प्रत्यक्ष असर पुग्यो । पर्यटकीय गन्तब्यहरू सुनसान बने । पूर्वकै उत्कृष्ट पर्यटकीय गन्तव्य इलाम पनि यसबाट अछुतो बनेन । तर, विस्तारै कोरोना महामारी हट्दै जान थालेपछि पर्यटन क्षेत्रमा फेरि आशा पलाएको छ ।

यसैक्रममा कोरोना महामारीले सुस्ताएको पर्यटन व्यवसाय उकास्न इलाम–झापा–पाँचथर र ताप्लेजुङ्ग जिल्लाको पर्यटन क्षेत्रलाई नै सघाउ पुग्नेगरी इलाममा महोत्सवको आयोजना गरेको आयोजक समितिका संयोजक केशव द्यौरालीले बताउनुभयो । चारै जिल्लाको कृषि, स्थानीय कला, संस्कृतिलगायतको प्रवर्धन गर्दै बजारीकरण गर्न महोत्सवले सघाउ पु-याउने उद्देश्य आयोजकले लिएको छ ।महोत्सवमा ५५ वटा स्टल रहेको छ । चारै जिल्लाको कृषि तथा दुग्धजन्य वस्तुको उत्पादन, स्थानीय स्तरमा रहेका सामाग्री तथा जातीय परिकारहरू स्टलमा राख्ने आयोजकले जनाएपनि आधा स्टल खालि छ भने खालि नभएका केही स्टलबाहेक धेरै स्टलमा मोबाइल, टयाक्टर, बैंकको बिज्ञापन भएका प्रचार सामग्री राखिएको छ ।

स्टलमा स्थानीय स्तरबाट उत्पादन भएका ढाका कपडा, सिताके च्याउ, विभिन्न प्रजातिका फूलहरू पनि राखिएको छ । स्टलमा ढाकाबाट बनेका कपडाहरूको बिक्री तथा प्रचारमा बस्नु भएका महिला उद्यमी समिता लिम्बूले इलाममा ढाकाको कपडाहरू धेरै उत्पादन भएपनि माग र बजार नहुँदा समस्या भइरहेको अवस्थामा यस महोत्सवले यसको प्रचारमा सघाउ पु¥याउने आशाले आफूले स्टलमा ढाकाबाट बनेका सामग्री राखेको बताउनुहुन्छ । महोत्सवमा देशका चर्चित कलाकारहरू सहभागी हुनेछन् ।

कलाकारको माध्यमबाट यो क्षेत्रको प्रचारप्रसारमा महोत्सवले सघाउ पु-याउने लक्ष्य आयोजकको छ । महोत्सवमा चलचित्र समेत जोडिएकाले यहाँ ५० बढी राष्ट्रिय स्तरको कलाकारको आगमन हुने नेपाल चलचित्रकर्मी संघ प्रदेश नम्बर १ का अध्यक्ष केवल तामाङले जानकारी दिनुभयो । इलाम महोत्सवमा आउने कलाकारहरू चारै जिल्लाका विभिन्न पर्यटकीय क्षेत्र पुग्ने र चलचित्र छायांकनस्थल पनि अवलोकन गर्नेछन् । चलचित्रका माध्यमबाट पर्यटन प्रवर्धनमा ज्यादै ठूलो सहयोग पुग्ने भएकाले महोत्सवमा चलचित्र पनि जोडेको आयोजकले जनाएको छ ।
३६ लाख रुपियाँ खर्च लाग्ने अनुमान गरीएको महोत्सवको उद्घाटन संविधान सभाका अध्यक्ष सुबासचन्द्र नेम्वाङ्गले गर्नुभएको थियो । उद्घाटनका क्रममा विभिन्न जातजातिका झाँकी प्रदर्शनी गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्