स्वास्थ्य प्रमाणपत्र नभए कुखुरा फिर्ता



हेटौंडा ।

छिमेकी तराईका जिल्लाहरूबाट हेटौंडा भित्र्याउने तयारी गरिएका कुखुराको स्वास्थ्य प्रमाणपत्रसहित आरडीटी परीक्षण रिपोर्ट नभए हेटौंडाको प्रवेशविन्दु रातमाटेबाट कुखुरा फिर्ता गरिने भएको छ ।

बर्डफ्लु नियन्त्रणका लागि प्रयास थालेको वागमती प्रदेश सरकारको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले हेटौंडा उपमहानगरपालिका–१५, रातोमाटेमा चेकपोस्ट स्थापना गरेर बर्डफ्लु नियन्त्रण सुरू गरेको हो ।

अस्थायी चेकपोस्टको प्रदेशका कृषि तथा पशुपक्षी विकास मन्त्री वसुन्धरा हुमागाईंले बिहीबार उद्घाटन गर्नुभयो । प्रदेशका केही जिल्लामा बर्डफ्लु देखिन थालेकाले यसको नियन्त्रणका लागि चेकमा कडाइ गरिएको उहाँले बताउनुभयो ।बर्डफ्लु धेरै जिल्लामा फैलिएकाले यसको नियन्त्रणका लागि अस्थायी चेकपोस्ट स्थापना गरेर काम सुरू गरिएको पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय हेटौंडाले जनाएको छ ।

कार्यक्रममा मन्त्रालयका प्रतिनिधि, पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय हेटौंडाका निर्देशक मुगलप्रसाद साह, मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद गैरे, सशस्त्र प्रहरी, नेपाल प्रहरी, मकवानपुर उद्योग वाणिज्य संघका प्रतिनिधि, कुखुरा व्यवसायी संघका प्रतिनिधिलगायतको सहभागिता थियो ।

माघ १६ गतेयता वागमती प्रदेशका ६ जिल्लामा देखापरेको बर्डफ्लु रोगको संक्रमणका कारण ५८ हजार २ सय ६१ पक्षी, २२ हजार ३४ वटा अण्डा र ११ हजार ४ सय ३९ किलो दाना नष्ट गरिएको छ ।प्रदेशको कृषि तथा पशुपंक्षी मन्त्रालयले प्रदेशमा बर्डफ्लुको अवस्थाका विषयमा जानकारी दिएको हो । वागमतीका काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर र सिन्धुपाल्चोकमा बर्डफ्लु फेला परेको छ । मन्त्रालयका प्रवक्ता झलकनाथ कँडेलका अनुसार संक्रमण देखिएका जिल्लाका विभिन्न स्थानमा पूर्ण निसंक्रमणका कार्य गरिएको छ ।

‘रोग अन्यत्र फैलिन नदिन नमुना संकलन र निगरानी गरिराखेका छौं,’ कँडेलले भन्नुभयो–बर्डफ्लुको समयमै निदान र नियन्त्रणका लागि प्रदेश सरकारमातहत कार्यरत् पशु चिकित्सक तथा अन्य कर्मचारीलाई लामो बिदामा नबस्न र जिल्ला नछाड्न भनेका छौं । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्रमा परीक्षणको व्यवस्था मिलाएका छौं ।

कृषकलाई बर्डफ्लबारे छिटो सूचनाप्रवाह गर्ने काममा सहजीकरणका लागि टोलफ्री नम्बर व्यवस्था गर्ने प्रक्रिया भइरहेको बताइएको छ । रोग नियन्त्रण गरी थप आर्थिक क्षति हुन नदिन तत्काल आपत्कालीन योजना बनाई कार्यक्रम कार्यान्वयन गर्न लागिएको, बर्डफ्लु सम्बन्धि जनचेतनामूलक सामग्री सञ्चारमाध्यममार्फत् प्रचारप्रसार गरिएको र रोग नियन्त्रणका लागि जिल्लास्तरीय बर्डफ्लु नियन्त्रण समितिको बैठक गरी अन्तरनिकाय समन्वय गरिएको मन्त्रालयले जनाएको छ ।

कृषि तथा पशुपक्षी मन्त्रालयले बर्डफ्लु संक्रमण फैलिन नदिन सबै सचेत हुनु जरूरी रहेको बताउँदै फार्ममा जैविक सुरक्षाका उपाय अवलम्बन गर्न अनुरोध गरेको छ । हाँस, कुखुरा तथा अन्य पक्षीलाई बाहिरी चराचुरूंगीको सम्पर्कमा आउन नदिन सुझाव दिइएको छ ।
कुनै पक्षी फार्म वा बिक्रीस्थलमा अस्वभाविकरूपमा पक्षी बिरामी परे वा मरे सम्बन्धित स्थानीय तहको पशुसेवा शाखा, भेटेरिनरी अस्पताल, पशुसेवा विज्ञकेन्द्र, पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय वा मन्त्रालयमा सम्पर्क गर्न सर्वसाधारणलाई आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्