सुहाना र अनमोल रियल कपल होऊन् भनेर अहिले नै आशिर्वाद दिन सक्दिनँ : झरना थापा



करिब दुई दशक फिल्म क्षेत्रमा अभिनयको अनुभव संगालेपछि फिल्म निर्देशनमा होमिएकी झरना थापाले नेपाली यो क्षेत्रमा २५ वर्ष बिताइसकेकी छन्। अभिनयपश्चात् फिल्म निर्देशनमा पनि सफल नाम बनेकी झरनाले होम प्रडक्सनबाट बनेको फिल्म ए मेरो हजुरको सिक्वेल ए मेरो हजुर २ र ३ निर्देशन गरेर वाहवाही कमाएकी छन्। उनको निर्देशनमा बनेको तेस्रो फिल्म ए मेरो हजुर ४ नयाँ वर्षको अवसर पारेर आगामी बिहीबारदेखि नेपालभर रिलिज हुँदैछ। अभिनेत्री, निर्मात्री तथा निर्देशक थापाका साथ गरिएको कुराकानी यहाँ प्रस्तुत छ:

हाल के गर्दै हुनुहुन्छ?

ए मेरो हजुर ४ को प्रमोसनमा लागेको छु। अहिले दिनरात नै यसमै बितिरहेको छ।

अहिले सिने बजारमा आरआरआरले धुम मचाइरहेको छ। तपाईंको फिल्मसँगै केजीएफजस्तो फिल्म पनि आउँदैछ। ती फिल्मसँग जुध्दा कस्तो परिणाम आउने अपेक्षा गर्नु भएको छ?

त्यति ठूलो बजेटको फिल्म मेरो दुुई करोड रुपियाँको फिल्मसँग लाग्दै छ। नेपाली फिल्म क्षेत्रमा २५ वर्षसम्म निरन्तरता दिइरहेको छु र अहिले निर्देशकको रूपमा आएको पनि दर्शककै मायाका कारण हो। यो फिल्मबाट मेरो अग्नि परीक्षा हुँदैछ। सरकारको त मलाई केही आशा लाग्दैन। दर्शक, फिल्मकर्मीलगायत सबैको साथ पाए भने अवश्य पनि परिमाण राम्रो आउनेछ भन्नेमा विश्वस्त छु। मलाई कन्फिडेन्स पनि छ कि मैले राम्रो फिल्म बनाएको छु। फिल्म हेर्दा दर्शकको पैसा र समय खेर जाँदैन। अहिले म यसो भनिरहेकी छु, फिल्म रिलिज भएपछि सबैले यस्तै भन्नु हुनेछ।

ए मेरो हजुर ४ का लागि भर्जिन लोकसनहरूमा पुग्नुभयो, सुटिङका दुःख कष्ट कस्ता थिए?

दुः ख र कष्टको त कुरै नगरौँ, धेरै नै थिए। यसपटक हामीले डोल्पामा रहेको शे फोक्सुण्डो तालमा गएर सुटिङ ग-यौं। त्यसै त यातायात तथा बिजुलीको सुविधा नभएको ठाउँ, त्यसमाथि रासनदेखि सम्पूर्ण कुरा आफैं बोकेर जानुपर्ने अवस्था। त्यसमा पनि हाई अल्टिच्युडका कारण निकै गाह्रो प-यो। त्यस्तो परिस्थितिका बाबजुद सुहाना तथा अनमोल केसीलगायत सम्पूर्ण टिमले निकै मेहनत र दुः खका साथ काम गरेका छौँ। त्यस्तो चिसो स्थानमा सुहाना र अनमोलले ब्ल्याङ्केट ओढ्दै, छोड्दै शुटिङ गरेका छन्। फेरि कोभिडको समय भएकाले त्यहाँका सम्पूर्ण होटलहरू बन्द थिए। हामी गएपछि होटलहरू खोलेर हामीलाई सक्दो सहुलियत दिएर सहयोग गर्नुभयो भने त्यहाँको वडा अध्यक्षहरूले पनि निकै सहयोग गर्नुभयो। हाम्रो टिम जाँदा त्यहाँको सानो गाउँ नै भरिन पुगेको थियो। यसरी दुःखसँगै निकै रमाइलो पनि भयो।

नामको आधारमा ए मेरो हजुरको सिरिज कतिसम्म पु-याउने सोच छ ?

हुन त ए मेरो हजुर ३ पछि भागवत गीता बनाउने सोच थियो। तर, अहिले नेपालसँगै विदेशमा पनि फिल्मको सिरिजको ट्रेन्ड चलिरहेको छ। त्यस कारण ए मेरो हजुर ४ लाई निरन्तरता दिनुपर्छ भन्ने फिल्मकर्मीलगायतको सल्लाह अनुसार यसको निर्मँण गरिएको हो। यसपछिचाहिँ भागवत गीता निर्माण गर्ने सोच छ।

ए मेरो हजुर ३ र ४ दुवैमा अनमोल केसीलाई हिरो लिनुभयो भएको छ। नायिका छोरी सुहाना थापाको जोडीको रूपमा अनमोलबाहेक अरू हिरोलाई लिन डराउनुभएको हो ?

म नयाँ कलाकारलाई लिन डराउने डाइरेक्टर होइन। ए मेरो हजुर २ मा सलिनमान बानियाँलाई लिँदा ऊ स्टार थिएन, नवकलाकार थियो। उक्त फिल्मले दर्शकको असाध्यै माया पायो। कथाअनुसार फिट हुने भएकाले ए मेरो हजुर ३ मा सुहानाको साथमा अनमोललाई लिइयो। दर्शकले पनि यो जोडीलाई निकै रुचाएकाले ४ मा पनि अनमोललाई लिएको हो। अहिले गीत र ट्रेलर रिलिज भएपछि पनि दर्शकले उनीहरूलाई निकै मन पराउनुभएको छ। अनमोल र सुहानाको जोडी कस्तो सुहाएको, उनीहरू रियल जोडी भएको भए हुन्थ्यो, उनीहरुको विवाह नै होस भन्ने कमेन्ट आइरहेका छन्।

दर्शक त अनमोल र सुहाना रियल जोडी होस् भन्ने चाहन्छन्, तपाईँहरू पनि चाहनुहुन्छ ?

दर्शकको खुसी मेरो पनि खुसी हो। दर्शकले भने जस्तै अनमोल र सुहानालाई हेर्दा म पनि जोडी निकै सुहाएको देख्छु। तर, म आमा भएकोले छोरीको इच्छा बुझ्नुपर्छ। उनीहरू रियल कपल नै होउन् भनेर अहिले नै आशिर्वाद दिन सक्दिन। सुहानालाई अनमोल मन पर्छ वा अरू नै कोही मन पर्छ, त्यो उसको रोजाइमा भर पर्ने कुरा हो।

आगामी फिल्ममा पनि अनमोल र सुहानाकै जोडी दोहोरिने छ कि ?

म क्यारेक्टरअनुसार कलाकार लिने गर्छु। हालसम्मका फिल्ममा पनि क्यारेक्टर अनुसार फिट हुने कलाकार मात्र लिँदै अँएको छु। भागवत गीताको स्क्रिप्ट बनिसकेको छैन। त्यसमा अनमोल मात्र होइन, सुहाना पनि हुन्छ कि हुँदैन अहिले भन्न सक्दिन”। स्क्रिप्ट तयार भएपछि मात्र सुहाना र अनमोल हुन्छन् वा अरू नै हुन्छन् भन्न सक्छु।

स्टारडमका कारण फिल्म चल्छ भन्ने कुरामा कतिको सहमत हुनुहुन्छ ?
म यो मान्दिनँ । एउटा स्टार लिएर, हिमालको सिन राखेर र गीत राम्रो बनाएर मात्र फिल्म चल्छ भन्नेमा मलाई विश्वास लाग्दैन। पहिलो दिन यस्ता कुराले फिल्मलाई सहयोग गरे पनि ब्लकबस्टर हुन वा दुई तीन हप्ता जानको लागि त कथावस्तु कन्टेन्टदेखि लिएर सबै कुरा राम्रो हुनुपर्छ।

लगभग एकै समयमा छोरी सुहाना अभिनेत्रीको रूपमा फिल्म क्षेत्रमा प्रवेश गरिन् भने तपाईं निर्देशकको रूपमा आउनुभयो। सफलताचाहि’ कसले बढी पायोजस्तो लाग्छ ?

मैले ए मेरो हजुर २ निर्देशन गरेर फिल्मले सफलता पाइसकेपछि ३ मा चाहिँ सुहानाले डेब्यु गरेको हो। अहिलेको जमानामा ममाथि तँ तल वा म सफल तँ असफल भन्नुभन्दा पनि एकताको जरुरत छ। फिल्म सफल हुनु भनेको सबैजना सफल हुनु हो र फिल्म सफल हुनका लागि सबैको मेहनत र एकता चाहिन्छ। मैले मात्र राम्रो काम गरेर हुँदैन। मेरो फिल्ममा हिरो हिरोइनदेखि स्पट ब्वाई भाइहरूलेसम्म उत्तिकै खटेर मेहनत गरेका छन्।

होम प्रोडक्सन बाहेकको फिल्ममा पनि निर्देशनका लागि अफर आएको छ त ?

आएको थियो, तर अहिले हामी भर्खरै यस्तो दुःखबाट गुज्रिएर आएका छौँ। कतिपयको कोभिडका कारण परिवार छुटेर गए। हामी धेरैले नराम्रो परिस्थितिसँग लड्दै यहाँसम्म आइपुगेका छौँ। हुन त देख्दाखेरि देश विदेश घुमेकै छन्, रमाइरहेका छन भन्ने लाग्न सक्छ। तर, धेरै दुःख छ। करिब तीन वर्षयता लगानीकर्ता फिल्म बनाउन अघि सर्न डर मानिरहेका छन्। लगानी गर्दा लगानी सेफ होला भन्नेमा अझै पनि विश्वास छैन। त्यस कारण पनि अहिले बाहिरको फिल्म लिएर काम गर्ने ठीक समय होइन। भर्खरै कोरोनाबाट माथि आएका छौँ, फेरि युद्धको त्रास पनि छ।

 

सुहानालाई पनि बाहिरको फिल्मको अफर आएको छ ?

सुहानालाई अहिले ३ फिल्मको अफर आएका छन्, स्क्रिप्ट हेरिरहेका छ्, ओके गरेको छैन। सुहाना पहिले गरेका स्टोरीभन्दा फरक होस् भनेर भिन्नता खोजिरहेको छ। स्क्रिप्ट चित्त बुझ्यो भने गर्ने विचारमा छ।

 

तपाईंले अब नायिकाका रूपमा चल्न मुस्किल हुन्छ भन्ने लागेर समयमै निर्देशन करियर शुरु गर्नुभएको हो कि ?

मैले बिसौं वर्षको अभिनय करिअरमा कयाैँ भूमिका गरे। सामान्यदेखि दृष्टिविहनि, श्रवणशक्ति नभएकोलगायतका भूमिका गरेँ। बिसौं वर्षसम्म काम गरेपछि अब फेरि पनि त्यही खालका अभिनय गरौँ भन्ने रहर पटक्कै भएन। बरु आफ्नो अनुभवको आधारमा निर्देशक बनेर नयाँ पिढीका साथ काम गरौँ भन्ने हिसाबले निर्देशन करियर शुरु गरेकी हुँ।

फिल्म निर्देशन शुरु गरेपछि अभिनयबाट सन्याष नै लिनु भएको हो ?

कलाकार हुँ, भोली कुनै बेला आफ्नो उमेरअनुसारको रोल अफर आउन सक्छ, चित्त बुझ्यो भने अभिनय पनि गर्छु।

महिला निर्देशक भएकै कारण केही समस्या परेको छ कि ?

छैन, महिला भएकै कारण समस्या पर्दैन जस्तो लाग्छ। महिला भए पनि पुरुष भए पनि काम गर्ने क्षमता उस्तै हो। म महिला निर्देशक भएकै कारण मसँग काम गरेका कलाकारलाई समस्या परेको छ जस्तो पनि लाग्दैन।

कुनै महिला निर्देशकसँग काम गर्न पाएको भए आफूलाई अझ धेरै एक्स्प्लोर गर्न सहज हुन्थ्यो भन्ने पनि लाग्छ कि ?

नृत्य निर्देशक शान्ता म्यामसँग काम गर्दाको क्षणहरू अहिले पनि याद आइरहन्छ। गीतमा अन्य नृत्य निर्देशकले धेरैजसो लङ सट लिनुहुन्थ्यो। तर, शान्ता म्यामले क्लोजअप शट लिनुपर्छ अनि एक्सप्रेसन दिनुपर्छ भन्नुहुन्थ्यो। क्लोज सर्ट लिन लगाएर ल केटी आफ्नो अदा देखाऊ भन्नुहुन्थ्यो, निकै खुसी लाग्थ्यो। तर, कहिल्यै पनि महिला निर्देशक भएको भए म आफूलाई अझ राम्रोसँग एक्सप्लोर गर्न सक्थें भन्ने मलाई लागेन। निर्देशक पुरुष वा महिला भएर कलाकारको क्षमतालाई फरक पार्दैन। सबै निर्देशकले मलाई स्वतन्त्र भएर काम गर्ने मौका दिनुभयो। कसैले पनि बाँध्नुभएन। त्यही कारण पनि म हाँस्दा दर्शक हाँस्नुहुन्थ्यो, म रुँदा उहाँहरू पनि रुनुहुन्थ्यो। अहिले पनि दर्शकहरूले झरनाजी तपाईको रुवाइ ओहो… भन्नुहुन्छ।

स्थानीय चुनाव नजिकिँदै गर्दा कलाकारहरू विभिन्न पार्टी प्रवेश गरिरहेका छन्, तपाईंलाई पनि राजनीतिमा रुचि छ कि ?

मलाई राजनीतिक अवस्था कस्तो छ, देशमा के भइरहेको छ लगायतका घटनाक्रममा चासो लाग्छ। तर, आफैँ पोल्टिक्समा जान र भाषण छाँट्न मन लाग्दैन। किनभने म कलाकार हुँ र कला क्षेत्रलाई नै माथि उठाउन सक्दो काम गरौं जस्तो लाग्छ। फिल्म क्षेत्रमा मैले दुः ख सुख दुवै भोगेको छु। छोरीलाई बिस्कुट किन्नसमेत नसक्ने अवस्था हुँदासम्म र विवाहको एउटा चिनोसमेत नराखी सबै गरगहना बेचेर समेत फिल्ममा लगानी गरियो। त्यहीअनुुसारको सुख पनि भोगियो। त्यसैले, मलाई फिल्म क्षेत्रमै मोह छ। मेरो लागि फिल्म क्षे त्र मन्दिर हो भने दर्शक मेरो भगवान् हुन्। फूलस्वरूप चलचित्र चढाउँदै छु। यतिको वर्ष त फिल्म क्षेत्रमै बिताइयो, अब कति बाँचिएला र ? जति बाँच्छु फिल्म क्षेत्रमै लागिरहन्छु।

प्रतिक्रिया दिनुहोस्