मकवानपुरमा एमालेविरुद्ध गठबन्धन एक



हेटौंडा ।

गठबन्धनले केन्द्रीयस्तरमा निर्णय गर्न ढिलाई गरेपछि वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मकवानपुरमा भने एमालेविरुद्ध सत्तागठबन्धन एक भएर जाने भएका छन् । हेटौंडामा पत्रकार सम्मेलन गरी सत्तारूढ दलहरुले मकवानपुरका १० वटै स्थानीय तहको वडास्तरसम्म गठबन्धन गरेर जाने निर्णय भएको जानकारी दिइएको हो ।

नेपाली कांग्रेसको पार्टी कार्यालय हेटौंडामा पत्रकार सम्मेलन गरी गठबन्धनका दलहरुले स्थानीय तहमा एमालेविरुद्ध गठबन्धन गरेर जाने निर्णय भएको उद्घोष गरेका हुन् । गठबन्धनका लागि नेपाली कांग्रेस मकवानपुर सभापति बुद्ध लामा संयोजक रहेको समितिसमेत निर्माण गरिएको छ । समितिका सदस्यमा सत्तारूढ दलका मकवानपुर अध्यक्षहरु छन् । ‘जिल्लाका १ सय २ वटै वडा र १० स्थानीय तहमा गठबन्धन हुनेछ । हामी सोहीअनुसार उम्मेदवार खडा गर्नेछौं’, कांग्रेस मकवानपुर सभापति लामाले बैठकपश्चात् आयोजित पत्रकार सम्मेलनमा भन्नुभयो– ‘केन्द्रको निर्देशनअनुसार जिल्ला, स्थानीय तह र वडा तहमै गठबन्धनको संयन्त्र तयार गरिनेछ ।’

‘उम्मेदवारको विषय हाल टुंगो लागेको छैन । प्रारम्भिक छलफल भएको हो । केन्द्रीय निर्देशनअनुसार हामी अगाडि बढ्नेछौं ।’ –उहाँले थप्नुभयो । जिल्लामा गठबन्धनको बैठक बसेर तल्लो तहमा पनि कमिटी बनाउने र वडा तहसम्म परिचालन गर्ने निर्णय गरिएको कांग्रेस सभापति लामाले जानकारी दिनुभयो । उहाँले आवश्यकतानुसार सदस्य थप गरी निर्वाचनका लागि तयारी अगाडि बढाइने बताउनुभयो । गठबन्धको उद्देश्य संविधानको रक्षा र लोकतान्त्रिक आन्दोलनबाट प्राप्त राजनीतिक उपलब्धि जोगाउनु रहेको लामाको स्पष्टोक्ति छ ।

बैठकले कांग्रेस सभापति लामाको संयोजकत्वमा ५ सदस्यीय सचिवालय बनाउने निर्णय गरेको छ । जिल्ला सचिवालयमा नेकपा माओवादी केन्द्रका सर्केश घलान, नेकपा (एकीकृत समाजवादी) का श्रीधर पोखरेल, जनता समाजवादी पार्टीका सोनामसिं स्यांतान र राष्ट्रिय जनमोर्चाका नीरबहादुर स्यांतान सहभागी रहनेछन् ।

यस्तै, सचिवालय स्थानीय तह र वडासम्म निर्माण हुनेछन् । बैठकले स्थानीय तह र वडासम्म गठबन्धनको संयन्त्र निर्माणका लागि आवश्यक बैठक बस्न पार्टीको तल्लो संरचनालाई निर्देशन दिएको छ ।

निर्वाचन लक्षित प्रशिक्षण
नेकपा एमालेले मकवानपुरका भने १० वटै स्थानीय तहमा निर्वाचन लक्षित पार्टी प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर प्रशिक्षण कार्यक्रम गरिएको हो । पार्टी जिल्लास्तरका नेता, प्रदेश र केन्द्रीय कमिटीबाट खटिएका प्रशिक्षकले प्रशिक्षण दिएको एमाले मकवानपुर अध्यक्ष एकलाल श्रेष्ठले बताउनुभयो ।

सबै पालिकामा कम्तीमा २ सय पार्टी कार्यकर्ता प्रशिक्षणमा सहभागी थिए । निर्वाचनमा मतदातालाई मतदान गर्न सिकाउने, पार्टीको जनपरिचालन अभियानबारे कार्यकर्तालाई प्रशिक्षित गर्ने र चुनाबी एजेन्डा तय गर्नेलगायत प्रशिक्षणका विषय राखिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

‘एमालेलाई खासै धक्का पुग्दैन’
एमालेका वागमती प्रदेश उपसचिव महेश बर्तौलाले एमालेको पक्षमा जनताको साथ र समर्थन अपार रहेको दाबी गर्नुभएको छ । आगामी निर्वाचनमा एमालेले वागमती प्रदेशका बहुमत स्थानीय तह जित्ने ठोकुवा गर्दै उहाँ पार्टी विभाजनपछि थोरबहुत नेता/कार्यकर्ताले एमाले छाडे पनि ठूलो संख्यामा अन्य दलका प्रतिनिधि संगठित हुन आउने क्रम जारी रहेको बताउनुहुन्छ ।

आगामी निर्वाचनको मतपरिणाममा एमालेलाई खासै धक्का नपुग्ने उहाँको कथन छ । एमाले वागमती प्रदेशका प्रचार विभाग प्रमुखसमेत रहनुभएका बर्तौलाले स्थानीय तह निर्वाचनमा नेकपा एमाले पहिलो राजनीतिक दल बन्ने प्रयासमा रहेको बताउनुभयो । प्रदेशका १ सय १९ स्थानीय तह र १ हजार १ सय २१ वडामा एमालेका उम्मेदवारलाई विजयी गराउने तयारीमा रहेको भन्दै संगठन परिचालन गरी एमालेप्रति नागरिकलाई आकर्षित गर्ने काम भइरहेको उहाँको भनाइ छ ।

‘हामीले हिजोको दिनमा पनि चुनाव जितेका थियौं । केही दल एमालेविरुद्ध षड्यन्त्रमा लागिपरेका छन्’, उहाँले थप्नुभयो– ‘देशको विकास गर्नेभन्दा पनि एमालेलाई हराउन उनीहरु लागिपरेका छन् । उनीहरु एमालेविरुद्ध षड्यन्त्र गर्दै गठबन्धन गर्दै छन् । तर, एमालेमा ठूलो पंक्ति जोडिएको छ । यसले गर्दा आगामी बैशाखमा हुने स्थानीय तहको निर्वाचनमा हामी विजयी हुनेछौं ।’ नागरिकले ‘सुखी नेपाली, समृद्ध नेपाल’ निर्माणका निम्ति, विकास र समृद्धिका निम्ति काम गर्न अधिक मत साथ एमालेका उम्मेदवारलाई विजयी गराउनेमा उहाँ ढुक्क हुनुहुन्छ ।

यस्तो छ विगत
मकवानपुरका सबै १० स्थानीय तहको नतिजामध्ये ६ स्थानीय तहका प्रमुख र ८ उपप्रमुख जितेर २०७४ मा एमाले जिल्लाको सबभन्दा ठूलो पार्टी बनेको थियो । कांग्रेस र माओवादीले दुई/दुई स्थानीय तहका प्रमुख जितेर दोस्रो शक्तिमा स्थापित भए ।

हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका र भीमफेदी गाउँपालिकामा कांग्रेस–माओवादीबीच तालमेल भएको थियो । एमालेले पहिलो चरणमा चुनाव भएकामध्ये एकमात्र उपमहानगरपालिका हेटौंडामा मेयर र उपमेयर दुवै जितेको थियो । मेयरमा हरिबहादुर महत र उपमेयरमा एमालेकै मीना लामा विजयी हुनुभएको थियो । भीमफेदी गाउँपालिकामा एमालेका हिदम लामा अध्यक्ष र एमालेकी जिल्ला नेतृ पार्वती राना उपाध्यक्ष निर्वाचित हुनुभएको थियो ।

मनहरी गाउँपालिकामा पनि एमालेकै एकराज उप्रेती अध्यक्ष र मनिला बिष्ट उपाध्यक्ष निर्वाचित हुनुभएको थियो । मकवानपुरगढी गाउँपालिकामा एमालेका बिदुर हुमागाईं अध्यक्ष र हर्कमाया रुम्बा उपाध्यक्षमा निर्वाचित हुनुभयो । इन्द्रसरोवर गाउँपालिका अध्यक्षमा एमालेका जीवन लामा र उपाध्यक्षमा उमा लामा विजयी हुँदा कैलाश गाउँपालिका अध्यक्षमा एमालेका टंक मोक्तान अध्यक्ष र सुकुमाया लामा उपाध्यक्ष निर्वाचित हुनुभएको थियो ।

वागमती गाउँपालिकामा एमालेकी उपाध्यक्षमा धनकुमारी थिङ विजयी हुनुभएको थियो । बकैया गाउँपालिकामा अध्यक्ष कांग्रेसले जित्दा उपाध्यक्ष भने एमालेकी सरला बोलखे विजयी हुनुभएको थियो । वागमती गाउँपालिका उपाध्यक्ष एमालेले जितेको थियो ।

एमाले, माओवादी र कांग्रेस टोल–टोलमा
मकवानपुरको थाहा नगरमा स्थानीय निर्वाचनको तयारीमा दलहरु जुटेका छन् । नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेस विभिन्न कार्यक्रम लिएर टोल–टोलमा पुगेका हुन् ।

अघिल्लो निर्वाचनमा ६ वटा वडा एमाले र ६ वटा वडा माओवादी केन्द्रले जितेको थाहामा माओवादी र कांग्रेसको गठबन्धनमा मेयरमा माओवादी र उपमेयरमा कांग्रेसले जितेको थियो । मेयरमा करिब २ हजार ४ सय ५० बढी मतान्तरले माओवादीका लवशेर विष्टले जिते पनि उपमेयरमा भने ५ सय बढी मतान्तरले कांग्रेसका खड्ग गोपालीले जित्नुभएको थियो । १२ वडा रहेको थाहामा १, ३, ४, ७, ८ र ९ नम्बर वडा माओवादीले जितेको थियो भने अन्य वडा एमालेले जितेको थियो ।

२०७४ को निर्वाचन परिणाम हेर्दा गठबन्धन नगरी निर्वाचनमा गए एमाले प्रस्ट बहुमतमा देखिएको छ । त्यसो त दलहरु हाल आन्तरिकरूपले उम्मेदवारी छनोटमा जुट्न थालेका छन् । एमालेबाट अघिल्ला उम्मेदवार विष्णुप्रसाद ढकालले मेयरको दाबी रहेको बताउनुभएको छ । उहाँले २५ गते आफूले मेयरका लागि सिफारिस गर्ने तयारी भए पनि अन्य साथीहरु पनि दाबीमा रहेकाले पार्टीको निर्णय मान्ने बताउनुभएको छ ।

थाहा नगर अध्यक्ष अच्युतम्प्रसाद ढकाल पनि पार्टीले टिकट दिए आफू मेयरको दाबीमा रहेको बताउनुभएको छ । पार्टीले जिम्मेवारी दिए आफू जित्ने सम्भावना भएको उहाँले दाबी गर्नुभयो । युवा नेता सुरेन्द्रान प्रधानको पनि चर्चा छ । अघिल्लो निर्वाचनमा आफ्नो कमजोरीका कारण पराजित नभएको भन्दै पुनः एकपटक आफूलाई उम्मेदवारी दिनुपर्ने विष्णुप्रसाद ढकालको तर्क छ ।

अर्का प्रत्यासी नगर अध्यक्ष अच्युतम्प्रसाद ढकाल पनि आफू मेयरका लागि योग्य भएको भन्दै दाबी गरिरहनुभएको छ । युवानेता प्रधानले पनि कार्यकर्ताको मागलाई ध्यानमा राखेर मेयरको तयारी गरिरहेको बताउनुभएको छ । गठबन्धनविरुद्ध सबै उम्मेदवारको साझा प्रस्ताव भने नगर कमिटीबाट सर्वसम्मतरूपमा एक जना छनोट गर्नुपर्नेमा उहाँको जोड छ ।

उपमेयरमा भने खासै चर्चा नभएपछि अघिल्लो पटककी उम्मेदवार कल्पना बलामीले दाबी गर्नुभएको छ । उहाँले आफूले मेयरको दाबी गर्नुपर्ने भए पनि अग्रजहरुका कारण उपमेयरमा नै दाबी रहेको बताउनुभयो । तर, केही महिना अघिमात्र माओवादीबाट एमाले प्रवेश गरी हाल प्रदेश कमिटीमा रहनुभएका बरिना बलको पनि सम्भावना रहेको बताइएको छ । बरिनाले पार्टीको निर्णय नै आफ्नो निर्णय भएको बताउनुभयो । उहाँले आफू पार्टीको निर्देशन मान्ने बताउनुभयो । एमाले थाहा नगरले चैत २५ गतेभित्र सिफारिस गर्ने तयारी थालेको छ ।

माओवादी केन्द्रमा भने मेयरका उम्मेदवारमा धेरै जनाको दाबी देखिएको छैन । अघिल्लो निर्वाचनमा मेयरको दाबी पेस गर्नुभएका अरुण रायमाझी हालै नगर कमिटी अध्यक्षमा पराजित हुनु र भर्खर सुकुम्बासी समस्या समाधान आयोग मकवानपुर सदस्यमा मनोनित भएसँगै उहाँको सम्भावना टरेको छ । एउटै व्यक्ति दोहोरिन नहुने बताउ“दै आउनुभएका हालमा मेयर विष्ट भने अब मेयरमा नउठ्ने बताउनुहुन्छ । स्थानीय तहको सबभन्दा बढी काम र समय पनि दिन नसक्नाले धेरै गाह्रो भएको भन्दै यसपटक आफू मेयरको उम्मेदवारी नहुने उहाँको कथन छ ।

सत्ता साझेदार दलहरुबीच गठबन्धन हुने भए पक्का उम्मेदवार बन्ने माओवादी केन्द्रभित्र चर्चा छ । पार्टी अध्यक्ष प्रचण्डको कित्तामा गनिने विष्णु विष्ट आफू मेयरको दाबीमा रहेको बताउनुहुन्छ । गठबन्धन भए पनि नभए पनि थाहा नगरमा माओवादीको राम्रो स्थान रहेको भन्दै सहज जित्ने उहाँले बताउनुभएको छ ।

एक्लै चुनाबमा जाने अवस्था आए शकुन्तला गोपाली एकमात्र उपमेयरको उम्मेदवार बन्ने सम्भावना छ । अघिल्लो निर्वाचनमा उपमेयरको चर्चामा रहनुभएकी गोपाली गठबन्धनका कारण पछि हट्नुपरेपछि यसपटक गठबन्धन हुने भए गोपालीले ३ नम्बर वडाध्यक्षको दाबी गरेर चित्त बुझाउने बुझिएको छ ।

अघिल्लो निर्वाचनमा वडाध्यक्षमा प्राप्त मतका आधारमा ४ हजार ७८ मत पाएको कांग्रेस थाहा नगरको नेतृत्व यसपटक एक्लाएक्लै निर्वाचनमा जानुपर्ने अडान छ । हालका उपमेयर गोपाली अब यसपटक मेयरको टिकट आफूले पाउने बताउँदै कांग्रेस एक्लै निर्वाचनमा जानुपर्ने बताउनुहुन्छ । उहाँले आफूले उपमेयर भएर ५ वर्ष जनताको हितमा धेरै राम्रो गरेको बताउँदै आफूले गरेका योगदानका कारण जित्नेमा विश्वस्त भएको बताउनुहुन्छ ।

कांग्रेसमा हाल मेयरका लागि ईश्वरनाथ पौडेल र भरत गोपाली पनि दाबी गर्नुभएको छ । उहाँले गठबन्धन नगरी निर्वाचनमा जाने बताउँदै कांग्रेसको अस्तित्व जोगाउन गठबन्धन आवश्यक नरहेको बताउनुभएको छ ।

उहाँ नगर अधिवेशनमा सभापतिमा पराजित हुनुभएको थियो । अघिल्लो निर्वाचनमा ९ सय बढी मत सुरक्षित गरेको राप्रपाको निर्वाचन तयारी भने बाहिर देखिएको छैन । नेकपा (एकीकृत समाजवादी) भने गठबन्धनलाई जोड दिइरहेको छ । गठबन्धन भए नगर अध्यक्ष सानुकाजी गोपालीले मेयर र किरणमान बलले उपमेयरमा दाबी गर्ने बुझिएको छ ।

एमालेले जोगाउला त साख ?
वागमती प्रदेशको राजधानी रहेको हेटौंडा उपमहानगरपालिकामा हाल सबै दलको ध्यान स्थानीय निर्वाचनतर्फ केन्द्रित हुँदै गएको छ । उपमहानगरमा दलहरुले स्थानीय निर्वाचनलक्षित कार्यक्रम सञ्चालन गर्दै गएका छन् ।

प्रदेशको राजधानी एवं प्रदेशको एकमात्र उपमहानगर भएकाले पनि हेटौंडा सबै दलको चासोको केन्द्र बनेको हो । २०७४ सालको स्थानीय तह निर्वाचनमा एमाले हेटौंडा उपमहानगरमा पहिलो स्थानमा थियो । निर्वाचनमा एमालेविरुद्ध कांग्रेस र माओवादी केन्द्र गठबन्धनमा आबद्ध भए पनि एमालेका उम्मेदवारले ६ सय १५ मतान्तरले जित हात पारेका थिए ।

उपमहानगर प्रमुखमा हरिबहादुर महत र उपप्रमुखमा मीना लामा विजयी हुनुभएको थियो । २०७४ मा चुनावी तालमेल गरेका कांग्रेस र माओवादी केन्द्रविरुद्ध एमाले बलियो सावित भयो । उपमहानगरपालिका प्रमुखमा एमालेका हरिबहादुर महतले २३ हजार १ सय २४ मत ल्याउँदै जित हात पार्नुभएको थियो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका आनन्दराम पराजुलीले २२ हजार ५ सय ९ मत पाउनुभएको थियो ।

उपप्रमुखमा एमालेकी लामाले माओवादी केन्द्रका बलराम बललाई हराउँदै जित हात पार्नुभएको थियो । लामाले २३ हजार ४ सय ३७ मत ल्याउँदा बलले १७ हजार ११ मत हासिल गर्नुभएको थियो । राप्रपाकी इन्दिरा न्यौपाने ७ हजार ७ सय २ मत पाएर तेस्रो बन्दा नयाँ शक्ति पार्टीका उम्मेदवारले १ हजार १ सय ५३ मत र अन्य उम्मेदवारले ५ सय मत पनि कटाउन सकेका थिएनन् ।

उपमहानगरका १९ वडामध्ये २०७४ को निर्वाचनमा एमालेले १२ वटा वडामा जित हात पारेको थियो । कांग्रेसले ५ वटा वडामा र माओवादी केन्द्रले २ वटा वडा जितेका थिए । एमालेले वडा नम्बर–२, ३, ४, ७, ८, ९, १०, ११, १३, १७, १८, १९ मा जितेको थियो भने कांग्रेसले वडा नम्बर–१, ५, ६, १५ र १६ मा जितेको थियो । माओवादी केन्द्रले वडा नम्बर–१२ र १४ जितेको थियो ।

हाल १४ नम्बर वडा अध्यक्ष माओवादी केन्द्र त्यागेर नेकपा एमालेमा आवद्ध हुनुभएको छ भने एमालेबाट निर्वाचित १३ नम्बर वडाध्यक्ष एमाले त्यागेर समाजवादीमा आवद्ध हुनुभएको छ । उपमेयर लामाले पनि एकीकृत समाजवादी पार्टी रोज्नुभएको छ ।

एमाले नै पहिलो हुने दाबी
उपमहानगरपालिका २०७४ सालको स्थानीय तह निर्वाचनमा पहिलो नम्बरमा रहेको एमाले अब हुने निर्वाचनमा पनि पहिलो नै हुने एमाले मकवानपुर अध्यक्ष एकलाल श्रेष्ठको दाबी छ । उहाँले उपमहानगरपालिकामा जितेका १२ वटा वडामध्ये १ वडा अध्यक्ष र उपमेयर तथा २/३ जना वडा सदस्यहरु मात्र समाजवादीमा गएको हुँदा त्यस्तो ठूलो असर नपर्ने दाबी गर्नुभयो ।

संघीय स्वास्थ्यमन्त्री विरोध खतिवडा, एमाले मकवानपुरकी तत्कालीन अध्यक्ष एवं वागमती प्रदेशसभा सदस्य मुनु सिग्देल समाजवादीमा गए पनि ठूला जिम्मेवारी भएका नेताहरु एमालेमै रहेको हुँदा सामान्यमात्र तलमाथि हुने तर, पहिलो एमाले नै हुने उहाँले ठोकुवा गर्नुभयो ।

कांग्रेसको बढ्दो जनमत, एमालेमा विभाजन र स्थानीय तहमा कांग्रेस, माओवादी र एकीकृत समाजवादीले गठबन्धन गरेर उम्मेदवारी दिए एमालेलाई आफ्नो साख जोगाउन हम्मेमात्र पर्नेछैन, फलामको चिउरा सावित हुनेछ ।

निर्वाचनको परिणाम एमालेका उम्मेदवारहरु कस्ता हुनेछन्, त्यसमा निर्भर रहने छ । मतदाताबीच बदनाम भएका, पटक–पटक अवसर पाइसकेकाहरु पुनः उम्मेदवार भए भने एमालेले आफ्नो पुरानो हैसियत कायम राख्न कठिनाइ पर्नेछ ।

नयाँ अनुहार र पार्टीको गुटभन्दा माथि उठेर उम्मेदवारी दिए साख जोगाउन थोरै भए पनि सहयोग पुग्ने अनुमान गरिएको छ । उम्मेदवारी छनोटका लागि एमालेभित्र हाल पुरानै रोग गुटबन्दी चरमरुपमा देखापरेको छ । यसले उम्मेदवारी छनोटमा मात्र होइन, मतदानमा पनि समस्या उत्पन्न गराउन सक्छ ।

आगामी निर्वाचनमा उपमहानगरामा आफ्नो वर्चश्व जोगाउन एमालेलाई सकस पर्ने देखिएको छ । एमाले विभाजनको असर हेटौंडामा पनि राम्रै परेको छ । एमाले विभाजनका कारण हेटौंडा उपमहानगर उपमेयर लामा नेकपा (एकीकृत समाजवादी) पार्टीमा आबद्ध भएर उहाँसँगै कयौं कार्यकर्ता एमाले छाडेर एकीकृत समाजवादीमा सामेल भएका छन् । जसका कारण एमालेलाई आगामी निर्वाचनमा जोखिम देखिन सक्छ ।

वैशाख ३० गते देशभर एकै चरणमा स्थानीय तह निर्वाचन हुँदै छ । निर्वाचनको मिति तोकिएलगत्तै उपमहानगरमा चुनावी चहलपहल बढेको छ । सबै दलका नेता र कार्यकर्ता अभियानसहित गाउँ छिरेका छन् । कार्यकर्तालाई चुनावको तयारीमा जुट्न जिल्ला तहका नेताहरुले निर्देशन दिइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्