धानबालीको क्षतिको राहत रकम लिन किसान आएनन्



बैतडी ।

गत असोज ३१ गतेदेखि कात्तिक ३ गतेसम्मको बेमौसमी वर्षाका कारण भएको क्षतिको राहत रकम दिन कोही आएका छैनन् । बेमौसमी वर्षाका कारण धानबालीमा पुगेको क्षतिको रकम बुझ्न जिल्ला प्रशासनका कोही पनि किसानले निवेदन दिएका छैनन् ।

संघीय सरकारले धानबालीमा पुगेको क्षतिपछि राहत रकम जिल्ला प्रशासन कार्यालयमार्फत किसानलाई दिने भनेको थियो । सरकारले राहत वितरण गर्न भने पनि हालसम्म किसानहरूको निवेदन नआएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिनुभयो ।

बैतडीमा ८ लाख रूपियाँ राहतस्वरूप आएको छ । उहाँले भन्नुभयो – ‘राहत रकमका लागि निवेदन दिन भनेका छौं । हालसम्म एकजना किसानबाहेक अरू आएका छैनन्, राहत रकम लैजान भनेर हामीले सूचनासमेत जारी गरिसकेका छौं ।’ बेमौसमी वर्षाले जिल्लाका सबै स्थानीय तहमा गरेर १७६ किसानको धानबालीमा क्षति गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

यसैबीच धानबालीमा क्षति पुगेका किसानहरूलाई राहतका लागि निवेदन दिन जिल्ला प्रशासन कार्यालय बैतडीले आग्रह गरेको छ । संघीय सरकारले धानबालीमा क्षति पुगेका किसानहरूलाई राहत दिनका लागि रकम पठाइसकेकाले निवेदन दिन आग्रह गरिएको हो । ‘धानबालीमा क्षति पुगेका किसानहरूलाई राहत उपलब्ध गराउने कार्यविधि–२०७८’ अनुसार पीडित किसानहरूलाई राहत उपलब्ध गराइने भएकोले निवेदन दिन आग्रह गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी भारतीले बताउनुभयो ।

राहतका लागि निवेदन दिनेहरूले १० रूपियाँको टिकेट टाँसेको निवेदनका साथै वडा मुचुल्का र वडा सिफारिस राख्नुपर्नेछ । यस्तै, प्रहरी मुचुल्का वा प्रहरी प्रतिवेदन, कृषि ज्ञान केन्द्र बैतडीको सिफारिस, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, जग्गाधनी प्रमाणपुर्जाको प्रतिलिपि र बैंक खाता निवेदनसँगै राख्नुपर्ने जनाइएको छ ।

बेमौसमी वर्षाका कारण यहाँ ४ जनाको मृत्युसमेत भएको थियो । मृतकका परिवारलाई संघीय सरकारले यसअघि नै २ लाखका दरले राहत रकम दिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्