सल्यान घुइयावारीका घर–घरमा खानेपानी धारा



सल्यान । 

कालीमाटी गाउँपालिका ७ घुइयावारीकी पवित्रा बुढाको दिन चर्या खानेपानीको जोहो गर्दैमा बित्ने गरेको थियो । घर नजिकै खानेपानीको मुहान नहुँदा उहाँ पिउने पानी ल्याउनको लागि सधैँ बबई नदिना जानुहुन्थ्यो ।

खानेपानी नहुँदा बबइको पानी खान थालेको बर्षौ बितेको थियो  ‘मान्छेले पिउने, बस्तुभाउलाई खुवाउने, नुहाउने र कपडा धुनको लागि बबई नदिको पानीको प्रयोग गर्दै आउनु भएको थियो  ।’ ‘डोकोमा गाग्री बोकेर जान्थ्यौँ, चैत बैशाखमा पानी सफा देखिन्थ्यो, तर बर्खामा पानी धमिलो हुन्थ्यो, रुमालले छानेर प्रयोग गर्थ्यौ’ उहाँले भन्नुभयो ‘ तर अहिले उहाँको अहिले दैनिकी फेरिएको छ, पानीको लागि बबई जानुपर्दैन, घरमा नै पानीको धारा छ, आवश्यकता अनुसार प्रयोग गर्न पाइन्छ ।

घुइयावारीकै भिमसरा बुढाको पिडा पनि  पनि पवित्राको जस्तै थियो  । ‘नदिको दूषित पानीले मानव स्वास्थ्यमा असर गर्छ भन्ने थाहा हुदाँहदैँ पनि नदिकै पानी प्रयोग गर्न बाध्य थियौँ’ उहाँले भन्नुभयो ‘झाडापखाला, आउँ जस्ता समस्या देखिन्थेँ, कतिपयलाई त एलर्जी समेत भएको थियो, तर अव नदिको पानी प्रयोग गर्नुपर्दैन ।’पवित्रा र भिमसरा मात्रै होइन, अहिले घुइयावारीका १ सय ४३ घरधुरी यसरी नै खुसी भएका छन् । विगतमा डोकोमा गाग्री बोकेर बबइको दूषित र फोहोर पानी प्रयोग गर्नुपर्ने बाध्यता हटेको उनीहरूलाई भनाइ छ । स्थानीय गोपाल पुनले गाउँमै खानेपानीको लागि पहल थालेको झन्डै पाँच दशक पछि घर–घरमा पिउने पानी आएको बताउनुभयो ।

कालीमाटी गाउँपालि, जर्सी ओभरसित एडको आर्थिक सहयोग र दलित विकास समाज सल्यानको व्यवस्थापनमा सञ्चालित रियलाइज परियोजना मार्फत खानेपानी योजना सम्पन्न भएपछि घुइयावारी र माघबारेका स्थानीय लाभान्वित भएका छन् । एक–घर एक–धारा अन्तर्गत प्रत्येक नागरिकका घरमा धारा जडान गरिएको छ भने सार्वजनिक स्थल विद्यालय, स्वास्थ्य चौकी र प्रहरी चौकीमा धारा जडान गरिएको हो । रियलाईज परियोजना र कालीमाटी गाउँपालिकाको लागत साझेदारीमा खानेपानी योजना सम्पन्न भएको हो । जसअन्तर्गत पतेरी खोला ग्राभिटि योजनाबाट ९१ घरधुरीका ४ सय ७३ जनसंख्या लाभान्वित भएका छन् ।

गाउँपालिकाको झन्डै ११ लाख, परियोजनाको झन्डै ७ लाख र स्थानियको नगद तथा श्रमदानबाट यो खानेपानी योजना सम्पन्न भएको हो । यस्तै बाघमारे ग्राभिटि योजनाबाट ५२ घरधुरीका २ सय ७० जनसंख्या लाभान्वित भएका छन् । गाउँपालिकाको ८ लाख, परियोजनाको झन्डै ७ लाख र स्थानियको नगद तथा श्रमदानबाट यो खानेपानी योजना पनि सम्पन्न भएको हो । निर्माण समितिका अध्यक्ष जीत बहादुर घर्तीले घर–घरमा पुगेको खानेपानी लाई दिगो व्यवस्थापन लागि आफूहरू योजनाबद्ध भएर लाग्ने बताउनुभयो ।

परियोजनाका जिल्ला संयोजक महेश हिताङले बाँके राष्ट्रिय निकुञ्जले छोएको मध्यवर्ती क्षेत्रमा रहेर यस परियोजनाले विविध कार्यसञ्चालन गरेको बताउनुभयो । विगतमा खानेपानीको अभावकै कारण स्थानीय नागरिकले सास्ती पाएको अवस्थामा विभिन्न क्षेत्रसँगको सहकार्यमा प्रत्येक नागरिकका घरमा खानेपानीको धारा जडान भएपछि नागरिकहरू खुसी भएको बताउनुभयो । यसका साथै मध्यवर्ती क्षेत्रका नागरिकले भोग्दै आएका समस्याको पहिचान गरेर समाधानका लागि परियोजनाले काम गर्दै आएको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्