स्वतन्त्र मतदानको माग गर्दै गोत्रीवासी आन्दोलित



बाजुरा ।

साविकको गोत्री गाविसका जनताले स्वतन्त्ररूपमा मतदान गर्न पाउनुपर्ने माग राखेका छन् । अलग मतदान केन्द्रको माग गर्दै आइतबार बिहान जिल्ला निर्वाचन कार्यालय मार्तडीमा उनीहरूले धर्ना दिएका हुन् । एक वडा एक मतदान केन्द्र कायम गरौं, मतदान गर्न चार/चार घण्टा हिँड्नुपर्ने बाध्यता कहिलेसम्म सरकार !, कानुन र मापदण्ड मिच्न पाइँदैन जस्ता नारा लेखिएका ब्यानर तथा प्लेकार्ड बोकेर गोत्रीका युवायुवतीले एक घण्टा धर्ना दिएका थिए । कांग्रेस युवा नेता प्रकाश रावलको नेतृत्वमा युवाले नारा जुलुससहित निर्वाचन कार्यालय अगाडि विरोध जनाएका थिए ।

‘निर्वाचन निर्देशका–२०७० अनुसार एक वडा एक मतदान केन्द्र हुनपर्ने उल्लेख छ तर हाम्रो जगन्नाथ गाउँपालिकामा दुई वडाको एकमात्र मतदान केन्द्र छ’, युवा नेता रावल भन्नुहुुन्छ– ‘हालको मतदान केन्द्र रहेको जगन्नाथ गाउँपालिका–६ स्थित देवलकोट मावि गोत्रीमा सुरक्षित मतदान गर्ने वातावरणसमेत छैन ।’

वडा नं ५ र ६ का लागि विगतदेखि एकै केन्द्र कायम गराएको छ । राजनीतिक पहुँचका आधारमा सधैं बुथ क्याप्चर हुने गरेको आरोप स्थानीय मंगल विष्टको छ । २०७४ को निर्वाचनमा पनि उक्त मतदान केन्द्रमा धाँदली हुँदा नेपाली कांग्रेसका दिलबहादुर विष्ट, नेकपा एमालेका कटक विष्टलगायत दर्जनौं घाइते भएका उहाँको भनाइ छ ।

‘लामो उपचारपछि घर फर्केका उनीहरुको परिवार मतदानमा धाँदली भएकै कारण चार वर्षसम्म ज्यान मार्ने उद्योगमा फसेका थिए’, विष्ट भन्नुहुन्छ– ‘त्यो राजनीतिक प्रतिशोध थियो ।’ जिल्ला अदालत बाजुरामा उक्त मुद्दा केही महिनाअघि मात्र ढिसमिस भएको थियो । भौगोलक दृष्टिले पनि जोखिम रहेको उक्त केन्द्रमा २०४८ सालदेखि नै धाँदली हुँदै आएको स्थानीयको भनाइ छ ।

‘स्वतन्त्र मतदान गर्न पाउने अधिकार सुनिश्चित गर्न ६ नं वडा कर्यालयको मतदान केन्द्र खिरारुख प्रावि वा सरस्वती प्राविमा मतदान केन्द्र कायम गर्न वडा कार्यलयबाट सिफारिस गरी पठाएका थियौं’, स्थानीय सन्तोष डंडाल भन्नुहुन्छ– ‘जिल्लामा के षड्यन्त्र भयो कुन्नि ? अझै हाम्रो माग पूरा भएको छैन ।’ २०४८ सालको आम निर्वाचनदेखि नै पाल्तेवाडा, काप्री तल्ल काप्री कोटगोत्रीका जनताले स्वतन्त्ररूपमा मतदान गर्न नपाएको उहाँको गुनासो छ ।

निर्वाचन निर्देशिका–२०७७ को दफा ४ को ‘क’ अनुसार कम्तीमा एक वडामा एक मतदन केन्द्र हुनुपर्ने कानुनी व्यवस्था छ । गत फागुन २३ गते प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेलको अध्यक्षतामा जिल्ला सिफारिस समितिको बैठक बसेको थियो । ‘सर्वदलीय बैठकमा नेताहरु आपसमा बाझिएपछि स्थान छनोट नगरी सिफारिस गरेको भन्ने बुझेको छु’, जिल्ला निर्वाचन अधिकृत नवराज अवस्थीले भन्नुभयो– ‘भर्खर सरुवा भएर आएकाले पनि थप जानकारी मगाएको छु ।’ दलहरु सहमत भए व्यवस्थापन गर्न सकिने उहाँको भनाइ छ ।

अन्तिम नामावली प्रकाशन भएपछि मतदान केन्द्र थप्न वा घटाउन पाउने कानुनी प्रावधान भने छैन । वडा नं पाँच जगन्नाथ गाउँपालिकाका अध्यक्ष एवं नेकपा एमाले जिल्ला कमिटी बाजुराका अध्यक्ष कालीबहादुर शाहीको गृह वडा हो ।

निर्वाचन आयोग नेपालका अनुसार बाजुरामा ८२ हजार १ सय १३ मतदाता संख्या रहेको छ । राष्ट्रिय मान्यताप्राप्त दलबाहेक बाजुरामा नौवटा दल जिल्ला निर्वाचन कार्यालयमा दर्ता भएका छन् । बाजुरामा १ सय १२ मतदान केन्द्र र ७० वटा मतदानस्थल कायम रहेको निर्वाचन कार्यालय बाजुराका सूचना अधिकारी विशाल पुडासैनीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्