माओवादीबाट निर्वाचित गाउँपालिका अध्यक्ष डल्लाकोटी एमाले प्रवेश



धादिङ ।

नेकपा माओवादीबाट गाउँपालिका निर्वाचित बेनिघाट रोराङ गाउँपालिका अध्यक्ष हरी डल्लाकोटी एमालेमा प्रवेश गर्नुभएको छ । नेकपा माओवादी केन्द्रका बागमती प्रदेश कमिटी सदस्य डल्लाकोटी जिल्लामा अब माओवादी केन्द्र छाड्ने लहर सुरु भएको र गाउँ गाउँबाट हजारौँ कार्यकर्ता एमाले प्रवेश गर्न सुरु भएको बताइएको छ ।

धादिङ जिल्लामा २०७४ को निर्वाचनमा माओवादीबाट निर्वाचित हुनुभएका अध्यक्ष डल्लाकोटी गठबन्धन संस्कृति लोकतन्त्रका लागि घातक भएकोले त्यसको बिरोध गर्दै एमालेको पुरानो घर फर्किएको बताउनुभएको छ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली निवासमा डल्लाकोटी पार्टी प्रवेश गर्दै आफूले विकासको आधार तयार गर्ने पार्टी नै एमाले भएकोले एमाले प्रवेश गरेको बताउनुभएको छ ।

पार्टीमा स्वागत गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो जनताको घरमा बसेर जनताका लागि काम गर्न डल्लाकोटीलाई आग्रह गर्नुभएको थियो । पार्टी प्रवेश कार्यृक्रममा नेकपा एमाले लेखा आयोगका अध्यक्ष डा. पुष्प कँडेल, नेकपा एमाले अध्यक्ष भूमि त्रिपाठी लगायतका एमाले नेताहरूको सहभागिता थियो ।

नेकपा एमाले पृष्ठभूमिबाट माओवादीमा सक्रिय हुनुभएका डल्लाकोटी धादिङ जिल्लामा माओवादीबाट निर्वाचित एक मात्र गाउँपालिका अध्यक्ष हुनुहुन्थ्यो । डल्लाकोटी एमालेमा प्रवेश गरेपछि माओवादीको सबै हैसियत समाप्त भएको विश्लेषण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्