गण्डकीमा सत्तारूढ दलबीच तालमेल गर्ने सहमति



टंक अधिकारी, कास्की । 

आगामी स्थानीय तहको निर्वाचनमा सत्तारूढ दलहरुबीच तालमेल गर्ने सहमति गरेका छन् । शनिबार नेपाली कांग्रेस गण्डकीको कार्यालयमा भएको पाँच दलका प्रदेश तथा जिल्ला तहका नेताहरुको बैठकले सो निर्णय गरेको हो ।

आशन्न स्थानीय तहको निर्वाचनमा मिलेर जाने निर्णय गरेको नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले बताउनुभयो । बैठकले निर्वाचनका लागि प्रदेशस्तरमा गठबन्धन बनाउँदै पाँच दलको संयुक्त घोषणापत्र जारी गर्ने र गठबन्धनका दलहरुवीच सोहार्दपूर्ण वातावरण तयार गरेर कार्ययोजना र कार्यदिशा दिने निर्णय गरेको उहाँको भनाइ छ । गठबन्धनभित्रका दलहरुले आगामी आ–आफ्नो संगठनको वर्तमान सांगठनिक अवस्थाको यथार्थ विवरण मातहतका संगठनबाट संकलन गरी विस्तृत विवरण आगामी बैठकमा पेस गर्ने निर्णयसमेत गरेका छन् ।

गठबन्धनको आगामी बैठक आगामी चैत २२ गते बस्ने कांग्रेस गण्डकी प्रदेशका प्रचार विभाग प्रमुख रमेश पौडेलले जनाउनुभयो ।

बैठकमा नेपाली कांग्रेसबाट गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा, नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशका अध्यक्ष गायत्री गुरुङ ‘कुसुम’, नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष केशवलाल श्रेष्ठ, जनता समाजवादी (जसपा) गण्डकी प्रदेश अध्यक्ष मोतीप्रसाद रिजाल, राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेश अध्यक्ष शंकर बराललगायतको सहभागी थियो ।

प्रतिक्रिया दिनुहोस्