‘मेरो कार्यकालमा औंला उठाउने ठाउँ छैन’



सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल सशस्त्र प्रहरी महानिरीक्षकको ४ वर्षे कार्यकाल पूरा गरेर यही चैत २८ गते अनिवार्य अवकाशमा जाँदै हुनुहुन्छ। ४ वर्षे कार्यकालमा उहाँले अघि सार्नुभएको आफ्नो योजना कति पूरा भए कति भएनन् भन्ने विषयमा नेपाल समाचारपत्रले लामो कुराकानी गरेको छ। उहाँले आफू संगठन प्रमुख हुँदा व्यक्त गरेका प्रतिबद्धता अधिकांश पूरा भएको दाबी गर्नुभएको छ। प्रतिकूल अवस्थाको बाबजुद पनि संगठनलाई चलायमान गराउन सशस्त्र प्रहरी महानिरीक्षक खनालले चाल्नुभएको कदम कति सफल भयो या भएन त्यो समयले बताउने नै छ । उहाँसँग नेपाल समाचारपत्रकर्मी दीपक रिजालले गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ।

सशस्त्र प्रहरी बल, नेपालको ३० वर्षे सेवा अवधिमा ४ वर्ष संगठन प्रमुखको कार्यकाल पूरा गरेर सेवा निवृत्त हुँदै हुनुहुन्छ रु यस्तो बेला कस्तो सोचाइ आउँदोरहेछ ?
देश र जनताको निःस्वार्थ सेवा गर्ने पवित्र उद्देश्य एवं लक्ष्य लिएर प्रहरी सेवामा प्रवेश गरेको संगठनको एक सिपाहीले सरुवा, बढुवा तथा अवकाशका नियमित प्रक्रियालाई सहज तरिकाले ग्रहण गरेको हुन्छ। संगठन प्रमुखको मेरो चार वर्षे कार्यकालको शुरुआती चरणदेखि नै देश, जनता र संगठनका लागि राज्यप्रदत्त जिम्मेवारी कुशलतापूर्वक सम्पादन गर्नु नै मेरो प्रमुख उद्देश्य एवं ध्येय थियो। सोहीबमोजिम योजनाबद्ध ढंगले मैले कार्य सम्पादन गर्ने पूर्ण प्रयास गरेँ।

संगठनको एउटा अभिभावकको भूमिका निर्वाह गर्दै गर्दा आफूले निभाएका भूमिका एवं जिम्मेवारीहरूप्रति फर्केर हेर्दा मैले देश, जनता र नेपाल सरकार, सम्माननीय प्रधानमन्त्री एवं माननीय गृहमन्त्रीबाट भएका आदेश निर्देशनहरूलाई आफ्नो क्षमताले भ्याएसम्म सकल दर्जाका राष्ट्रसेवकलाई साथमा लिई म नभनी हामी भन्ने भावनाका साथ कर्तव्य पूरा गरेँ। अवकाशको यो क्षणमा आइपुग्दा अवकाशपश्चात्को मेरो जीवनलाई मैले जीवनको तेस्रो जन्मको शुरुआतका रूपमा लिएको छु। मेरा लागि पहिलो जन्म जन्मेदेखि प्रहरी सेवामा नियुक्तिसम्म, दोस्रो जन्म प्रहरी सेवा नियुक्तपश्चात्को राष्ट्र र जनताको सेवा, सुरक्षा, सहयोग र आपत् विपद्मा उद्धारमा खटिँदाको नियुक्तिदेखि अवकाशको दिनसम्मलाई लिएको छु।

संगठन प्रमुखका रूपमा ४ वर्षको कार्यकाललाई आफैंले चाहिँ कसरी मूल्याङ्कन गर्नुभएको छ ?
मेरो कार्यकाललाई मैले भन्दा संगठनका सकल दर्जा र आम नेपाली जनताले मूल्याङ्कन गर्ने हो। नियुक्ति पश्चात् मैले संगठन मेरो घर हो, म यसको अभिभावक हुँ भन्ने हिसावले भूमिका निर्वाह गरेँ। संगठनमा कार्यरत सकल दर्जाको वृत्ति विकास, व्यावसायिक सेवा, विशिष्टीकरण संगठनको आधुनिकीकरणका पक्षहरूमा विशेष ध्यान दिने मेरो प्रयत्न रह्यो । नियुक्तिको समयमा मैले लिएका भिजन अनुसारका धेरै योजना कार्यान्वयन गर्न सकियो। यसका साथै संगठनमा आबद्ध सबैलाई इमानदार, अनुशासित, व्यावसायिक र कर्तव्यनिष्ठ रहनेतर्फ हौसला एवं उत्प्रेरणा दिने कार्यमा विशेष जोड रह्यो। मैले जानेंबुझे र सकेसम्म राष्ट्र, संगठन, जनता र सकल दर्जाका राष्ट्रसेवक हितमा काम गरेँ जस्तो लाग्छ। फेरि पनि म भन्छु, यो मूल्याङ्कन यहाँहरूले गर्ने हो, सकल दर्जाका राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरूले गर्ने हो र जनताले गर्ने हो।

यस बीचमा संगठनमा के-कस्ता सुधार भए ?
सशस्त्र प्रहरी महानिरीक्षकमा नियुक्ति भएको दिनदेखि नै संगठनको समग्र पक्षमा सुधारका योजनाहरू तर्जुमा गरी त्यसको कार्यान्वयनका लागि निरन्तर लागिरहें। महानिरीक्षकमा नियुक्त भएलगत्तै लामो समयदेखि रोकिएको सरुवा बढुवा तथा भर्ना सुचारु भयो। भर्ना प्रक्रियालाई थप पारदर्शी बनाएँ। सांगठनिक सुदृढीकरणका लागि संगठन सर्वेक्षण तथा व्यवस्थापन एवं विभिन्न कार्यविधिहरू तयार गरी लागू गरें। सशस्त्र प्रहरी बल, नेपाललाई ५८ जिल्लाबाट ७७ वटै जिल्लामा परिचालन गरें।

सीमा सुरक्षा एवं सीमा अपराध नियन्त्रणका लागि सीमा सुरक्षा कार्यालयका रूपमा रहेका युनिटलाई हाम्रो संगठनको सैनिक संरचनाअनुसार गणमा स्तरोन्नति गर्ने कार्य भयो। सीमा व्यवस्थापन एवं सीमा सुरक्षा जुन राष्ट्रिय सुरक्षाको प्राथमिकताको पहिलो अंश मानिन्छ, त्यसलाई बलियो बनाउन करिब १० हजार सशस्त्र प्रहरीको फौज खटिएको अवस्थालाई व्यवस्थित गराउँदै करिब १९ हजारको फौज परिचालन गरी हाल गण, गुल्म एवं बीओपीका माध्यमबाट सीमालाई बलियो बनाउने काममा एको छ। महाकाली, कालापानी नजिक छाङ्गरुदेखि पूर्वको ओलाङ्चुङ्गोलासम्म उत्तरंदक्षिण, पश्चिमंपूर्व गरी सीमानामा बीओपीको संख्यामा उल्लेख्य वृद्धि गरेर दक्षिणी सीमानामा ८७ वटा बोर्डर आउट पोस्टमात्र भएकामा सोबाट वृद्धि गरी २ सय २० र उत्तरी सीमानामा ७ बोर्डर आउट पोस्टह स्थापना गरी जम्मा २ सय २७ वटा बोर्डर आउट पोस्ट पुड्डयाएँ।

उक्त बोर्डर आउट पोस्टहरुको भवन निर्माण कार्यमा तीव्रता दिइएको छ। संगठनको आधुनिकीकरणका लागि प्रविधिको प्रयोग गर्दै मुख्य सीमा नाकामा सीसीटिभी क्यामरा जडान गरी प्रधान कार्यालयबाटै अनुगमन गर्ने व्यवस्था मिलाइएको छ । नेपाल सरकारको भ्रष्टाचारमा शून्य सहनशीलताको नीति अख्तियार गर्दै अवैध चोरी निकासी पैठारी नियन्त्रणमा आक्रमकरुपमा प्रस्तुत भई बरामद भएका मालसामान भन्सार दाखिला गरेर २ अर्ब ६० करोड ३२ लाख ७३ हजार ६ सय ४२ रुपियाँ बराबरको राजस्व सङ्कलनमा महत्त्वपूर्ण योगदान रह्यो।

बेरुजु फछ्र्यौटमा उत्कृष्टता हासिल गरी लगातार गृह मन्त्रालयबाट ३ वर्ष निरन्तर पुरस्कृत हुन संगठन सफल भयो। छिमेकी समकक्षीहरुसँगको विभिन्न चरणको छलफल र भेटघाटमार्फत सुमधुर सम्बन्ध स्थापना गरेका कारण सीमापार अपराध नियन्त्रणमा उल्लेख्य सफलता हासिल भयो। अमर सशस्त्र प्रहरीको सम्मान स्वरुप सशस्त्र प्रहरी बल, नेपालका सबै भवनमा अमर सशस्त्र प्रहरीको नामबाट नामकरण गर्ने प्रचलन शुरु भएको थियो। नेपाल एपीएफ क्लबले एएफसी क्लब लाइसेन्स हासिल गर्न सफल भयो। सशस्त्र प्रहरी बल तथा नेपालका तल्लो तहका कर्मचारीका परिवारजनको हितलाई ध्यानमा राखी काठमाडौंमा मात्र सीमित रहेको अस्पताल र स्कुललाई देशका विभिन्न भागमा विस्तार गरियो।

कोभिड महामारीको समयमा नेपाल एपीएफ अस्पतालबाट कोरोना महामारीबाट आक्रान्त जनता, सबै समूहका राष्ट्रसेवक कर्मचारीदेखि ठूलासाना सबैलाई प्रदान गरिएको सेवाको चौतर्फी रूपमा आमजनता एवं यहाँहरू जस्तो विज्ञ सञ्चारकर्मीहरूबाट प्रशंसा भएको विषय सबैलाई जानकारी नै छ। अस्पतालको विकास र विस्तारका लागि संगठनको निरन्तर प्रयास गरी रह्यो। अस्पताललाई विस्तार गर्ने क्रममा जनरल वार्ड १ सय १० शय्याको मात्र रहेकोमा ३ सय ५० शय्याको अस्पताल सञ्चालनका लागि अस्थायी स्वीकृति प्राप्त भयो।

तर, वृत्तिविकास त राम्रोसँग हुन नसकेको हो नि । जस्तै, १६ वर्षदेखि एउटै दर्जामा बस्नुपर्ने बाध्यतामा अधिकृत छन् नि होइन र ?
यहाँलाई थाहा छ सशस्त्र प्रहरी बल नेपालको तत्कालीन विषम परिस्थिति हुँदाको समयमा स्थापित भएको संगठन हो। स्थापनाकालमा नेपाल प्रहरी र नेपाली सेनाबाट स्थानान्तरण भई संगठनको स्थापना भएकामा सशस्त्र प्रहरी सेवा आयोगको गठनपश्चात् खुला प्रतिस्पर्धाबाट अधिकृत र जवानहरु संगठनमा प्रवेश गरेका हुन्। तत्कालीन समयमा संगठनको आवश्यकताको कारण छोटोंछोटो समयमा अधिक मात्रामा अधिकृतहरु भर्ना भएको र माथिल्लो तहमा कम दरबन्दी रहेका कारण तपाईंले भनेजस्तै वृत्तिविकास, विशेष गरी अधिकृतहरुको पदोन्नतिमा केही समस्या देखिएको हो।

म महानिरीक्षकमा नियुक्ति भइसकेपछि हालसम्म विभिन्न तहमा १५ हजार १ सय ३७ जनाको पदोन्नति भइसकेको छ। अधिकृत र जवानहरुको वृत्तिविकासका लागि संगठन सदैव कटिबद्ध छ। यसका लागि ऐन नियममा संशोधन एवं परिमार्जन गरी वृत्ति विकासका सम्भावनालाई अगाडि बढाउन मस्यौदा समिति सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को अध्यक्षता बनिसकेको समेत जानकारी गराउँदछु।

वृत्ति विकासको यो विकराल र भयावह अवस्था आगामी दिनमा सहज हुँदै जाने छ भन्ने लाग्छ तपाइँलाई ?
संगठनले विभिन्न समयमा संगठन सर्वेक्षण तथा व्यवस्थापनमार्फत आन्तरिक समायोजन गरी वृत्तिविकासको ढोका खोल्ने काम गरिरहेको छ। हालै मात्र संगठन सर्वेक्षण तथा व्यवस्थापनमार्फत केही पद सिर्जना गरेर संगठनले अधिकृतहरुको पदोन्नतिको सुनिश्चितता गरेको छ। मलाई लाग्छ, यससँगै पदोन्नतिको समस्या धेरै हदसम्म समाधान हुनेछ। संगठनले बाँकी रहेको समस्याको निराकरणका लागि गृह मन्त्रालयमार्फत केही जनशक्ति माग गरिसकेको छ। सोको प्राप्तिसँगै हाल देखिएको समस्या पूर्णपुरमा समाधान भएर जाने छ।

वृत्ति विकास नभएका कारणले र राजनैतिक हस्तक्षेपले संगठनमा अधिकृत तथा जवानको मनोबल कमजोर हुँदै गएको विभिन्न सञ्चारमाध्यममा आएका समाचारका आधारमा अनुमान लगाउन सकिन्छ । यस्तो कमजोर मनोबल भएको फौजले प्रभावकारी कार्य सम्पादन गर्न सक्ला ?
सशस्त्र प्रहरी ऐन २०५८ मा निर्दिष्ट गरिएका एवं राज्य प्रदत्त कार्यादेशहरू प्रभावकारी ढङ्गले सम्पादन गर्न सशस्त्र प्रहरी बल, नेपालका सकल दर्जाका राष्ट्रसेवक सदैव कटिबद्ध रहेका छन्। विनाशकारी महाभूकम्प२०७२, कोभिड महामारीको समयमा सीमा इलाका तथा अन्य भागमा भएको परिचालन र सम्पादन भएका कार्यहरु एवं कोभिड महामारीको समयमा नेपाल एपीएफ अस्पतालबाट प्रदान भएका सेवाहरुको आम जनमानसबाट मुक्तकण्ठले प्रशंसा हुनुले नै संगठनका अधिकृत तथा जवानको मनोबल कति उच्च छ भन्ने प्रमाणित गर्दछ। संगठनका सकल दर्जाले कार्यक्षेत्रमा उच्च मनोबलका साथ पूर्ण अनुशासित भई व्यावसायिकरुपमा प्रभावकारी ढङ्गले कार्य सम्पादन गर्दै आइरहेका कारण संगठन आजको यो अवस्थासम्म आइपुगेको हो।

त्रिशूलीको उर्लंदो भेलमा होस् वा कठ्याङ्ग्रिँदो हिमतालमा, ४ हजार २ सय मिटरको नेचुङ्गमा होस् वा तराईको गर्मी र डुबानमा राष्ट्रसेवकले प्रदर्शन गरेको व्यावसायिक क्षमता उच्च र अब्बल रहेको छ। यस्तै, चुनौतीपूर्ण जिम्मेबारीमा परिचालित भई कत्ति पनि विचलित नभएर सकलदर्जाका कर्मचारीले नेपाल र नेपालीको मुहारमा मुस्कान छर्ने काम गरिरहेका छन्। जुन कमजोर मनोबल भएको फौजबाट सम्भव छैन। आज देशका जुनसुकै स्थानमा पनि सशस्त्र प्रहरी बल, नेपालका राष्टझसेवकहरुले गरेको सेवा सुरक्षा एवं आपत् विपद्मा उद्धारका कारण जनताहरू र यहाँहरुबाट प्रशंसा बटुल्न सफल भएको छ भने यत्रतत्र सशस्त्र प्रहरी बल, नेपालको युनिट स्थापनाका लागि माग भएको अवस्था छ।

यसमा राजनीतिक हस्तक्षेप पनि त भयो होला ? 
नेपाल सरकारले संगठन प्रमुखको जिम्मेवारी प्रदान गरेदेखि नै संगठन व्यवस्थापनका सँगसँगै संगठनलाई राज्य प्रदत्त कार्यादेश कुशलतापूर्वक सम्पादन गर्ने कार्य नै प्रमुख लक्ष्यका रुपमा लिएर अगाडि बढें। कार्यक्षेत्रमा सम्पादन गर्नुपर्ने कार्य सम्पादन गर्दा नेपालको संविधान, सशस्त्र प्रहरी ऐन तथा नियमावली एवं अन्य प्रचलित कानुनबमोजिम मात्र निर्णय गराएँ।

नेपाल सरकार र गृह मन्त्रालयबाट भएका नीतिगत निर्णय/निर्देशनलाई कार्यान्वयन गर्दा होस् वा कानुनबमोजिमका अन्य कार्य गर्दा मैले कानुनको अधीनमा रही स्वतन्त्र ढङ्गले कार्य गर्ने वातावरण पाएँ। संगठनबाट वितरण हुने सेवांसुविधा एवं कल्याणकारी कार्यहरु मौजुदा ऐन र कानुनको अधीनमा रही सकलदर्जामा न्यायपूर्ण ढङ्गले वितरण गरी कुशल रुपमा अभिभावकत्वको भूमिका निर्वाह गरें। कसैलाई पक्षपात नगरी सम्पूर्णमा समान व्यवहार गरेकाले नै म कार्य गर्न स्वतन्त्र थिएँ र छु।

राजनैतिक हस्तक्षेप भएन भन्नुभयो ? खासमा कुरा कहाँ रोकियो त ?
राज्यप्रदत्त कार्यादेश संगठनले स्वतन्त्र रूपमा प्रभावकारी ढंगले सम्पादन गरिरहेको छ। संगठनको आन्तरिक व्यवस्थापनका कार्यहरु जस्तै बढुवा, सरुवा तालिम मिसन, कल्याणकारी कोष सञ्चालन आदि स्वतन्त्र ढंगले नियमित रूपमा भइरहेका छन्। बरु मैले संगठनको नेतृत्व सम्हालेपश्चात् लामो समयदेखि रोकिएको बढुवा खुलेको र नियमित रूपमा भएको छ। वृत्ति विकासमा देखिएका समस्यासमेत धेरै हदसम्म सम्बोधन हुँदै गइरहेको र यसले एउटा कोर्ष निर्धारण गरिसकेको छ।

संगठनमा हुने मालसामान खरिदमा आर्थिक पारदर्शिता नभएको आरोप लाग्दै आएको छ नि, यसमा तपाइँको केही भन्नु छ ?
संगठनले भ्रष्टाचारमा शून्य शहनशीलताको नीति अँगालेको छ। नेपाल सरकारबाट प्राप्त बजेट परिचालन एवं खर्च प्रचलित नियम कानुनबमोजिम मात्र भएका छन्। खरिद प्रक्रिया विद्युतीय खरिद प्रणालीअन्तर्गत सम्पादन भएका छन्। स्वीकृत बजेट तथा कार्यक्रमहरुलाई टुक्राएर खरिद गरिएको छैन। मालसामानको गुणस्तर तथा आपूर्ति सुनिश्चितता गर्नका लागि मालसामानको स्पेसिफिकेसन र मालसामानको गुणस्तर परीक्षण गर्न सार्वजनिक खरिद नियमावलीमा व्यवस्था भए बमोजिम सम्बन्धित निकायमा प्राविधिक परीक्षण गराउनुका साथै प्रयोगात्मक परीक्षणसमेत गर्ने गरिएको छ।

बोलपत्र दाताको योग्यता र सर्तहरु सार्वजनिक खरिद अनुगमन कार्यालय र प्रचलित ऐन नियममा तोकिएबमोजिम निर्धारण गरिएको छ। प्रचलित कानुनबमोजिम बजेट परिचालन गरी बेरुजु फछ्र्यौटमा उत्कृष्टता हासिल गरी लगातार नेपाल सरकार, गृह मन्त्रालयबाट तीन पटक पुरस्कृत हुनु नै संगठन आर्थिक रूपमा पूर्ण पारदर्शी भएको प्रमाणित भएको छ। बजेट विनियोजनको हकमा नेपाल सरकार, अर्थ मन्त्रालयबाट एलएमबीआईएस प्रणालीअन्तर्गत सबै युनिटमा जाने भएकाले प्रधान कार्यालयको बजेट बाँडफाँड गर्ने सम्बन्धमा कुनै भूमिका रहेको हुँदैन।

सशस्त्र प्रहरी बलको ४ वर्षको नेतृत्वसहित ३० वर्षको कार्य अनुभव बटुल्नुभयो, अर्धसैनिक बलको परिचालन यस्तै हुनुपर्ने हो कि फरक ढंगले परिचालित हुनुपर्ने हो ?
अर्धसैनिक सुरक्षा संगठनको आफ्नै विशिष्ट गुण र कार्य संस्कार हुन्छ। यो राज्यले निर्दिष्ट गरेको कार्यादेशलाई सफलतापूर्वक सम्पन्न गर्न प्रचलित ऐन कानुनको अधीनमा रही परिचालन हुन्छ। सशस्त्र प्रहरी बल पनि राज्यप्रदत्त कार्यादेशहरु ऐन कानुनको परिधिभित्र रहेर सम्पादन गर्न ७७ वटै जिल्लामा विभिन्न रूपमा परिचालित छ। यसलाई प्राप्त कार्यादेशहरुमा पूर्ण व्यावसायिकताका साथ परिचालन भइरहेको छ।

राष्टझको आवश्यकताअनुसार समयंसमयमा यसको जिम्मेवारी समेत थप भइरहेको छ। डेडिकेटेड फोर्सका रूपमा सीमा सुरक्षामा परिचालन हुँदा यदाकदा कार्यसम्पादन र समन्वयमा देखिएका समस्या सीमा सुरक्षा ऐन जारी भएपश्चात् समाधान हुनेछ। जुन माननीय गृहमन्त्रीज्यूबाट जारी भएको गृह प्रशासन सुधार कार्ययोजनां२०७८ को क्रमसंख्या १४ मा समेत उल्लेख भई ऐन तर्जुमाको प्रक्रियामा रहेको छ। गतिशील संगठनको परिचालन एवं जिम्मेवारी समय, परिस्थिति र देशको आवश्यकताको आधारमा परिवर्तन हुने विषयहरु हुन्। मलाई लाग्छ, हतियारसहितको परिचालन हुने फोर्सले दिएको जिम्मेवारी पूरा गर्न आवश्यकता अनुसार जनशक्ति, स्रोतसाधन एवं उचित बजेट विनियोजन भएको अवस्थामा अझ उच्चस्तरमा काम गरेर देखाउन सक्नेछ।

अन्त्यमा केही भन्नुहुन्छ कि ?
आजभन्दा करिब ४ वर्षअघि नेपाल सरकारले मलाई संगठन प्रमुखको जिम्मेवारी प्रदान गरी सशस्त्र प्रहरी बलको नेतृत्व गर्ने अवसर प्रदान गरेकोमा नेपाल सरकारप्रति हार्दिक आभार व्यक्त गर्दछु। साथै राष्ट्रको सुरक्षा, राष्ट्रियता र राष्ट्रिय अखण्डताको जगेर्ना एवं नेपाली जनताको सेवा, सुरक्षा, सहयोग र उद्धार एवं देशमा शान्ति सुरक्षा कायम राखी सुशासन बनाएर विकास निर्माणका लागि सुरक्षित वातावरण तयार गर्ने कार्यमा प्रभावकारी रूपमा कार्यसम्पादन गर्ने वातावरण मलाई प्राप्त भएकोमा गृह मन्त्रालयप्रति विशेष आभार व्यक्त गर्दछु।

साथै सल्लाह, सुझाव एवं सहयोग गर्नुहुने विभिन्न मन्त्रालय, संवैधानिक निकाय, कूटनीतिक नियोग, अन्य सुरक्षा निकाय, विज्ञ सञ्चारकर्मी, विभिन्न सङ्घसंस्था, आम नेपाली दाजुभाइ तथा दिदीबहिनी एवं सम्पूर्ण राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीप्रति समेत हार्दिक आभार व्यक्त गर्दछु। साथै, नयाँ वर्ष २०७९ को उपलक्ष्यमा सम्पूर्णमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु।

प्रतिक्रिया दिनुहोस्