श्रवण दृष्टिविहीन बालबालिकाको अधिकारको माग गर्दै अभिभावक भेला



काठमाडौं । 

श्रवण दृष्टिविहीन अपाङ्गता भएका बालबालिकाका अभिभावकले आफ्ना सन्तानले पनि अन्य बालबालिका सरह विद्यालयमा भर्ना भएर पढ्न पाउने वातावरण बनाउन सरकारसँग माग गरेका छन् ।

 राजधानीमा आयोजित तीनदिने सम्मेलनमा सहभागिता जनाउँदै उहाँहरूले स्कुलले भर्ना नलिँदा आफ्ना सन्तानले सिक्न पाउने, समाजमा पुनर्स्थापना हुने अधिकारबाट वञ्चित भएको भन्दै त्यस्तो माग गरेका हुन् । सम्मेलनमा मोरङ, कास्की, रुपन्देही, काठमाडौँ उपत्यका वरपरका श्रवण दृष्टिविहीन अपाङ्गता भएका बालबालिकाका  अभिभावकहरूको सहभागी रहेको थियो ।

सङ्घका अध्यक्ष लाक्पा नोवु शेर्पाले यस किसिमको अपाङ्गता भएका बालबालिकालाई  स्कुलले भर्ना लिए, आवश्यक सहयोग सङ्घको तर्फबाट उपलब्ध गराउने  प्रतिबद्धता जनाउनुभयो ।उहाँले आँखा पनि नदेख्ने र कान पनि नसुन्ने बालबालिकाले अन्य बालबालिका सरह सिक्न नसके पनि  घरमा थुनेर राख्दा भन्दा समूहमा राखेर सिकाउँदा आफ्नो दैनिकी आफैँ गर्न सक्ने, आफ्ना साथी चिन्ने,अभिभावकले धेरै समय दिनुपर्ने र समाजमा घुलमिल हुनेलगायतका  क्षमताको विकास हुने अनुभवका कारण समावेशी सिकाइका लागि स्कुलले भर्ना लिन  माग गरेको बताउनुभयो ।


शेर्पाले हरेक व्यक्तिको दैनिकी समान हुनुपर्नेमा अपाङ्गता भएका बालबालिकाका साथ अभिभावक थप आर्थिक, सामाजिक र पारिवारिक समस्यामा रहेको कुरा बताउनुभयो । उहाँले नेपालमा जति पनि अपाङ्गता भएका बालबालिका छन् उनीहरूका अभिभावकले आफ्ना बच्चालाई घरमा बाँधेर वा थुनेर राख्नुपर्ने बाध्यता धेरै छन् । बच्चाको उमेर बढेसँगै उनीहरूलाई सम्झाउन, बुझाउन सकिन्न ।

घरबाहिर जानासाथ समाजले अपाङ्गता भएका बालबालिकालाई माया भन्दा अपहेलन गर्ने, गालिगलो गर्ने लगायतका व्यवहार गर्दा उनीहरूले नबुझेर थप रिसाउने र बिगो गर्ने हुन्छन् । यस्तो अवस्थामा अभिभावकहरूलाई समेत अपमान गर्ने र अपशब्द बोल्ने सम्मका व्यवहारले गर्दा आफ्ना बच्चालाई घरमा बाँधेर, थुनेर राखी काम गर्नुपर्ने बाध्यताका विषयमा सरकारले ध्यान दिई यस्ता व्यक्तिका लागि स्याहार सुसार गर्ने, व्यवहारिक शिक्षा दिने खालका तालीम दिनका लागि दक्ष जनशक्ति उत्पादन गरी अपाङ्गता भएका बालबालिकाको मानव अधिकारको रक्षा गर्ने तर्फ ध्यान दिनुपर्ने बताउनुभयो ।

उहाँले सरकारले सहयोग गर संघले केही समयका लागि पढाउने शिक्षक, अभिभावक र आयाको समेत व्यवस्था सङ्घले गर्ने र सम्बन्धित स्कुलकै शिक्षकलाई तालिम दिलाउने समेत बताउनुभयो ।अध्यक्ष शेर्पाले अपाङ्गता भएका बालबालिकालाई हेर्ने अभिभावकको मात्र कर्तव्य होइन, स्थानीय सरकार, शैक्षिक संस्थाले पनि समन्वय गरेर सिक्ने अवसर प्रदान गर्न  अभिभावकहरूको सामूहिक माग हो, भन्नुभयो ।श्रवण दृष्टिविहीन  भएका बालबालिकाको समावेशी शिक्षा परियोजना संयोजक शङ्कर चैसिरले सबै क्षमताका बालबालिकाले सँगै शिक्षा हासिल गर्न पाउनु समावेशी शिक्षा अधिकार हो, अपाङ्गता भएका बालबालिकामध्ये सबैभन्दा उपेक्षित श्रवण दृष्टि विहीन बालबालिकालाई समाजमा घुलमिल हुने, केही सिक्ने अवसर स्कुलहरूले प्रदान गर्नुपर्ने बताउनुभयो ।

उहाँले समावेशी शिक्षा नीतिको कार्यान्वयनका लागि पनि यस वर्गका बालबालिकाले स्कुल भर्ना हुनु पाउनुपर्छ, भन्नुभयो । दस प्रकारका अपाङ्गता भएका व्यक्तिमध्ये वि.स. २०६८ जनगणना अनुसार श्रवण दृष्टिविहीन नौ हजार ७ सय १४ जना रहेको तथ्याङ्क रहेको छ । भने यस प्रकारका अपाङ्गता भएका व्यक्तिले घुसेर, छोएर र स्वाद लिएर खाना, परिवारका सदस्य, साथी र वरपरको वातावरणको अवस्था थाहा पाउने क्षमता रहेको पाइएको सङ्घले जनाएको छ ।  त्यस्तै श्रवण दृष्टिविहीन बालिकाका अभिभावक बबिता धौवन्जारले आफ्ना छोरीलाई दिवा सेवा प्रदान गर्ने संस्थामा राख्दा केही परिवर्तनको महसुस गरेकोले स्कुलमा राख्ने अवसरको खोजीमा रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्