‘स्वस्थ शहर धुलिखेलको सर्भेक्षण तथ्याङ्क सार्वजनिक



मोतीराम तिमल्सिना, काभ्रे । 
नेपालमै पहिलो पटक धुलिखेल नगरपालिकाले स्वस्थ शहर निर्माणको प्रकृयालाई कार्यान्वयनमा ल्याएको छ । जनप्रतिनिधि निर्वाचित भए लगत्तै सबै नागरिकहरुलाई स्वस्थ बनाउँदै धुलिखेल नगरपालिकालाई स्वस्थ शहर निर्माण गर्न भएका पटक पटकका प्रयासलाई कार्यान्वयन तहमा पु-याएको नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले बताउनु भयो ।
शुक्रबार धुलिखेल अस्पतालमा स्वस्थ शहर निर्माणका लागि नगरपालिका र अस्पतालले संयुक्त रुपमा गरेको स्वस्थ शहर सर्भेक्षणको प्रारम्भिक तथ्याङ्क प्रस्तुत गरिएको छ । नगरपालिका भित्र रहेका ३८ हजार ८ सय २० नागरिकहरुलाई स्वस्थ राख्न अभियान शुरु गरिएको उहाँले बताउनु भयो । ‘नगरपालिका भित्र पर्याप्त स्वास्थ्य संस्थाहरु छन्, स्वास्थ्य सेवाको पहुँच पनि छ तर नागरिकहरु स्वस्थ बनाउन सकिएन भने त्यसको कुनै अर्थ हुँदैन’–नगर प्रमुख अशोक ब्याञ्जुले भन्नुभयो–‘जनप्रतिनिधि निर्वाचित भए लगत्तै स्वस्थ शहर अभियानका लागि स्वच्छ खानेपानी, फोहोर पानी प्रशोधन, शुन्य कार्वन उत्र्सजन, स्वास्थ्य बीमा लगायतका कार्यक्रम अयिभानकै रुपमा शुरु भए र कार्यान्वयनमा गए ।
जसका कारण ९१ प्रतिशत घरमा खानेपानी, ७१ प्रतिशत फोहोर पानी प्रशोधन, शुन्य कार्वन उत्सर्जन तथा गरिवी न्यूनिकरणलाई प्राथमिकतामा राखिएको छ । १२ प्रतिशतबाट गरिवीको दर ४.३६ प्रतिशतमा झरेको नगर प्रमुख ब्याञ्जुले बताउनु भयो ।
तथ्याङ्कमा धुलिखेल नगरपालिका भित्र कति नागरिकहरु कस्तो रोगको संक्रमणमा छन् ? कस्ता कस्ता रोगहरु बाट नागरिकहरु उपचार गराईरहेका छन् ? स्वास्थ्य सेवाको पहुँचमा छन् कि छैनन ? सेवाको अवस्था कस्तो छ ? विविध विषय समेटिएको छ । सोहि तथ्याङ्कका आधारमा नगरपालिका र धुलिखेल अस्पतालले संयुक्त रुपमा धुलिखेल नगरपालिकालाई स्वस्थ शहर निर्माण गर्ने अस्पतालका अध्यक्ष दिर्घराज बरुण श्रेष्ठले बताउनु भयो ।
अस्पतालमा भएको जनशक्ति र पूर्वाधारको अधिकतम उपयोग गर्दै स्थानीय सरकार धुलिखेल नगरपालिकाको समन्वयमा धुलिखेललाई स्वस्थ शहर निर्माण गर्न सकिन्छ भन्ने योजनाका साथ साझेदारी गरिएको उहाँले बताउनु भयो । अस्पतालका प्रमुख डा. रामकण्ठ माकजुले समृद्धिका लागि प्रकृति नविगारी सुखी र खुशी बन्न स्वस्थ नागरिक तयार गर्ने अभियानमा अस्पतालको समन्वय रहने बताउनु भयो । विश्व स्वास्थ्य संगठनका प्रतिनिधि डा. राजेश सम्बाजिरो पाण्डवले धुलिखेलले शुरु गरेको नागरिक स्वस्थ बनाउने अभियान महत्वपूर्ण भएकाले सहयोग र समन्वय रहने बताउनु भयो ।
सर्भेक्षण तथ्याङ्क प्रस्तुत गर्ने कार्यक्रममा अस्पतालका डा. विराज कर्माचार्यले नगरपालिकाले नागरिकको स्वास्थ्यमा प्राथमिकता दिएकोमा अस्पतालले सहयोग पु-याएको बताउनु भयो । कार्यक्रममा धुलिखेल नगरपालिका उपप्रमुख विमला शर्मा, वडा अध्यक्षहरु, अस्पतालका विभिन्न विभागका प्रमुखहरु तथा विभिन्न क्षेत्रका ब्यक्तिहरुको सहभागिता रहेको थियो  ।
के के ग-यो नगरपालिकाले ? 
धुलिखेल नगरपालिकाले हेल्दी सिटी अबधारणमा रहेर नगरको स्वास्थ्य प्रोफाइल तयार गरेको छ । गुणस्तरीय र विश्वसनीय स्वास्थ्य सेवालाई जनताको पहुँचमा लैजान नगरपालिकाले नीति तथा कार्यक्रममा स्वास्थ्य चौकीहरूमा स्तरोन्नति गर्ने, आधुनिक औजारउपकरण उपलब्ध गराउने कार्य मार्फत सेवा अभिवृदि गर्ने तथा गुणस्तर बढाउने कार्य गरेको छ । नगरपालिकाको केन्द्रबाट टाढा रहेका वडा नं १ देवीटार स्वास्थ्य चौकी र वडानं १२ शंखु पाटीचौर स्वास्थ्य चौकीमा २४ सै सेवा प्रदान गरिने गरी सुरक्षित मातृत्व सेवा प्रदान गर्न बर्थिङ सेन्टरका रूपमा सेवा उपलब्ध गराइएको छ ।
वडा नं १० मा जेष्ठ नागरिकहरुका लागि मासिक क्लिनिक सेवा सुचारु गरिनुका साथै सुत्केरी पोषण कार्यक्रम सञ्चालनमा रहेको छ भने स्वास्थ्यका आर्पुती तथा भण्डरण सम्बन्धी लजेस्टिक म्यानेजमेन्ट इलेक्ट्रोनिक माध्यममा ब्यबस्थापन छ ।  नगर पालिकाले महिला स्वास्थ्य स्वयं सेविकाको छुुट्टै ब्यक्तीगत खाता सञ्चालन गर्न लगाई मासिक रुपमा रु १००० भत्ता दिने गरेको  छ । आयुर्बेदका सेवालाई वडा नं २ र ११ मा समेत बिस्तार गरिएकोे छ । नगर स्वास्थ्य केन्द्र लगायत सम्पुर्ण स्वास्थ्य संस्थाहरुबाट ब्लड सुगर तथा गर्भ परिक्षण लगायतका प्रयोगशालाका आधारभुत सेवाहरु बिस्तार गरिएका छन ।
धुलिखेल प्राथमिक स्वास्थ्य केन्द्रमा नगर भरिका स्वास्थ्य सुचनाहरुका उपलब्ध हुनेगरी  हेल्थ लर्निङ सेन्टरको रुपमा बिकसित गर्न स्वास्थ्य सुचना केन्द्र स्थापना गरिएको  छ । नगरबासीलाई निशुल्क एम्वुलेन्स सेवा तथा प्रदान गरिएको छ भने काभ्रे स्वास्थ्य चौकीमा प्रयोगशाला सेवा विस्तार गरिएको छ । वडा नम्वर १ र २मा स्वास्थ्य चौकी भवन निर्माण सुरु भैसकेको छ । त्यसैगरी वडा नम्वर ९ काभ्रे भञ्ज्यागमा १८ करोडको लागतमा १५ शैयाको अस्पताल निर्माण शुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस्