अमेरिका र मेक्सिको विश्वकपमा



लन्डन ।

अमेरिका र मेक्सिको यस वर्ष कतारमा आयोजना हुने फिफा विश्वकप फुटबल प्रतियोगितामा छनोट हुन सफल भएको छ । बुधबार राति अमेरिका अन्तिम छनौट खेलमा पराजित भए पनि यस वर्ष कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलमा छनोट हुन सफल भएको हो । छनोटको अन्तिम खेलमा अमेरिका कोस्टारिकासँग २–० ले पराजित भएको थियो ।

यो हारका बाबजुद पनि अमेरिकाले कतार विश्वकपको टिकट काट्न सफल भयो । कोस्टारिकालाई जिताउन खेलको ५१औं मिनेटमा जाउन पाब्लो भर्गासले गोल गरे भने ५९औं मिनेटमा एन्थोनी कोन्ट्रेरासले दोस्रो गोल थपे । अन्तिम खेलमा अमेरिकाले हार टार्न नसके पनि सफलतापूर्वक विश्वकपमा भने स्थान बनायो । यसअघि, अमेरिका सन् २०१८ मा रसियामा सम्पन्न विश्वकपमा भने छनोट हुन सकेको थिएन ।

यता, अन्तिम खेलमा मेक्सिकोले इएल साल्भाडोरलाई २–० ले हराउँदै कतार विश्वकपमा स्थान बनाउन सफल भयो । मेक्सिकोको जितमा १७औं मिनेटमा युरिएल आन्टुनलो गोल गरे भने ४३औं मिनेटमा पेनाल्टीमार्फत् राउज जिमेन्जले गोल गरे । दोस्रो हाफमा दुवै तर्फबाट गोल नभएपछि खेल मेक्सिकोले २–० ले जित्यो । यससँगै उत्तर अमेरिका महादेशबाट विश्वकपमा तीन राष्ट्र सोझै छनौट भएका छन् । क्यानाडा शीर्ष स्थानमा रहेर छनोट भयो भने दोस्रो स्थानमा मेक्सिको रह्यो । अमेरिका तेस्रो स्थानमा रहेर छनौट भयोे । २०१८ को विश्वकप खेलेको कोस्टारिका भने यसपटक सोझै छनोट हुन सकेन । समूहको चौथो स्थानमा रहेकोले कोस्टारिका सोझै छनोट हुनबाट बञ्चित रह्यो । अन्तिम खेलमा कोस्टारिकाले अमेरिकालाई पराजित गरे पनि सोझै विश्वकपमा स्थान बनाउन सकेन ।

तर, कोस्टारिका प्लेअफका लागि भने छनौट भएको छ । उत्तर अमेरिकाको प्लेअफ टिमका हैसियतमा कोस्टारिकाले अब ओसियाना महादेश प्लेअफ टिम न्यूजील्यान्डसँग प्लेअफको फाइनल म्याच खेल्नेछ । सो खेल जित्ने टिम कतार विश्वकपमा छनोट हुनेछ । यसको अर्थ कोस्टारिकासँग अझै पनि विश्वकपमा छनोट हुने अवसर छ । यससँगै विश्वकपमा छनौट हुने देशको संख्या २ पुगेको छ । अब अन्तिम तीन देश छनौट हुन बाँकी छ ।

जसमध्ये युरोपबाट एक टिम बाँकी रहेको छ । यूरोपबाट वेल्सले युक्रेन र स्कटल्याण्डबीचको विजेतासँग खेल्नुपर्ने भए पनि यूक्रेन र स्कटल्याण्डबीचको खेल नभएका कारण अन्तिम टोलीको टुंगो लाग्न सकेको छैन । त्यस्तै, एसिया र दक्षिण अमेरिका प्लेअफबाट एक देश अर्थात अस्ट्रेलिया र युएईबीच हुने खेलको विजेताले पेरूको सामना गर्नेछ । त्यसैगरी उत्तर अमेरिका र ओसियानाको प्लेअफबाट एक देश छानिनेछ । जसमा कोस्टारिकाले न्युजिल्यान्डसँग खेल्ने समीकरण बनेको छ ।

प्रतिक्रिया दिनुहोस्