प्रगतिवादी कलाकर्मी सम्मानित



प्रगतिवादी कला, साहित्य, गीत–संगीत तथा संस्कृतिका क्षेत्रमा योगदान पुर्याएका पाँच स्रष्टालाई हालै राजधानीमा आयोजित एक समारोहबीच सम्मान गरिएको छ। समारोहमा जनसांस्कृतिक महासंघ नेपालले प्रदान गर्दै आएको १० हजार पुरस्कार राशि र ताम्रपत्रसहितको जनसांस्कृतिक राष्ट्रिय सम्मान २०७८ बाट ललित कलाकर्मी जुलुमलाल चित्रकार, साहित्यकार पोषराज पौडेल, फिल्मकर्मी विमल पौडेल, गायिका प्रगति हिङमाङ र नाट्यकर्मी जेवी रुवालीलाई सम्मानित गरिएको छ।

उनीहरूलाई सम्मान गर्दै नेकपा (माओवादी केन्द्र) का नेता तथा पूर्वसभामुख कृष्णबहादुर महराले समाज रूपान्तरणका लागि संस्कृतिकर्मीले महत्वपूर्ण योगदान दिएको चर्चा गरे। नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा जनसांस्कृतिक महासंघ नेपालका इन्चार्ज डा. गोपाल ठाकुरले कलाकारलाई वस्तु मात्रै सम्झिने मानसिकताबाट माथि उठ्नुपर्नेमा जोड दिँदै संघर्ष र चुनावका बेला संस्कृतिकर्मी चाहिने प्रवृत्तिको अन्त्य हुनुपर्ने विचार व्यक्त गरे।

यस्तै, प्रगतिवादी साहित्यकार ईश्वरचन्द्र ज्ञवालीले जनयुद्धका बेला हत्याको शृंखला विभिन्न स्थानमा गरिए पनि कलाकारको आवाजले गाउँ–बस्तीलाई बिउँझाउने काम गरेको चर्चा गरे। अवधारणा पत्रमाथि टिप्पणी गर्दै उपप्राध्यापक बालाकृष्ण अधिकारीले प्रगतिशील संस्कृतिका विषयमा ज्ञवालीले गहिरो संश्लेषण गरेको बताए। जनसांस्कृतिक महासंघका उपाध्यक्ष कर्ण विद्रोहीले संस्कृतिकर्मीले आफ्ना सिर्जनामार्फत रूपान्तरणका पक्षमा माहोल सिर्जना गर्नुपर्नेमा जोड दिए।

महासंघका उपाध्यक्ष भीम कुमाखीले सम्मानित स्रष्टाको व्यक्तित्व र कृतित्वका बारेमा चर्चा गरे। महासंघका केन्द्रीय सचिव केशरी घर्ती मगरले संस्कृतिकर्मीले दिएको बलिदानले देशमा परिवर्तन आउन सकेको बताइन्। महासंघका केन्द्रीय अध्यक्ष मातृका पोखरेलले सांस्कृतिक रूपान्तरणविना समाज परिवर्तन हुन नसक्ने बताए।

प्रतिक्रिया दिनुहोस्