कालीगण्डकी गाउँपालिकामा को बन्ला अबको अध्यक्ष



स्याङ्जा ।

२०७४ सालको स्थानीय निर्वाचनमा कालीगण्डकी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेले जित हासिल गरेको थियो । कालीगण्डकी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका खिमबहादुर थापा र उपाध्यक्षमा सावित्रा कोइराला विजयी हुनुभएको थियो ।

कालीगण्डकी गाउँपालिकाको अध्यक्षमा थापा ५ हजार ८८ मत ल्याएर विजयी हुँदा नेपाली कांग्रेसका शेरबहादुर थापाले ४ हजार ४ सय २२ र नेकपा माओवादी केन्द्रका इन्द्रबहादुर थापाले ३ सय ५४ मत प्राप्त गर्नुभएको थियो ।

त्यसै गरी, उपाध्यक्षमा नेकपा एमालेकी सावित्रा कोइराला ५ हजार १ सय १६ मत ल्याएर विजयी हुँदा नेपाली कांग्रेसकी तुलसा पाण्डे भट्टराई ४ हजार ३ सय २५ र नेकपा माओवादी केन्द्रकी कमलादेवी विश्वकर्माले ३ सय ४८ मत ल्याउनुभएको थियो ।

७ वडा रहेको कालीगण्डकी गाउँपालिकाकोे वडा नं १, ५, ६ र ७ गरी ४ वटा वडामा नेकपा एमालेले र बाँकी रहेको २, ३ र ४ गरी तीनवटा नेपाली कांग्रेस विजयी भएको थियो ।

कालीगण्डकी गाउँपालिकाको वडा नं १ मा नेकपा एमालेका सोभिलाल चौतारेले १ हजार १ सय ७३ मत ल्याएर विजयी हुँदा उहाँको प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका अंकबहादुर घर्ती मगरले ४ सय ७० र नेपाली कांग्रेसका हरिचन्द्र पाण्डेले ८२ मत ल्याउनुभएको थियो ।

त्यस्तै, वडा नं २ मा नेपाली कांग्रेसका नरबहादुर रानाले ८ सय मत ल्याएर विजयी हुँदा उहाँको प्रतिद्वन्द्वी राष्ट्रिय जनमुक्ति पार्टीका खडकबहादुर झेडीले ६ सय ८ र नेकपा माओवादी केन्द्रका ओमबहादुर सिंजालीले १ मत ल्याउनुभएको थियो । गाउँपालिकाको वडा नं ३ मा नेपाली कांग्रेसका रामबहादुर आलेले ७ सय ३९ मत ल्याएर विजयी हुँदा उहाँको प्रतिद्वन्द्वी नेकपा एमालेका गोकुल रानाले ७ सय २८ मत ल्याउनुभएको थियो ।

त्यसै गरी, वडा नं ४ मा नेपाली कांग्रेसका चक्रपाणी पाण्डेले ७ सय ५४ मत ल्याएर विजयी हुँदा उहाँको प्रतिद्वन्द्वी नेकपा एमालेका नारायणप्रसाद पाण्डेयले ५ सय, नेकपा माओवादी केन्द्र गणेशप्रसाद पाण्डेले १ सय ५१ र स्वतन्त्रका लोकनाथ पाण्डेयले २३ मत ल्याउनुभएको थियो ।

गाउँपालिकाको वडा नं ५ मा नेकपा एमाले लोकेदार थापाले ७ सय २ मत ल्याएर विजयी हुँदा उहाँको प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रुकबहादुर थापाले ६ सय ६४, नेकपा माओवादी केन्द्रका चन्द्र कान्त न्यौपानेले ४७ मत ल्याउनुभएको थियो । त्यस्तै, वडा नं ६ मा नेकपा एमालेका लीलाबल्लभ अधिकारीले ९ सय १० मत ल्याएर विजयी हुँदा उहाँको प्रतिद्वन्द्वी नेपाली कांग्रेसका २ सय ३९ मत ल्याउनुभएको थियो ।

गाउँपालिकाको वडा नं ७ मा नेकपा एमालेका मुक्तिप्रसाद भट्टराईले ५ सय ७७ मत ल्याएर विजयी हुँदा उहाँको प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भीमप्रसाद भट्टराईले ५ सय २२ र नेकपा माओवादी केन्द्र का गुरुप्रसाद भट्टराईले ५९ मत ल्याउनुभएको थियो ।

अहिलेको चुनावमा कुन पार्टीबाट कसको चर्चा

नेकपा एमाले
खिमबहादुर थापा

कालीगण्डकी गाउँपालिकाको पहिलो अध्यक्ष जित हासिल गरेकै कारण नेकपा एमालेले सोही गाउँपालिकाको अध्यक्षका लागि पुनः खिमबहादुर थापालाई अगाडि बढाउने सम्भावना देखिन्छ । सरल र निकै मिजासिला स्वभाव भएका थापा नेकपा एमालेबाट चुनाव लडेर गाउँपालिका अध्यक्षमा निर्वाचित भए पनि सबैका प्रिय बन्न सफल हुनुभयो । जनताको सेवामा खटिरहने भएकाले नेकपा एमालेले गाउँपालिका अध्यक्षका लागि पुनः थापालाई अगाडि सार्ने सम्भावना बलियो देखिन्छ ।

केशर क्षत्री

कालीगण्डकी गाउँपालिकामा नेकपा एमालेका खम्बा भनेर चिनिनु भएका केशर क्षत्री योपटकको गाउँपालिका अध्यक्ष बन्ने सम्भावना उच्च देखिन्छ । सामाजिक सेवामा आफ्नो पहिचान बनाउनुभएका क्षत्री एमालेका कुशल नेता मानिनुहुन्छ । गाउँमा खानेपानी, मोटरबाटोलगायतका विकास निर्माणकार्यमा जनतासँग प्रत्यक्ष जोडिएर काम गरेकै कारण उहाँ स्थानीयस्तरमा सबै राजनैतिक दलका कार्यकर्ता बीच लोकप्रिय बन्नुभएको छ । पालिकामा खुलेर कुनै राजनैतिक दलको समर्थन नगर्ने जनताको मन जितेर चुनाव जित्ने रणनीति तय गर्दा नेकपा एमालेबाट एकल उम्मेदवारका रूपमा उहाँलाई अगाडि बढाउने चर्चा चलेको छ । कालीगण्डकी गाउँपालिकाबाट एक मात्रै जिल्ला कमिटीको सचिवालय सदस्य रहनुभएका क्षत्री नेकपा एमाले कालीगण्डकी गाउँ कमिटी इन्चार्ज समेत हुनुहुन्छ । पढाइमा समेत अब्बल हुनुभएका उहाँले बौद्धिक नेताको पहिचान बनाउनुभएको छ ।

सावित्रा कोइराला

नेकपा एमालेबाट कालीगण्डकी गाउँपालिकामा उपाध्यक्षमा निर्वाचित भएसँगै राजनैतिक क्षेत्रमा सक्रिय ढङ्गले उदाएकी सावित्रीलाई नेकपा एमालेले गाउँपालिका अध्यक्षमा अगाडि सार्ने बलियो सम्भावना देखिन्छ । महिला नेतृत्वलाई अगाडि बढाउने सबलमा पनि उहाँको सम्भावना बलियो देखिएको हो ।

कृष्ण लामिछाने

नेकपा एमालेको गाउँ कमिटी अध्यक्ष भएकै कारण कृष्ण लामिछानेको नाम गाउँपालिका प्रमुखमा चर्चामा रहेको पाइन्छ । कालिलै उमेरमा साविक चण्डी भञ्ज्याङ गाविसको अध्यक्षसमेत बनेका लामिछाने सानै उमेरदेखि राजनीतिमा सक्रिय भएर जनताको सेवामा खटिएका कारण जनता माझ लोकप्रिय हुनुहुन्छ ।

यमप्रसाद पाण्डे

नेकपा एमालेको तर्फबाट कालीगण्डकी गाउँपालिकाकाको अध्यक्षको चर्र्चामा हुनुहुन्छ यमप्रसाद पाण्डे । राजनीतिसँगै सफल व्यवसायीको पहिचान बनाएका पाण्डे लोकप्रिय नेताका रूपमा चिनिनुहुन्छ । व्यावसायिक पृष्ठभूमिबाट राजनीतिमा सक्रिय बनेका पाण्डे पश्चिमाञ्चल ट्रक व्यवसायी समितिका अध्यक्षसमेत हुनुहुन्छ ।

नेपाली कांग्रस

नर बहादुर राना

नेपाली कांग्रस कालीगण्डकी गाउँपालिकाको सभापतिमा निर्वाचित हुनुभएका नरबहादुर राना यसपटकको स्थानीय चुनावमा गाउँपालिका अध्यक्षको चर्चामा हुनुहुन्छ । यसअघिको चुनावमा कालीगण्डकी गाउँपालिका–२ को अध्यक्षमा निर्वाचित भएर जनताको सेवामा खटिनुभएका राना जनताको सेवकको पहिचान बनेकै कारण पालिका अध्यक्षमा चुनाव जित्ने सम्भावना बलियो देखिन्छ । २०५९ र ५४ सालमा साविक आलमदेवी गाविसको दुईपटक अध्यक्ष बनेका राना भद्र र शालीन स्वभावका हुनुहुन्छ ।

शालिकराम न्यौपाने

नेपाली कांग्रस ज्येष्ठ नागरिक सभाका सदस्य रहेका तथा कालीगण्डकी गाउँपालिका पुराना नेता शालिकराम न्यौपाने गाउँपालिका अध्यक्षको चर्चामा हुनुहुन्छ । कृष्णप्रसाद भट्टराईसँगै जेल परेको भए पनि अहिलेसम्म पार्टीको अवसरबाट वञ्चित बनेका न्यौपाने सोही गाउँपालिकाको वीरेन्द्र उच्च माध्यमिक विद्यालयमा लामो समय शिक्षक रहेर सामाजिक सेवामा खट्नुभएको थियो । लामो समय शिक्षण पेसासँगै राजनीति गर्नुभएको र हाल शिक्षक पेसाबाट अवकाश लिएकाले उहाँको नाम चर्चामा रहेको पाइन्छ ।

यमप्रसाद पाण्डे

स्वास्थ्य क्षेत्रको लामो समयको अनुभवसँगै क्रियाशील राजनीतिमा लागेका यमप्रसाद पाण्डे लामो समय सरकारी जागिरेका रूपमा रहनुभएको थियो । उपसचिवबाट सेवानिवृत्त भएका पाण्डे यसपटकको गाउँपालिका अध्यक्षको चर्चामा हुनुहुन्छ । नेपाली कांग्रसको चौधौं महाधिवेशनमा गाउँपालिका सभापतिमा झीनो मतले पराजित हुन पुगे पनी उहाँको पालिकामा भने राम्रै प्रभाव रहेको छ । पार्टीको विभिन्न तहमा रहेर काम गरेको अनुभवकै आधारमा नेपाली कांग्रसले गाउँपालिका अध्यक्षमा उहाँलाई अगाडि सार्ने बलियो सम्भावना देखिन्छ ।

चक्र पाण्डे

विद्यार्थी राजनीतिदेखि नै नेपाली कांग्रसमा सक्रिय राजनीति गर्दै आएका चक्र पाण्डे कालीगण्डकी गाउँपालिका अध्यक्षका लागि चर्चामा हुनुहुन्छ । गत चुनावमा नेपाली कांग्रसबाट टिकट लिएर वडाध्यक्षमा ठूलो मतान्तरले विजय हुन सफल भएको इतिहासलाई हेर्दा पनि उहाँ हाल पालिका अध्यक्षका लागि बलियो दाबेदार मानिनुहुन्छ । समाज सेवासँगै राजनीति गरेकै कारण पनि पाण्डेको लोकप्रियता बढेको पाइन्छ । पछिल्लो समय जनप्रतिनिधिका रूपमा निर्वाचित भएपछि प्रत्यक्ष जनताको काममा सरिक भएकै कारण पनि उहाँको लोकप्रियता बढेको हो । जनतामा लोकप्रियता बटुलेका नेता पार्टीले चयन गर्नुपर्दा पाण्डे अग्रपंक्तिमा रहने देखिन्छ ।

मायाँ राना

नेपाली कांग्रसभित्र कालीगण्डकी गाउँपालिकाबाट नेतृत्व गर्ने अब्बल महिलाको पहिचान बनाएकी मायाँ राना यसपटक गाउँपालिका अध्यक्षको चुनाव लड्ने बलियो सम्भावना देखिन्छ । साहसी महिलाको पहिचान बनाएकी राना पूर्वमहासमिति तथा हाल महाधिवेशन प्रतिनिधिसमेत रहेकाले उहाँको नाम पालिका अध्यक्षमा चर्चामा रहेको छ ।

शेरबहादुर थापा

नेपाली कांग्रसको चौधौं महाधिवेशनबाट जिल्ला उपसभापतिमा निर्वाचित हुनुभएका शेरबहादुर थापा यसअघिको चुनावमा नेकपा एमालेसँग झीनो मतले पराजित हुनपुगेकाले यसपटक पनि गाउँपालिका अध्यक्षको चर्चामा हुनुहुन्छ ।

 

राष्ट्रिय जनमुक्ति पार्टी

बम लामिछाने मगर

राष्ट्रिय जनमुक्ति पार्टीको भोट निर्णायक मानिएको कालीगण्डकी गाउँपालिकामा यस पार्टीले आफ्नो पालिका अध्यक्षको उम्मेदवारका रूपमा बम लामिछाने मगरलाई अगाडि सार्ने बुझिएको छ । पार्टीको जिल्ला अध्यक्ष भएकै कारण उहाँलाई पार्टीले पालिका अध्यक्षमा अगाडि बढाउने सम्भावना बढी देखिएको हो ।

खड्क झेडी

पार्टीको गाउँ कमिटीको अध्यक्षमा रहेर काम गरेकै कारण खड्क झेडीलाई पार्टीले पालिका अध्यक्षका रूपमा अगाडि सार्ने सम्भावना देखिन्छ । पालिकास्तरीय राजनीति गरेकै कारण गाउँका जनतासँग प्रत्यक्ष सम्पर्कमा रहने झेडीलाई गाउँपालिका अध्यक्षका रूपमा अगाडि सार्ने देखिएको छ ।

माओवादी केन्द्र

ज्ञानप्रसाद भट्टराई

सफल व्यवसायीको पहिचान बनाएका ज्ञानप्रसाद भट्टराई कालीगण्डकी गाउँपालिकाको अध्यक्षको चर्चामा हुनुहुन्छ । माओवादी केन्द्रको गाउँ कमिटी अध्यक्ष रहेएका भट्टराईलाई माओवादीले पालिका अध्यक्षमा अगाडि बढाउने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्