एमालेसँग एक्लै लड्न सक्ने क्षमता कुनै राजनीतिक दलसँग छैन: अध्यक्ष ओली



 भक्तपुर । 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेसँग एक्ला एक्लै लड्न सक्ने क्षमता कुनै पनि राजनीतिक दलहरुसँग नरहेको बताउनुभएको छ ।

आज भक्तपुरमा सूर्य विनायक हरित कृषि तथा थोक बजार प्रा.लि.को उद्घाटन गर्दै अध्यक्ष ओलीले एमालेलाई दलीय गठबन्धनले प्रभाव नपार्ने बताउनुभयो ।

उहाँले भन्नुभयो , “यदि एउटा तराजुमा एक एक केजीको पाँच वटा ढक एकातिर राख्नुभयो,अनि क्विन्टलको ढक एकातिर राख्नुभयो भने के हुन्छ ? नेकपा एमाले क्विन्टलको ढक जस्तो हो। गठबन्धन भनेको एक एक किलोका ढक हुन् ।”
ओलीले ५ दलीय गठबन्धन ५ केजीको र एमाले एक क्विन्टलको रहेकाले तुलना गर्नै नमिल्ने बताउनुभयो ।
उहाँले सत्ता गठबन्धनका नेताहरूले चुनावी गठबन्धन नगरी जितिँदैन भन्ने बुझेको तर गठबन्धन गर्दा पनि जितिँदैन भन्ने एमालेले बुझाउने बताउनुभएको छ । उहाँले भन्नुभयो,“‘एक्लै नेकपा एमालेसँग लड्छु भन्ने कुरा नचिताए हुन्छ ।”
ओलीले भन्नुभयो,‘गठबन्धन गरे पनि एमालेसँग सकिँदैन भनेर बुझ्न बाँकी छ,गठबन्धन गरे पनि उहाँहरू एमालेसँग लड्न सक्नुहुन्न।’

अध्यक्ष ओलीले अबको चुनावमा एमाले अत्यधिक मत लिएर विजयी हुने बताउनुभयो । सत्ताधारी पार्टीलाई फाइदा पुग्ने गरी निर्वाचन आयोगले काम गरिरहेको उहाँको आरोप छ । निर्वाचन आयोगले मनोनयन दर्ताका लागि दुई दिन दिएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो ।

उहाँले मनोनयनका लागि आयोगले एक हप्ता दिए पनि आफूहरूलाई फरक नपर्ने उहाँको तर्क थियो ।ओलीले एमालेले मात्र देश बनाउने अभियान सञ्चालन गर्न सक्ने पनि दाबी गर्नुभयो । कार्यक्रमलाई एमाले नेता सुवास नेम्वाङ्ग,महेश बस्नेत, सञ्चालक प्रसाईँ लगायतले सम्बोधन गर्नुभएको थियो ।

तरकारी बजार झण्डै ५० रोपनी क्षेत्रफलमा फैलिएको छ । एमाले नेता तथा ब्यवसायी दुर्गा प्रसाईँले दुई अर्बको लगानीमा तरकारी बजार संचालनमा ल्याएको बताउनुभयो । सूर्यविनायक र जगातीबीचको अरनिको राजमार्गसँगै जोडिएको सूर्यविनायक नगरपालिका–८ मा तरकारी बजार सञ्चालनमा ल्याइएको हो। बजारमा दुई हजार २०० कक्ष रहेको बताईएको छ ।

चार हजार ४०० जनालाई रोजगारी दिने तथा स्थानीय किसानको तरकारी उचित मूल्यमा खरिद गरि उपभोक्तालाई सुपथ मूल्यमा उपलब्ध गराउने उद्देश्यले बजार स्थापना गरिएको सञ्चालक प्रसाईँले बताउनुभयो ।सो अवसरमा बिभिन्न जिल्लाका एक हजार पुर्व जनमुक्ति सेना तथा बर्हिगमित जनमुक्ति सेना लगायत युवाहरु एमाले प्रवेश गरेको आयोजकले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्