जिल्लामा तोकियो निर्वाचन अधिकृत



बैतडी ।

स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरू तोकेको छ । आयोगले सदरमुकाम रहेको स्थानीय तहमा मुख्य निर्वाचन अधिकृत रहने गरी देशभरका स्थानीय तहमा निर्वाचन अधिकृत तोकेको हो ।

आयोगले जिल्ला सदरमुकाम रहेका स्थानीय तहमा सम्बन्धित जिल्ला अदालतको ज्येष्ठतम न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत तोकेको छ । बाँकी रहेका स्थानीय तहमा जिल्ला न्यायाधीश, न्याय सेवाका उपसचिवहरू र निजामती सेवाका उपसचिवहरू रहने गरी निर्वाचन अधिकृत तोकेको आयोगले जनाएको छ ।

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि झापाको मुख्य निर्वाचन अधिकृतका रूपमा झापा जिल्ला अदालतका ज्येष्ठतम न्यायाधीश गिरिराज गौतमलाई तोकेको छ । गौतमले भद्रपुर नगरपालिकाको निर्वाचन अधिकृतका रूपमा समेत काम गर्नुहुनेछ । त्यस्तै, मेचीनगरको निर्वाचन अधिकृत रेल विभागका उपसचिव वेदराज फुयाललाई तोकिएको छ ।
त्यसै गरी, अर्जुनधारा नगरपालिकामा लोकबहादुर कटुवाल, कचनकवल गाउँपालिकामा वीरेन्द्र बस्नेत, कनकाई नगरपालिकामा दीपक कोइराला, कमल गाउँपालिकामा प्रकाश गौतम निर्वाचन अधिकृत तोकिनुभएको छ ।

त्यस्तै, गौरादह नगरपालिकामा विदुरकुमार कार्की, गौरीगञ्ज गाउँपालिकामा लालबहादुर श्रेष्ठ, झापा गाउँपालिकामा झरेन्द्रप्रसाद चापागाईं, दमक नगरपालिकामा केशवप्रसाद पन्त, बाह्रदशी गाउँपालिकामा पुष्कलराज प्रसाईं, बुद्धशान्ति गाउँपालिकामा डम्बरुप्रसाद निरौला, बिर्तामोड नगरपालिकामा डम्बरप्रसाद काफ्ले, शिवशताक्षी नगरपालिकामा ऋषि पौडेल र हल्दिबारी गाउँपालिकामा नारदप्रसाद भट्टराई निर्वाचन अधिकृतका रूपमा तोकिनुभएको छ ।

तोकिएका सबै मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूलाई वैशाख २ गतेभित्र अभिमुखीकरण तालिम दिइसक्ने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन अधिकारी तुलसीकुमार नेपालका अनुसार झापामा २ सय ८६ मतदान स्थल र ७ सय ५५ मतदान केन्द्र रहेका छन् । निर्वाचनका लागि जिल्लामा आवश्यक तयारी गरिरहेको नेपालले जानकारी दिनुभयो ।

निर्वाचनका लागि आवश्यक सामग्री मतदान केन्द्रहरूमा वैशाख २७ गते पठाइनेछ । निर्वाचन आयोगको योजना अनुसार तीन दिनअघि मात्रै सामग्री पठाइने नेपालको भनाइ छ । यस्तै, वैशाख ८ गते झापाका १५ पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने बताइएको छ । जिल्लामा स्थानीय तह निर्वाचनका लागि राष्ट्रिय ६ दलसहित ३६ दल दर्ता भइसकेका छन् । झापामा ६ लाख ७६ हजार २ सय ३४ मतदाता सङ्ख्या रहेको छ । त्यसमा अन्य ९ जना रहेका छन् ।

त्यसैगरी यही चैत २९ देखि लागू हुने गरी निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरु नियुक्त गरेको जिल्ला निर्वाचन कार्यालय बैतडीका प्रमुख माधव फुँयालले जानकारी दिनुभयो । आयोगका अनुसार बैतडीमा तिलकबहादुर कार्की,दार्चुलामा कोमलप्रसाद आचार्य, डडेल्धुरामा हरिप्रसाद शर्मा, बझाङमा विष्णुप्रसाद अवस्थी, डोटीमा विदुर काफ्ले, बाजुरामा माधवप्रसाद घिमिरे र अछाममा नवीनकुमार जोशी मुख्य निर्वाचन अधिकृत तोकिएका छन् । यस्तै, कैलालीमा जयानन्द पनेरु र कञ्चनपुरमा मदनबहादुर धामीलाई मुख्य निर्वाचन अधिकृत तोकिएको छ ।

अगामी २०७९ वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि स्थानीय तह निर्वाचन ऐन–२०७३ को दफा ७ बमोजिम राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृतस्तरका कर्मचारीलाई मिति २०७८ चैत २९ देखि लागु हुने गरी निर्वाचन अधिकृत नियुक्त गरिएको आयोगले जनाएको छ । निर्वाचन सञ्चालन र व्यवस्थापन गर्ने मुख्य जिम्मेवारी निर्वाचन अधिकृतको हुनेछ ।

यस्तै, निर्वाचन कार्यक्रमअनुरूप उम्मेदवारको मनोनयन दर्ता, मनोनयनउपर उजुरी लिने, उजुरीउपर छानबिन गर्ने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने, निर्वाचन चिह्न दिने, आचारसंहिताको पालना गराउने, मतदानका लागि कर्मचारी खटाउने, मतदान र मतगणना गराउने, आफ्नो क्षेत्रको निर्वाचन विवाद निरुपण गर्ने तथा निर्वाचन परिणाम प्रकाशन गरी आयोगमा प्रतिवेदन बुझाउने निर्वाचन अधिकृतको मुख्य जिम्मेवारी रहेको छ ।

यसैबीच जिल्लाका स्थानीय तहका लागि निर्वाचन अधिकृत तोकिएका छन् । डिलाशैनी गाउँपालिकामा भाषा आयोगका उपसचिव लोकबहादुर लोप्चनलाई निर्वाचन अधिकृतका रूपमा नियुक्त गरिएको छ भने दोगडाकेदार गाउँपालिकामा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव मानबहादुर घिमिरेलाई नियुक्त गरिएको छ ।

यसै गरी, पुर्चौंडी नगरपालिकामा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव डिल्लीराम अधिकारीलाई निर्वाचन अधिकृतको रूपमा नियुक्त गरिएको भने मेलौली नगरपालिकामा जिल्ला अदालत बैतडीका स्रेस्तेदार जनकसिंह बोहरालाई नियुक्त गरिएको छ । बैतडीका १० वटै स्थानीय तहमा गरेर १ सय २९ मतदानस्थल तोकिएका छन् । १५ दल सहभागी हुने स्थानीय तहको निर्वाचनमा करिब १ लाख ५० हजार मतदाताले मतदान गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्